भारतको गाजियावादमा नेपाली कृषकलाई अर्गानिक खेती सम्बन्धी तालिम
प्रकाशित २०७५ फागुन १० शुक्रबार
333
Shares
काठमाडौं। भारतको गाजियावादमा २० जना नेपाली किसान तथा कृषि विशेषज्ञहरुले अर्गानिक खेति सम्बन्धी तालिम लिइरहेका छन्। भारतमा प्राङ्गारिक खेतिको तालिम लिईदै ‘भारत–नेपाल कृषिमा नयाँ साझेदारी’ को एक हिस्साको रुपमा किसान तथा कृषि विशेषज्ञहरुको दोश्रो टोलीले यस्तो तालिम लिएका हुन्।
गाजियाबाद स्थित नेशनल सेन्टर अफ अर्गानिक फार्मिङमा माघ १८ देखि फाल्गुण १८ गतेसम्म यस्तो तालिम सञ्चालन भएको हो। यस अघि २० नेपाली सहभागीहरुको टोलीले २०७५ कार्तिक २९देखि मङ्सिर २८सम्म सञ्चालन भएको तालिम सफलतापूर्वक पूरा गरेका थिए।
तालिमले मुख्यतया माटोको स्वास्थ्यलाई सुधार गर्न प्रमाणित प्राङ्गारिक खेतीलाई प्रवर्धन गर्ने, उत्पादन गुणस्तर, उत्पादकत्व, माटोको स्वास्थ्य तथा वातावरणमा प्राङ्गारिक प्रभाव वृद्धि गर्ने, जैविक मल तथा जैविक किटनाशक उत्पादन इकाईको स्थापना गरी प्राङ्गारिक बीउको आपूर्तिलाई सुनिश्चित गर्ने, नेपाली विशेषज्ञ तथा किसानको मानव स्रोत विकास गरी माटो परीक्षण तथा प्राङ्गारिक प्रमाणीकरणमा क्षमता विस्तार गर्ने उद्देश्य राखिएको छ।
गत वर्ष चैत्र महिनामा नेपालका प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भारत तथा नेपालका प्रधानमन्त्रीले ‘भारत–नेपाल कृषिमा नयाँ साझेदारी’को शुभारम्भ गरेका थिए। त्यसपछि २०७५ आषाढमा नेपालका कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले नयाँ दिल्ली स्थित भारतीय कृषि अनुसन्धान परिषद् तथा गाजियावाद स्थित नेशनल सेन्टर अफ अर्गानिक फार्मिङको समेत भ्रमण गरेका थिए। उनका समकक्षी कृषि तथा किसान कल्याण मन्त्री राधा मोहन सिंहसँग पनि भेटवार्ता गरे।