विषाक्त मदिराका कारण भारतमा २० को मृत्यु, कैयौँ बिरामी
सिन्ह्वा,
प्रकाशित २०७५ माघ २५ शुक्रबार
309
Shares
नयाँ दिल्ली। भारतमा अवैध तथा विषाक्त मदिरा सेवन गर्दा शुक्रबार कम्तीमा २० जनाको मृत्यु भएको छ। देशको दुई उत्तरी राज्य उत्तराखण्ड र उत्तर प्रदेशमा भएको यस घटनामा परी अरू कैयौँ बिरामी भएको पनि अधिकारीहरुले जनाएका छन्।
उत्तराखण्डको हरिद्वार जिल्ला र उत्तर प्रदेशको सहरानपुर जिल्लामा घटना भएको समाचारमा जनाइएको छ। “हाम्रो प्रदेशमा मात्रै गुणस्तर प्रमाणित नगरिएको तथा गैरकानुनी मदिरा सेवन गर्दा १४ जनाको मृत्यु भएको छ भने अरू केही बिरामी भएका छन्,” हरिद्वारबाट एक स्थानीय सरकारी अधिकारीले सिन्ह्वासँग टेलिफोनमा भने।
उनले बिरामी भएकालाई उपचारका लागि विभिन्न अस्पतालमा भर्ना गरिएको पनि जानकारी दिए। उत्तराखण्डको स्थानीय सरकारले १३ जना सरकारी अधिकारी र चार जना प्रहरी अधिकारीलाई निष्कासन गर्न निर्देशन दिएको छ। विषाक्त मदिरा सेवनकै कारण उत्तर प्रदेशको सहरानपुरमा भने ६ जनाको मृत्यु भएको छ। त्यहाँ पनि केही उपभोक्ता बिरामी भएको एक सरकारी अधिकारीले जानकारी दिएका छन्।
संवाददाताका अनुसार मृत्यु भएका वा बिरामी भएकाले स्थानीय पसलबाट लगेको मदिरा सेवन गरेका थिए। बिरामी भएकामध्ये केहीको अवस्था चिन्ताजनक भएकाले मृत्यु हुनेको सङ्ख्या अझ बढ्न सक्ने अनुमान स्थानीय अधिकारीहरुले गरेका छन्।