arrow

रुकुम पूर्वमा जारी आन्दोलनसँगै निषेधित क्षेत्र जारी

logo
प्रकाशित २०७५ माघ २३ बुधबार
aandolan_rukumkot.jpg

रुकुम (पूर्व)।  जिल्लामा दुई थरीको आन्दोलन जारीसँगै निषेधित क्षेत्र कायमै छ । स्थायी सदरमुकाम कायमको माग गर्दै रुकुमकोट सदरमुकाम पक्षधर आन्दोलनमा उत्रिएको छ भने तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको निर्णय कार्यान्वयनको माग गर्दै गोलखाँडा सदरमुकाम पक्षधरले आन्दोलन गरिरहेका छन् ।

सर्वसाधारण त्रसित छन् । गोलखाँडा सरोकार समितिले माघ २२ गते रुकुमकोटमा आएर शान्तिपूर्ण र्‍याली निकाल्ने तयारी गरेको थियो । रुकुमकोट सदरमुकाम पक्षधरले आन्दोलन भइरहेको ठाउँमा अर्को टोली आएर आन्दोलन गर्न नपाइने भन्दै आफ्नो अडान नछाडेपछि तत्कालीन सरकारले सदरमुकाम तोकेको पुथा उत्तरगङ्गा गाउँपालिका १२ को गोलखाँडामा गोलखाँडा पक्षधरले र्‍याली निकालेको थियोे ।

उक्त र्‍याली आज रुकुमकोट नजिकैसम्म पुग्ने आन्दोलनका अगुवा पुणीराज घर्तीले बताए। उनका अनुसार आन्दोलनका केही नेतृत्वकर्ताले रुकुमकोटमा पुगेर प्रशासनलाई ज्ञापनपत्र बुझाउने छन् । अस्थायी सदरमुकाम रुकुमकोटमा भने आइतबार साँझ ७ बजेदेखि चार किल्ला तोकेर अनिश्चितकालका लागि गरिएको निषेधित क्षेत्र घोषणा जारी छ ।

रुकुमकोटको चार किल्लाभित्र कुनै पनि किसिमका सभा, जुलुस, भेला तथा प्रदर्शनका कार्यक्रम गर्न गराउन निषेध गरिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए । रुकुमकोट पक्षधरका आन्दोलनकारीले सिङ्गो रुकुम जिल्ला हुँदा पहिले पनि एक पटक रुकुमकोटबाट सदरमुकाम खोसिएका कारण यसपाली मुखैमा आएको गाँस कसैले खोस्न नपाइने र खोसेमा कुनै पनि हालतमा चुप लागेर नबस्ने बताएका छन् ।

पहिले पनि एक पटक सदरमुकाम गुमाउँदाको पीडा महसुस गरिसकेका रुकुमकोटवासीले फेरि पनि आफुमाथि त्यही अन्याय नगर्न आग्रह गर्दै आएका छन् । यता गोलखाँडा सदरमुकाम पक्षधरका आन्दोलनकारीले पनि सदियौंदेखि पछाडि पार्दै आएको ठाउँमा सदरमुकाम तोकेर तत्कालीन सरकाले न्याय दिलाएको बताएका छन् ।

कुनै पनि हालतमा सदरमुकाम गोलखाँडामा लगेरै छोड्ने उनीहरु बताउँछन् । रुकुमकोटमा रहेको जिल्ला सदरमुकाम तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघ ११ गते पुथा उत्तरगङ्गा गाउँपालिकाको १२ गोलखाँडामा राख्ने निर्णय गरेसँगै रुकुमकोट र त्यस आसपासका नागरिक आन्दोलनमा उत्रिएका थिए । देउवा नेतृत्व सरकारको त्यस निर्णय विरुद्ध २०७४ माघ १७ मा सर्वोच्चमा रिट दर्ता भएको थियो ।

उक्त रिटको सुनुवाइ गर्दै सर्वोच्चले तत्काल सदरमुकाम नसार्न अन्तरिम आदेश दिएपछि मत्थर भएको आन्दोलन पुनःमाघ १४ गतेबाट रुकुमकोट सदरमुकाम पक्षधर र गोलखाँडा पक्षधरले सशक्त बनाएका हुन । रिट दर्ता भएको एक वर्षसम्ममा पनि सर्वोच्चले सरकार र रिट निवेदकलाई पटक÷पटक पेसी र साधारण तारिखमा बोलाए पनि अहिलेसम्म कुनै फैसला भएको छैन । सदरमुकाम विवादको विषयमा छलफल गर्न दुबै पक्षलाई सर्वोच्चले आगामी २७ गते बोलाएको छ ।रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ