लिभरपुल रोकिँदा म्यान्चेस्टर सिटी र टोटनह्यामलाई फाइदा, योर्गेन क्लोप तनावमा
प्रकाशित २०७५ माघ २२ मंगलबार
241
Shares
काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलको शीर्षस्थानमा रहेको लिभरपुल बराबरीमा रोकिएको छ । सोमबार राति भएको खेलमा लिभरपुल वेस्टह्याम युनाइटेडसँग बराबरीमा रोकिएको हो ।
वेस्ट ह्यामको घरेलु मैदानमा अग्रता लिएपनि लिभरपुल १–१ गोलको बराबरीमा रोकिएको हो ।
खेलको २२ औं मिनेटमा विवादास्पद गोलबाट लिभरपुलले अग्रता लिएको थियो । सादियो मानेले गोल गर्दै लिभरपुललाई अगाडिबढाएका थिए ।
उक्त गोल हुने पासका क्रममा जेम्स मिल्नर अफसाइड भएको भिडियो रिप्लेमा देखिएको थियो ।
वेस्टह्यामले २८ औं मिनेटमा नै बराबरी गोल फर्कायो । फिलिप्पे एण्डरसनको चलाखीपूर्ण फ्रिकिकमा माइकल एन्टोनियोले गोल गर्दै खेल बराबरीमा ल्याए ।
त्यसपछि मोहमद सलाह र मानेले पाएको अवसर सदुपयोग गर्न नसक्दा खेल बराबरीमा सकियो ।
यस बराबरीसँगै लिभरपुलको २५ खेलमा ६२ अंक भएको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीले २५ खेलमा ५९ अंक जोड्दा तेस्रो स्थानको टोटनह्याम हट्सपरले २५ खेलमा ५७ अंक जोडेको छ ।
चौथो स्थानको चेल्सीको ५०, पाँचौं स्थानको म्यानचेस्टर युनाइटेडको ४८ र छैटौं स्थानको आर्सनलको ४७ अंक रहेको छ ।
हडर्सफिल्ड, फुल्हम र कार्डिफ सिटी रेलिगेशनमा छन् ।
योर्गेन क्लोप तनावमा
उपाधि नजिक पुगेको टिमले कमजोर आँकिएको टिमसंग बराबरी खेलेपछि लिभरपुल प्रशिक्षक योर्गेन क्लोप तनावमा आएका छन् ।
उनले विभिन्न समयमा आफ्नो फ्रस्ट्रेशन पोखेका थिए । उनी रेफ्रीको निर्णयप्रतिसमेत असन्तुष्ट देखिए । बुधबार रातिको खेलमा म्यानचेस्टर सिटीले एभर्टनलाई पराजित गरे लिभरपुल अंक तालिकामा पछि पर्नेछ ।
फराकिलो अन्तर बनाउँदै शीर्षमा रहँदा रहँदै विस्तारै दूरी कम हुँदै जाँदा प्रशिक्षक क्लोप तनावमा आएका हुन् ।