arrow

अनुदान रकम उपलब्ध गराउन सरकारलाई उखु किसानको एक हप्ते अल्टिमेटम

logo
प्रकाशित २०७५ माघ २६ शनिबार
sugarcane-farmers-harvest.jpg

सर्लाही। उखु किसानले एक साताभित्र सरकारी अनुदानको रकम नपाए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। सरकारले उखु बिक्री बापत गत आर्थिक वर्ष २०७४-०७५ मा प्रति क्वीन्टल ६५ रुपिँया २८ पैंसा अनुदान दिने घोषणा गरेपनि किसानले अझै पाउन सकेका छैनन्।

आज सर्लाहीको हरिवनमा बसेको नेपाल उखु उत्पादक महासङ्को बैठकले अनुदान रकम उपलब्ध गराउन सरकारलाई एक साताको अल्टिमेटम दिएको हो। सो अवधीभित्र अनुदान रकम नपाए चरणवद्ध आन्दोलनमा उत्रिने निर्णय भएको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिए।

बैठकले सरकारले निर्धारण गरेको मूल्य अनुसार अघिल्लो वर्षकै केही चिनी उद्योगीहरुले किसानको भुक्तानि दिन बाँकी रहेकाले सो भुक्तानि पनि एक हप्ताभित्रै हुनुपर्ने माग गरेको छ। महासङ्का अध्यक्ष मैनालीका अनुसार केही साताअघि अहिलेकै माग राखेर ज्ञापन पत्र बुझाउँदा सरकारले कुनै वास्ता नगरेको भन्दै यो पटक पनि सुनवाइ नगरे फागुन ६ गतेदेखि तीन दिनका लागि आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ।

जस अनुसार फागुन ६ गते हरिवनमा उखुको लाक्रासहित प्रदर्शन गर्ने, हरिवनमै फागुन ७ गते एक घण्टा र फागुन ८ गते दुई घण्टा पूर्व–पश्चिम राजमार्ग बन्द गर्ने निर्णय गरिएको महासङ्घका अध्यक्ष मैनालीले बताए। विभिन्न जिल्लाका अगुवा उखु किसान सहभागी बैठकले आफ्ना मागका बारेमा सरकारलाई जानकारी दिन प्रमुख जिल्ला अधिकारी मार्फत बुझाउन लागिएको ज्ञापन पत्र समेत तय गरेको छ। सदरमुकामस्थित कोष तथा लेखा नियन्त्रक कार्यालयमा किसानले अनुदान बापत पाउने रकम आएपनि रकम लिन विभिन्न झन्झटिलो प्रक्रिया बनाइएकाले समस्या भैरहेको उखु किसानले गुनासो गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ