विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या ११४ बढी
एएफपी,
प्रकाशित २०७५ फागुन १२ आइतबार
751
Shares
आसाम, भारत। भारतको पूर्वी–उत्तर राज्य आसाममा विषाक्त मदिरा सेवन गर्दा मृत्यु हुनेको सङ्ख्या ११४ भन्दा माथि पुगेको अधिकारीहरूले बताएका छन्। दुई सयभन्दा बढी व्यक्तिलाई उपचारका लागि एउटा अस्पतालमा भर्ना गरिएको छ। विरामीमध्ये महिलाहरू पनि छन्। उनीहरू सबै आसामको चिया बगानमा काम गर्ने मानिसहरू हुन्।
स्थानीय सञ्चारमाध्यममा प्रकाशित विवरणहरूका अनुसार मृत्यु हुनेहरूको सङ्ख्या बढ्न सक्ने बताइएको छ। दुई हप्ताअघि अरू दुई राज्य उत्तर प्रदेश र उत्तराखण्डमा पनि विषाक्त मदिराका कारण झण्डै एक सय जनाको मृत्यु भएको थियो।
आसामको गोलाघाट र जोरहाट जिल्लामा भएका बगानमा काम गर्ने मानिसहरूले विषाक्त मदिरा सेवन गर्न पुगेका थिए। गोलाघाटका प्रमुख प्रशासक धिरेन हजारिकाले त्यस्तो मदिरा सेवन गर्नेहरूमध्ये पहिलो व्यक्तिको मृत्यु बिहीवार भएको जनाइएको छ।
गोलाघाट जिल्लामा मात्रै ५८ जनाको मृत्यु भएको प्रहरी अधिकारी पुष्कर सिंहले बताए। अर्को स्रोतका अनुसार १२ जनाको मृत्यु जोरहाट जिल्लामा भएको छ।
गोलाघाट स्वास्थ्य विभागका सहनिर्देशक डा. रतुल बोरदोलोईका अनुसार पीडितहरू बान्ता गर्दै र छाती दुख्ने एवम् सास फेर्न गाह्रो हुने गम्भीर समस्यासहित अस्पताल पुगेका थिए। गोलाघाट अस्पतालमा उपचार गराइरहेका एक व्यक्तिका अनुसार उनी बिहीवार चिया बगानमा थिए।
अधिकारीहरूका अनुसार सो घटनाको छानिबिन गर्न एउटा समिति बनाइएको छ।
राज्य प्रहरीका अनुसार उनीहरूले एक जनालाई अवैध मदिरा बेचेको आरोपमा समातेको छ। त्यस्तो मदिरा बिक्रीवितरण रोक्न नसकेको भन्दै दुईजना अधिकारीहरूलाई पनि निलम्बन गरिएको जनाइएको छ।