arrow

विराटनगर उपमहानगरपालिका बालमैत्री नगर बन्दै, बालअधिकारका ३९ सूचक पूरा

logo
कुमोद अधिकारी,
प्रकाशित २०७२ फागुन २८ शुक्रबार
Morang-hamrakura.jpg.jpeg
विराटनगर । नेपालमै पहिलो पटक बालमैत्री नगरको अवधारणा अघि सारेको विराटनगर उपमहानगरपालिकाको बालमैत्री नगर घोषणा अभियान अन्तिम चरणमा पुगेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जारी गरेको बालमैत्री स्थानीय निकाय घोषणा कार्यविधि बमोजिम बालअधिकारको क्षेत्रमा पूरा गर्नुपर्ने ३९ वटा सूचक सम्बन्धी नतिजा प्राप्त भएसँगै उपमहानगरपालिका बालमैत्री घोषणा हुन लागेको हो 
 
बालमैत्री नगर घोषणाका लागि सम्पूर्ण चरणहरु पूरा गर्दै घोषणाको अन्तिम तयारीमा लागेको विराटनगर उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाले बाल बचाउ अन्तर्गत जिल्ला जनस्वास्थ्य कार्यालयले गरेको घरधुरी सर्वेक्षण २०७२ का आधारमा ४ हजार ८ सय ७० जना बालबालिकामध्ये खोप लगाउन छुटेका ८ जनालाई समेत खोप लगाइसकेको, नगरका सम्पूर्ण गर्भवती आमाले दक्ष स्वास्थ्यकर्मीहरुबाट स्वास्थ्य परिक्षण गराएको, टिटनासविरुद्धको खोप लगाएको र सबै घर धुरीमा पीउन योग्य खानेपानी उपलब्ध भएको जनाएको छ । 
 
यस्तै, बालसंरक्षण सम्बन्धी सूचक अन्तर्गत नगरका ५ वर्ष मुनिका सबै बालबालिकाहरुको जन्मदर्ता गराएको, बालविवाहमा कमी आएको, २०६८ मा विराटनगर उपमहानगरपालिका भित्र २ हजार ७ सय ८१ बालश्रमिक रहेकामा हाल त्यो संख्या घटेर  ५ सय ५२ मा झरेको, साथै बालविकास अन्तर्गत नगरमा भएका चार वर्ष मुनिका ८ हजार ७ सय ९० बालबालिकाहरु सबै बालविकास कक्षामा भर्ना भएको र ५ देखि १२ वर्ष उमेर समूहका ४० हजार ४ सय २२ जना बालवालिका विद्यालय भर्ना भएका उपमहानगरपालिकाले जानकारी गराएको छ । 
 
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जारी गरेको बालमैत्री स्थानीय निकाय घोषणा कार्यविधि बमोजिम बालअधिकारको क्षेत्रमा पूरा गर्नुपर्ने ३९ वटा सूचक सम्बन्धी नतिजा प्राप्त भएकाले मन्त्रालयको अन्तिम अनुगमन पश्चात नगरलाई औपचारिक रुपमा बालमैत्री घोषणा गरिने उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीले जानकारी दिए । 
 
बाल बचाउका क्षेत्रमा जिल्ला जनस्वास्थ्य कार्यालय र खानेपानी तथा सरसफाई डिभिजन कार्यालयसँग समन्वय गरी विभिन्न कार्यक्रम गर्नुका साथै बाल विकासको क्षेत्रमा जिल्ला शिक्षा कार्यालय, प्याब्सन, एन प्याबसन र विभिन्न विद्यालयसँगको सहकार्यमा कार्यक्रमहरु संचालन भएका छन् । बाल संरक्षणको क्षेत्रमा महिला तथा बालबालिका कार्यालय, सिविन, जिल्ला प्रहरी कार्यालय तथा बाल सहभागिताको क्षेत्रमा उपमहानगरपालिका आफैंले पनि सक्रिय रुपमा क्रियाकलापहरु संचालन गरिरहेको छ ।
 
बालमैत्री नगर घोषणा पश्चात बालश्रम न्यूनिकरणको कार्यलाई प्राथमिकताका साथ संचालन गर्दै सन् २०१७ सम्ममा पूर्णरुपमा बालश्रम उन्मुलन गर्ने लक्ष्य राखिएको उपमहानगरपालिकाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ