arrow

काठमाडौंवासीलाई सरकारले जिस्क्याउन छाडेन, श्राप लागे के होला ? 

१८ जना प्रधानमन्त्री फेरिए तर फेरिएन मेलम्चीको दन्त्य कथा

logo
प्रकाशित २०७५ फागुन १ बुधबार
clean-kathmandu.jpg.jpeg

काठमाडौं । हुनत कम्युनिष्टले धर्म मान्दैन । रीति, कुरीति मान्दैन । त्यसैले त उसले न त भाग्यप्रति विश्वास गर्छ न त कसैको श्रापप्रति । यदि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) साँच्चिकै कम्युनिष्ट पार्टी हो भने उसलाई कसैको श्राप लाग्दैन । 

तर यसो भन्दैमा मतदातामाथि खेलवाड गर्ने अधिकार भने छैन उसलाई । न त छ नेकपा नेतृत्वको सरकारलाई नै । 

भविष्यको चिन्ता नभएजसरी केपी शर्मा ओली नेतृत्वको सरकारले काठमाडौं उपत्यकावासीलाई जिस्क्याइरहेको छ । देशको राजधानी नै काठमाडौं भए पनि सरकारले सेवा सुविधाका मामलामा हेपेको छ । 

मेलम्चीको पानी खुवाउने सवालमा त काठमाडौंवासीलाई यो सरकारले जिस्क्याएकै छ । 

खानेपानी मन्त्री बिना मगरले गत दशैंकै दिन काठमाडौंवासीका धाराधारामा मेलम्चीको पानी आउने भनेकी थिइन् । 

आउनु त परै जावस् उनले मेलम्चीनै अलपत्र पारेको आरोप छ । 

आश्वासन दिन भने निकै अग्रसर देखिने केपी शर्मा ओली नेतृत्वको सरकारले मेलम्चीको पानी आगामी बैशाखमा काठमाडौं ल्याउने अर्को नयाँ तिथि तोकेको छ । गत दशैंमा पानी ल्याउन नसकेपछि मन्त्री मगरले भने अब नयाँ मिति नतोक्ने भनेकी थिइन् । 

९७ प्रतिशत काम सकियो भनिरहेको सरकारले आयोजना सम्पन्न हुने अन्तिम चरणमा आएर ठेकेदार कम्पनी सीएमसीलाई छोड्न वाध्य पार्यो । कम्पनीले काम नै छोडेर भागेपछि अन्योल बनेको आयोजना यथाशीघ्र सक्ने गरी कामलाई निरन्तरता दिने र आगामी वैशाखमा पानी काठमाडौं ल्याउने सरकारी भनाइ आएको हो ।

नयाँ ठेक्का दिनका लागि प्रक्रिया पूरा गर्न कम्तीमा छ महिना लाग्ने पक्का छ । सरकारले भने झुठो बोलिरहेको स्पष्टै हुन्छ । 

काठमाडौंवासीले पाएको धोकालाई आधार बनाएर श्राप पो दिने हुन् कि भन्ने चिन्ता । किनकि उनीहरुले आश्वासन बाहेक केही पाएनन् । 

मेलम्चीको दन्त्य कथा
मेलम्ची खानेपानी आयोजना सुरु भएयता मुलुकमा १८ जना प्रधानमन्त्री फेरिए । २४ जना खानेपानीका मन्त्री फेरिए । २७ जना विभागीय सचिव फेरिए ।

राजनीतिक व्यवस्था र प्रशासनिक पदमा जसरी फेरबदल भए, उपत्यकाबासीको खानेपानीको प्यास मेटाउने लक्ष्य बोकेको मेलम्ची खानेपानी आयोजनाको निर्माणमा पनि निकै उतार–चढाव आइ नै रह्यो ।

अहिलेसम्म मेलम्ची काठमाडौंमा आउने टुंगो छैन । मेलम्ची खानेपानी आयोजनाको काममा ८०० मिटर फिनिसिङ, दुईओटा हावा फाल्ने भेन्टिलेसन, पाँचओटा गेट निर्माण र मनिटरिङका लागि क्यामेरा जडान गर्न झन्डै ३५ करोड रकम बराबरको काम बाँकी रहेको बताइन्छ ।

तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०४७ सालमै मेलम्चीको पानी काठमाडौंवासीलाई खुवाउने र काठमाडौंका सडकको धुलो मेलम्चीको पानीले पखाल्ने बताएका थिए । 

उनको योजना सम्भवकै थियो । तर त्यस उप्रान्त आएका सरकारले जुन योजनालाई अगाडि बढाउनु पर्ने थियो त्यसरी प्राथमिकतामा नपारिदिँदा अहिलेसम्म सफल हुन सकेको छैन । 

मेलम्चीकै नाममा कहिले सडक खन्यो । कहिले पाइप निकाल्ने भनेर फेरि सडक खन्यो । र कहिले नयाँ पाइप राख्ने भनेर फेरि सडक खन्यो । पोल सार्न पर्ने भयो भनेर फेरि सडक खन्यो । पानी कहिले खुवाउँछ थाहा छैन धुलोमैलो सारै खाए काठमाडौंवासीले । 

मेलम्चीको पानी खाएर मरौंला भन्नेहरु थुप्रैको प्राणपखेरु पनि चले होला । तर सरकारले यति नै बेला मेलम्ची आउँछ भन्ने सकेको छैन । यसरी जिस्क्याउने सरकारलाई श्राप दिए लाग्ला कि नलाग्ला ?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ