arrow

काश्मिर आक्रमणः सिक्नुपर्ने पाठ 

logo
प्रकाशित २०७५ फागुन ४ शनिबार
kashmir-attack.jpg

काठमाडौं। भारतको काश्मिरमा बिहिबार निकै दुःखदायी आक्रमण भयो। जैश–ई–मोहम्मद (जेईएम) का लडाकुले पछिल्लो केही वर्षयता गरेको सबैभन्दा गम्भीर आक्रमण हो। जेईएम पाकिस्तानमा पूर्ण स्वतन्त्रताको साथमा विस्तार भएको लडाकु संगठन हो। सो संगठनका नेता मसूद अजर पाकिस्तानको उच्च राजनीतिक नेतासँग सम्बन्ध भएका र पाकिस्तानमा उच्च व्यक्तित्व बनाएका व्यक्ति हुन्। जेईएम अहिले निकै विस्तारित भएको संगठन हो। यो संगठनले अफगानिस्तान, पाकिस्तान र काश्मिरमा विभिन्न ठाउँमा पटकपटक चरमपन्थी आक्रमण गर्दै आएको छ। 

जेईएमले सन् १९९० को दशकदेखि अफगानी तालिबानसँग सहकार्य गर्दै आएको छ। आईसी–८१४ विमान काठमाडौंबाट अपहरण गरेर कान्दाहारमा पुर्या‍उने कुराले पनि यि दुई संगठनको संलग्नतालाई देखाउँछ। यसको सम्पूर्ण कार्यको निगरानी तथा व्यवस्थापन तालिबान र पाकिस्तानी गुप्तचर संस्था (आईएसआई) का अधिकारीले गरेका थिए भन्ने कुरा अहिले पनि धेरैले बताउने गर्छन। विमान अपहरण भएको सो समयमा तालिबानले अफगानिस्तानमा शासन चलाइरहेकोबाट पनि अपहरणको कनेक्सन बुझ्न सकिन्छ। 

अपहरणमा परेको विमान र यसमा रहेका यात्री फिर्ता गर्नका लागि काश्मिरमा बन्दी बनाइएका जेईएमका नेता मसूद अजरलाई रिहा गर्न भारत सरकार राजी भएको थियो। सन् १९९९ मा मसूद अजर रिहा भएपछि सन् २००० मा उनले जेईएमलाई निकै खतरनाक संगठनको रुपमा स्थापना गरेका थिए।

यो संगठन एलईटीभन्दा पनि खतरानकरुपमा प्रस्तुत भयो। जेईएम र एलईटीको साँठगाँठले उनीहरुको लडाकु थप तालिमप्राप्तसँगै थप सक्षम भए। उनीहरु आत्मघाती आक्रमणका लागि जीवनको आहूति दिन पनि तयार भए। पछिल्लो केही वर्षयता काश्मिरमा भएको अधिकांश आत्मघाती आक्रमण यो संगठनले गर्ने गरेको  छ। 

जेईएम र एलईटीको तुलना गर्नुपर्दा जेईएम निकै तालिमप्राप्त आत्मघाती आक्रमणकर्ताको संगठन हो। यहाँका लडाकुहरु जिहादमा विश्वास गर्छन्। उनीहरु जिहादका लागि आफ्नो ज्यान दिन तयार हुन्छन्। एलईटीका लडाकुहरु भने निशानामा आक्रमण गरी भाग्ने गर्छन्। पाकिस्तानको आम नागरिकले भने यी दुई संगठनलाई सहयोग गर्ने गर्छन्। यी संगठनहरु बाढी, भूकम्पजस्ता प्राकृतिक विनाशका घटनामा उद्धारका लागि सक्रियरुपमा संगठित हुने गर्छन्। धेरैजसो घटनामा विशेषगरी विकट क्षेत्रमा यस किसिको प्राकृतिक संकट आउँदा जेईएम र एलईटीले सरकारले भन्दा पहिला आफ्नो उद्धार तथा राहत पुर्या‍उने गर्छन्। 

समयसँगै यस किसिमको सहयोग उनीहरुलाई आफ्नो संगठन विस्तारको लागि काम लाग्ने गरेको छ। यसले पाकिस्तानमा उनीहरुप्रति सकारात्मक धारणा विकासको लागि पनि राम्रो काम गर्छ। विशेषगरी काश्मिरको पाकिस्तानी भूभाग (पीओके) का मानिसमा राम्रो छाप पर्न गएको छ। यो सद्भावनाको प्रयोग उनीहरुले काश्मिरमा प्रयोग गर्ने गर्छन्। उनीहरुले आफ्नो मिसनमा काश्मिरीहरुलाई बचाउने काम पनि गर्छन्। चिन्ताको विषय एलईटीको शक्ति कमजोर हुँदै गर्दा जेईएम भने झन् शक्तिशाली बन्दै गएको छ। 

दक्षिण एसियाली मुलुकलाई जोखिम 
जेईएम र एलईटीले दक्षिण एसियाली मुलुकका मुस्लिम जनसंख्यालाई लक्षित गरी कार्यक्रम अघि सार्दै आएको उनीहरुको विगतले पनि देखाउँछ। केही सहयोगी कामहरु गरी उक्त समुदायबाट सहानुभूति लिने काम यो संगठनले गर्दै आएको छ। यसबाट बच्नका लागि दक्षिण एसियाली मुलुकका सरकारले अतिबादीहरुमाथि निगरानी बढाउनु जरुरी छ। दक्षिण एसियामा मुस्लिम समुदायलाई कट्टर बनाउँदै उनीहरुले आफ्नो पक्षमा पार्नसक्ने जोखिम पनि बढी छ।

विशेषगरी यो क्षेत्रका मुस्लिममा देखिएको गरिबी र बेरोजगारीको फाइदा उठाउँदै उक्त संगठनहरु सल्बलाउन सक्छन्। यस्तोमा दक्षिण एसियाली मुलुकले विभिन्न अतिबादमा सम्लग्न तथा उन्मुख संगठनहरु प्रति संवेदनशील हुनु जरुरी छ। विशेषगरी मुस्लिम समुदाएको बीचमा लक्ष्ति गरी आएपनि अतिबादी क्रियाकलाभमा प्रयोग हुनसक्ने अन्तराष्ट्रिय सहयोगको स्रोतबारे विशेष चासो दिनु जरुरी देखिन्छ।

नेपाल कस्तो अवस्थामा छ ? 
यो परिवेशमा नेपाल पनि निकै संवेदनशील अवस्थामा छ। यस्तोमा नेपालका मुस्लिम समुदाय अतिवादतर्फ नजाओस भन्नका लागि सरकारले शुरुदेखि नै बचाउका कार्यक्रम अघि सार्नु पर्ने हुन्छ। खास धर्मसँग जोडिएका सुरक्षा निकाय इस्लाम धर्म, इस्लामिक कोष र उनीहरुको मौलिकताको विषयमा खास जानकार नहुने कारणले गर्दा पनि नेपालमा यस विषयमा थप गम्भीरता अपनाउन जरुरी रहेको छ।

नेपालमा रहेका मस्जिद तथा इस्लामिक धर्मस्थलबारे हुने चर्चालाई निगरानीको दृष्टीबाट हेर्नुपर्ने अवस्था आउन सक्छ। नेपालबाट बाहिर जाने र बाहिरी मुलुकबाट नेपालमा आउने इस्लामिक धर्मगुरुहरु अतिवादमा संलग्न नहुन भन्नका लागि पनि निगरानीको दायरामा रहनु आवश्यक पर्न सक्छ। साथै यस्तो विषयमा नियमन बढाउनु पनि जरुरी छ। यस्ता गतिविधिमा आवश्यक कानुन ल्याएर अवैध कामहरु रोक्नु जरुरी छ।

फिलिपिन्सबाट सिक्नुपर्ने पाठ 
नेपालले फिलिपिन्सबाट केही पाठ सिक्न सक्छ। फिलिपिन्सको मिन्दनाओका मुस्लिम मानिसहरुको बीचमा बढ्दो असमानताबारे सरकार जानकार थियो। यसबारे सरकारले खासै चासो नदिँदा २ वर्षअघि सो क्षेत्र आतंकवादी संगठन आईएसआईएसको नियन्त्रणमा आयो। अहिले पनि सो क्षेत्र फिर्ता गर्नको लागि संघर्ष जारी छ। भारी बमवर्षा र सैन्य हेलिकोप्टरको प्रयोगको बाबजुद यो क्षेत्र फिलिपिन्सले पाउन सकिरहेको छैन। नेपालले यो अवस्था आउन नदिन बेलैमा सोच्नु जरुरी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ