arrow

पाल्पामा रोकिएन ट्रिपर आतंक, २१ महिनामा सातको मृत्यु

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ फागुन ९ बिहिबार
tipper.jpg

पाल्पा । पछिल्लो समयमा जिल्लाका सडकहरुमा ट्रिपर आतंक बढ्दै गएको छ ।  पटक पटकको खबरदारी पछि पनि सडकमा ट्रिपर आतंक रोकिएको छैन । जसका कारण धेरैले अकालमै ज्यान गुमाउनु परेको छ । गत आईतबार  निस्दी गाउँपालिका ७ मोटखर्क स्थित रामपुर अरुणखोला भित्रि कच्ची सडक खण्डमा ज्यामिरेको भुटुके स्थित चुन ढुंगा खानीबाट लोड लिएर जादै गरेको रा १ ख १५११ नम्वरको ट्रिपरको ठक्करबाट नौ वर्षिय वालिका ममिता सारुको ज्यान गएको थियो ।

केही महिना अघि तानसेनबाट छहरा जाँदै गरेको लु १७प ८७५९ नम्बरको मोटरसाइकललाई लु२ख २४४० नम्बरको ट्रिपरले ठक्कर दिँदा ५ वर्षीया बालिका अनुसिका दर्लामीको ज्यान गयो। केही समय अघि तिनाउ ३ दोभानमा पनि मोटरसाइकललाई ट्रिपरले ठक्कर दिँदा एकको ज्यान गएको थियो। यी त केही घटनाका उदाहरण मात्र हुन् ।  

आर्थिक वर्ष  २०७४-०७५ मा  ५ जनाको ज्यान जानुको साथै ५ जना घाइते भएका थिए । त्यस्तै चालु आर्थिक वर्षको फागुन ५ गते सम्म २ जनाको मृत्यु र १० जना घाइते भएको जिल्ला ट्राफिक कार्यालय पाल्पाले जनाएको छ ।  यो २१ महिनाको समय अवधिमा मात्रा  ७ जनाको ज्यान गइसकेको छ, भने १५ जना घाईते भएका हुन् ।

जिल्लामा साँघुरा र जीर्ण सडक भएका कारण  तीब्र गतिमा हुइँकिने ट्रिपरबाट बढी दुर्घटना हुने गरेको पाइन्छ ।  विशेष गरी सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने  बुटवल– पाल्पा सडक खण्डमा ट्रिपर आतंक बढेको पाइन्छ । सडकमा यात्रा गर्ने जोसुकै पनि ट्रिपरको यस किसिमको आतंकबाट अपरिचित छैनन् । पछिल्लो समयमा  ट्रिपरले साना सवारी साधन र सर्वसाधारणमा आतंक फैलिएको छ ।

राजमार्गमा गुड्ने साना सवारी साधन, सडक छेउका बासिन्दामा ट्रिपर देख्नासाथ डराउँने बानि नै बसिसकेको छ । ट्रिपरका कारण दुर्घटना बढ्दै गए पछि जिल्ला प्रहरी कार्याल, ट्राफिक कार्यालयले हार्थोक देखि सिद्धबाबा सडक सम्म टाइम कार्डको व्यवस्था गरेको छ । केही हद सम्म यो प्रभावकारी देखिए पनि पूर्णरुपमा भने  सफल हुन सकेको छैन ।

 विगतमा जेजस्ता घटना भए पनि टाइम कार्डको व्यवस्था गरे पछि भने दुर्घटनामा केही कमी आएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरिक्षक विश्वमणी पोखरेलले बताए । उनले ग्रामीण क्षेत्रमा सञ्चालित ट्रिपर चालकलाई ट्राफिक सचेना दिनुको साथै स्थानीयमा पनि बाटो क्रसका सम्बन्धमा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै  आएको जानकारी दिए ।  

 ट्रिपर चालकले ट्राफिक नियम पालना नगर्ने, लेन अनुशासन नमान्ने तथा बढी ट्रिपका लागि होडबाजीमा मानिसको ज्यानको ख्याल नगरी सवारी हाँक्ने गरेका छन् । जसका कारण सडकमा सञ्चालित सवारी साधन सँगै यात्रुहरु मृत्युको शिकार बन्नु परेको हो । यसअघि तानसेनमा टिप्पर आंतक ब्यापक भएपछि बैकल्पिक बाटोबाट ट्रिपर लगायत सवारी चलाउने निर्णय भए पनि त्यो कार्यान्वयनमा भने आउन सकेको छैन ।

जिल्लाको दोभान आसपास र अर्घाखाँचीको नरपानी चुनढुंगा उत्खनन क्षेत्रबाट  ठूला निर्माण आयोजना र सिमेन्ट उद्योगका लागि आवश्यक खानीजन्य सामग्री ढुवानी गरिन्छ। ढुवानी गर्ने ट्रिपरको संख्या पछिल्ला तीन वर्षमा ह्वात्तै बढेको छ। कम्पनी र उद्योगले ट्रिपर चालकलाई प्रतिट्रिपको हिसाबमा भत्ता उपलब्ध गराउने गर्छन् । त्यसको असर गतिमा परेको छ। जति धेरै ट्रिप बोक्यो, उति धेरै भत्ता पाइने भएपछि चालकले लापरवाही रुपमा ट्रिपर सडकमा कुदाउँछन् ।  जसका कारण पनि दुर्घटना बढेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ