arrow

कालीगण्डकी उपत्यकाको विकासमा जनप्रतिनिधिको एउटै मत

६ बुँदे रामपुर घोषणापत्र जारी गर्दै सकियो अन्तर–स्थानीय तह गोष्ठी

logo
सीता डोटेल,
प्रकाशित २०७५ माघ २२ मंगलबार
kaligandaki-nagar.JPG

पाल्पा । कालीगण्डकी उपत्यकाका ६ स्थानीय तहका जनप्रतिनिधिहरुको गोष्ठीले मिलेर गण्डकीबेशीको विकासमा लाग्न ६ बुँदे रामपुर घोषणा पत्र जारी गर्दै अन्तर स्थानीय तह गोष्ठी सम्पन्न गरेका छन् ।   गण्डकी प्रदेश र ५ नम्बर प्रदेश अन्तर्गत पाल्पा, स्याङ्गजा, तनहुँ र पुर्व नवलपरासीका राम्दी देखि देवघाट सम्मका स्थानीय तहका जनप्रतिनिधि, राजनितिक दल, कर्मचारी तथा पुर्व कर्मचारीहरुको एक दिने गोष्ठीले जिल्ला सदरमुकामदेखि टाढा र प्राकृतिक संभावनाले भरिपुर्ण कालीगण्डकी उपत्यकाको एकीकृत विकासका लागि मिलेर जाने प्रतिबद्धता समेत जनाए ।

होटेल न्यू श्रीनगरको सभाहल रामपुरमा भएको गोष्ठीमा कालीगण्डकीको तल्लो तटिय क्षेत्रको अस्तित्व संरक्षण गर्दै यातायात, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, उद्योगका विषयमा साझा अवधारणा तयार गर्दै आबश्यक विकासका लागि मिलेर लाग्नेमा प्रतिवद्ध भएका हुन् ।

त्यस्तै कालीगण्डकी उपत्यकाको समृद्धिका लागि एकिकृत प्रयास स्वरुप उपत्यकामा संलग्न हुने स्थानीय तहका प्रमुख सदस्य रहने गरी कालीगण्डकी एकिकृत विकास समिति-कार्यदल गठन गर्ने, राम्दी–देवघाट विकासको अबधारणका लागि कालीगण्डकी उपत्यकाका नामाकरण घोषणा, कालीगण्डकी उपत्यकाको संरक्षण र सम्बद्र्धन गर्दै उपत्यकाको एक विकास प्राधिकरण गठन गर्ने, यातायात, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, उद्योगका विषयमा साझा अवधारणा तयार गर्न प्रक्रिया अघि बढाउने र आगामी भेला कालीगण्डकी उपत्यका विकास समितिको संयोजनमा चापाकोटमा गर्ने लगायतका बिषय सहित घोषणा पत्र सार्वजनिक गरिएको कालीगण्डकी उपत्यकाका विकासका अभियान्ता शान्त बहादुर श्रेष्ठले बताए।

 स्थानीय सरकार सञ्चालन ऐन २०७४ दफा १४ अनुरुप कालीगण्डकी उपत्यकाको विकासमा एकजुट हुदै अघि बढ्नेछौ श्रेष्ठले भने– कालीगण्डकी नदी एउटा पानी बग्ने भाग मात्र नभएर गण्डकीबेशीको अस्तित्व हो । कालीगण्डकी नदीको बहाव परिवर्तन गर्ने गरि कालीगण्डकी डाईभर्सन आयोजनाको डिपिआर तयार भैसकेको विषयमा गम्भीर ध्यानाकर्षण भएको उनले बताए ।

कालीगण्डकी एकीकृत विकास समितिको बिज्ञको रुपमा सरकारका पुर्व सचिब शान्त बहादुर श्रेष्ठलाई गोष्ठीले मनोनित गरेको छ । कार्यक्रममा संविधान सभा सदस्य टुकराज सिग्देलले कालीगण्डकी उपत्यकाको तिव्र विकासको लागि एकिकृत विकास आवश्यक रहेको बताए। उनले मुलुकको व्यवस्था परिवर्तनको क्रममा कालीगण्डकी उपत्यका विकास विगतको तुलनामा धेरै भएको तर जति हुनु पर्ने हो त्यति हुन नसकेको बताए। कार्यक्रममा गण्डकी प्रदेशका सांसद विष्णु लामिछानेले कालीण्डकी क्षेत्रको अस्तित्व संरक्षणको लागी गण्डकी प्रदेशले आवाज उठाउँदै आएको बताउँदै समग्र कालीगण्डकी क्षेत्रको विकासका लागि समन्वय गरेर अघि बढ्नु आवश्यक रहेको उल्लेख गरे ।
 
त्यस्तै प्रदेश नं. ५ का प्रदेश सभा सदस्य युवराज खनालले कालीगण्डकीको तल्लो क्षेत्रका उर्वर भुमि सिंचाईको अभावमा बाँझो रहनु पर्ने, तल्लो तटका स्थानीय खानेपानीको अभावमा बस्नुपरेको अवस्थामा डाईभर्सन भन्दा पनि यस तर्फ सरकारले सोच्नु आवश्यक रहेको बताए । चापाकोट नगरपालिकाका नगर प्रमुख शिव कुमार गिरि, रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारी, बौदीकाली गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर राना, चापाकोट नगरपालिकाका उपप्रमुख विमला श्रेष्ठ, निस्दी गाउँपालिकाका उपप्रमुख रिता कुमारी अर्याल, घिरिङ गाउँपालिकाका उपप्रमुख सरस्वती सिग्देल, नेपाल कम्युनिष्ट पार्टी नेकपा तनहुँका विष्णु भक्त सिग्देल, बौदीकालीका श्याम सुन्दर श्रेष्ठ, नेपाल सरकारका पूर्व उपसचिव कृष्ण प्रसाद पौडेल, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल, पत्रकार बासुदेव ढकाल लगायतले बोल्दै नदीले वारीपारि बनाए पनि संस्कृति भुभाग एउटै भएकाले कालीगण्की उपत्यकाको एकिकृत विकासको लागि मनहरु एक जुट हनु आवश्यक रहेको औल्याएका थिए ।
 
नेपाली कहाँ रहुला हामी नेपालै नरहे भने झै कालीगण्डकी नै नरहे कालीगण्डकी उपत्यकाको सभ्यता र यस क्षेत्रका मानिसको अस्तित्व धरापमा पर्ने भन्दै यस तर्फ सोच्ने बेला आएको बताएका थिए । नदी नै नभए कसरी कालीगण्डकी बेशीका हुन्छौ त्यसकारण यस क्षेत्रका नागरिकलाई च्यापेर राज्यले नदी मोडेर तराईमा लान नहुने बरु अन्य विकल्प खोज्नुपर्ने सहभागीले औल्याएका थिए ।

नेपाल सरकारका पूर्व सचिव एवं भेला तयारी समितिका संयोजक शान्त बहादुर श्रेष्ठले कालीगण्डकी उपत्यकाको विकासको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनि कालिगण्डकी उपत्यका भन्नाले मुस्ताङ्गको केही भुभागलाई मात्र चिनिएको बताउँदै राम्दी देखि देवघाटसम्मको विचको भुभागलाई चिनाउन अब लाग्ने बेला आएको बताए । त्यस्तै कार्यक्रममा स्मार्ट सिटी विज्ञ विज्ञान घिमिरेले एकिकृत विकासको अवधारण बारे जानकारी गराएका थिए ।
 
त्यस्तै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले कालीगण्डकी क्षेत्रका एक तहको विकासले अर्को तहलाई प्रभाव पार्ने हुनाले यसको लागि योजना अनुसार अघि बढ्न भेलाको आयोजना गरिएको र आगामी दिन अन्य थप स्थानीय तहलाई पनि समेटेर अघि बढ्ने बताए। सहभागीलाई गोष्ठी तयारी समिति सदस्य नेत्र प्रसाद भट्टराईले स्वागत र सदस्य राजेन्द्र प्रसाद लम्सालले प्रकाश पारे भने धन्यवाद सदस्य तिर्थ प्रसाद पंगेनीले ज्ञापन गरेका थिए ।

 गोष्ठीमा रम्भा गाउँपालिका, निस्दी गाउँपालिका, चापाकोट नगरपालिका, बौदीकाली गाउँपालिका र घिरिङ गाउँपालिकाका र रामपुर नगरपालिकाका जनप्रतिनिधि, राजनैतिक दल, कर्मचारी, योजना विज्ञ र पत्रकारहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ज्ञानराज कोइराला र योजना सहजकर्ता कपिल बहादुर खाँणले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ