पेट्रोलियम पदार्थमा तत्काल मूल्य बढ्दैन भन्नु पछाडिको रहस्य के हुन सक्छ ?
प्रकाशित २०७५ फागुन १० शुक्रबार
135
Shares
काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए पनि नेपाल आयल निगमले भने तत्कालका लागि मूल्य वृद्धि नगर्ने स्पष्ट पारेको छ ।
निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार इण्डियन आयल कर्पोरेसनले यही फागुन ४ गते पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर ७७ पैसा र डिजलमा प्रतिलिटर एक रुपैयाँ ८४ पैसा मूल्य बढेर आएको छ ।
निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि हुने क्रम जारी रहेको जनाएको छ । सर्वसाधारणको हितलाई ध्यानमा राखी निगमले हाललाई पेट्रोलियम पदार्थको साबिककै बिक्री मूल्यलाई यथावत् राखेको जनाएको छ ।
हाल पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य ९७ रुपैयाँ छ । इण्डियन आयल कर्पोरेसनले गत माघ २ देखि यही फागुन ४ गतेसम्मका लागि पठाएको मूल्यसूचीमा पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ ६३ पैसा र डिजलमा ६ रुपैयाँ ५७ पैसा मूल्य वृद्धि भएको भए तापनि सो अवधिमा निगमले पेट्रोल र डिजल दुवैमा प्रतिलिटर दुई रुपैयाँमात्रै मूल्यवृद्धि गरेको जनाएको छ ।
निगमले मूल्यवृद्धि गर्दिन भन्नुको पछाडिको रहस्य
आयल निगमले तत्काल मूल्यवृद्धि गर्नैपर्ने गरी अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएको छैन । तर पनि निगमले तत्काल मूल्यवृद्धि गर्दिन भनेर सहानुभूति लिन खोजिरहेको बुझिन्छ ।
निकै चर्को मूल्यमा पेट्रोलियम पदार्थ सर्वसाधारणलाई विक्री वितरण गर्दै आएर धेरै नाफामा निगम रहे पनि अन्ततः घाटा रहेको देखाउँदै आएको छ । पहिलेको घाटा पूर्ति गर्दै आइरहेको बहानामा तेलको भ्रष्टाचार चरम रहेको निगमकै एक अधिकृतले बताएका छन् ।
यसरी तेलको मूल्य नबढाउने जनाएर कतै फेरि ठूलै भ्रष्टाचारको खेल त भइरहेको छैन भन्ने आशंका पनि उब्जिएको छ ।