arrow

प्रधानमन्त्रीले भनेका ‘भैंसी व्याएको–पाडी पाएको’ घर आँगन कस-कसका ?

logo
केदार सुवेदी,
प्रकाशित २०७५ फागुन २१ मंगलबार
kp-oli-31.jpg

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकराको वर्ष पुगेको दिन देशवासीका नाममा सम्वोधन गरेका अरु धेरैमध्ये प्राय सबैमा सम्झना रहेको एउटा कुरा वा भनौं जानकारी हो – ‘भैँसी व्यायो र पाडी नै पायो ।’

भैँसी व्याउनु भनेको सम्पन्नताको प्रतिक हो । प्रधानमन्त्री भनाइको आसय हुनुपर्छ यतिखेर नेपाली सबैका घरमा भैँसी व्याएको छ । भैँसीमात्र व्याएन, त्यसले पाडी नै पायो । भैसीले पाडी पाउनु त्यो घरमा सुख समृद्धिले पनि स्थायित्व लिन लागेको भन्ने मानिन्छ । प्रधानमन्त्रीको संकेत पनि त्यही होला ।

हेलिकप्टर बिना दुईकदम नचल्ने

वास्तवमानै हो, भैँसी व्याएको छ, त्यसले  समृद्धिको छेलोखेलो नै ल्याएको छ  तर सबैका घर आँगनमा होइन । यो समृछिको उपभोग गर्ने केही निश्चित मात्रै छन औंलामा गनिने संख्याका । त्यसमध्ये की एक हुन राष्ट्रपति विद्यादेवी भण्डारी । उनको अतिसमृद्धि उपभोगको त प्रदर्शनी नै भैरहेको छ । यसको पछिल्लो एउटा समाचार–

‘राष्ट्रपतिलाई स्वागत गर्न बनाइएका स्वागत गेटलाई व्यवास्ता गर्दै बुधबार राष्ट्रपति विद्यादेवि भण्डारी झापाको गौरादह नगरपालिका वडा न ५ स्थित महारानी झोडा कृषि सहकारी संस्थाको नमुना एकीकृत  कृषि सहकारीले आयोजना गरेको कार्यक्रम स्थलमा हेलिकप्टरबाट सिधै ओर्लिइन्  ।

राष्ट्रपति विद्यादेवि भण्डारीलाई हार्दिक स्वागत छ भनी लेखिएका गेटहरु नगर प्रवेशस्थल लखनपुर डिपु चोक, मिलन चोक र महारानी झोडाका प्रमुख चोक चोकमा यत्रतत्र  बनाइएका देखिन्थे । तर  राष्ट्रपति ती गेटबाट नगर प्रवेश नगरि कार्यक्रम स्थलमा हेलिकप्टरबाट सिधै पुगिन् ।

साथै राष्ट्रपति भण्डारीले कार्यक्रम स्थल साथमै रहेको नमूना कृषि परियोजनाको हवाइमार्गबाटै अवलोकन गरेकी थिइन् । राष्ट्रपति भण्डारीले गौरादह नगरपालिका वडा न ५ स्थित महारानीझोडा महिला कृषि सहकारी संस्थामा आबद्ध साना किसानद्वारा प्रवर्दित एकसय बिगाहा जग्गामा सञ्चालित  एकीकृत नमूना कृषि परियोजनाको अवलोकन गरेकी हुन् ।

परियोजना स्थलमा गहुँ, मकै र कोदो खेती लगाइएको छ । राष्ट्रपति भण्डारीले परियोजनाको हेलिकप्टरबाट हवाइ अवलोकन गरेकी हुन् ।’ (हाम्राकुरा पुस १८)

राष्ट्रपतिको बानी कस्तो परिसकेछ भने दुई कदम हिडन पनि अल्छी मान्ने  । किसानले लगाएका बाली हेर्न पनि हेलिकप्टरनै चाहिने । ती बाली कुनै नयाँ थिएनन् परम्परागत धान–कोदो–मकै । त्यसको अवलोकन जसरी भयो त्यो नै त्यहाँका किसानका लागि राष्ट्रपतिले आफनो घरमा भैंसी व्याएको र पाठीनै पाएको जानकारी दिन खोजेको बुझन सकिन्छ ।

राष्ट्रपति भण्डारीको घर आँगनमा नै छ हेलिकप्टर । केही पहिले डेढ अर्ब रुपैया खर्चेर सरकराले किनिदिएको थियो । त्यही क्रममा उनका घर आगनमा रहने गरी १८ करोडको गाडी पनि खरिद भएको कुरा आइनै सकेको छ  ।

यो उड्ने हेलिकप्टर र ती गुड्ने अति विलासीयुक्त बाहन राख्नका लागि आँगन पुगेन र सर्वसाधारणका सुरक्षासंग सम्वन्धित निकाय प्रहरीको एउटा प्रतिष्ठाननै हटाउने निर्णय भयो त्यहाँबाट सर्वत्र विरोध हुँदाहुँदै ।

राष्ट्रपतिको पहिलो कार्यकालकै बेला २०७३ कात्तिक ६ मा उनले धार्मिक दर्शनका लागि सप्तरीस्थित छिन्नमस्ता भगवतीको मन्दिरमा उनको तथा उनका दुई छोरीहरु उषाकिरण र निशाकुसुमका जुता र चप्पल सेनाका जवानले बोकेको फोटो सार्वजनिक गरेर एउटा नयाँकिर्ति कायम भएको थियो भैँसीले पाडीपाउँदै गरेको संकेतका रुपमा ।

राष्ट्रपतिको निवास भूकम्प प्रतिरोधी हुनु स्वभाविक नै हो तर अहिले उनी जहाँ वस्छिन् त्यो ‘बम प्रूफ’ हो । यस्तो बमप्रूफ निवास विरलैका  होलान जुन निर्माण गर्नकै लागि ६२ करोड खर्च भएको थियो । शितल निवासको पछि थपिएको १ सय ९३ रोपनीमा फैलिएको प्रहरी प्रशिक्षण प्रतिष्ठानमा राष्ट्रपति कार्यालय विस्तार गरिनु पहिले एकसय आठ रोपनी जग्गामध्ये उनको लागि बनाइएको भवन २० रोपनीमा फैलिएको छ । यो  महाभूकम्प गएको वर्षदिन पनि नपुग्दैको कुरा हो ।

यही भवनमा हो २०७५ सालको दशैँमा राष्ट्रपतिले अति विशिष्ठ व्यक्तिहरुलाइ घुडा टेकाएको घटना पनि । यस वर्ष राष्ट्रपति निवासमा टीका ग्रहणका लागि पुगेका व्यक्तिहरु प्रतिको जस्तो व्यवहार गरियो  त्यो सार्वभौमसत्ता सम्पन्न जनताका लागि एउटा घोर अपमाननै थियो । आफु सुनको लेपन लगाइएको कुर्सी (हेरियोस फोटोमा त्यस्तै देखिन्छ) मा बसेर टिकालाइदिँदा वाध्यतावस टिकाल गाइमाग्ने व्यक्तिले घुडा टेक्नु पर्ने वातावारण बनाइयो ।   यस्तो घुडाटेकाइमा परे पूर्व प्रधानन्यायाधीश नै । आफनो सामुन्ने घुंडा टेकेको एउटा सम्मानित नागरिकलाई देख्दा यी राष्ट्रपतिमा कतै रौं वरावरको पनि  विषाद देखिएन । बरु अनुहारले नै देखायो उनी भित्रभित्रै गदगद भइन, घुंडा टेकेर थापिएको निधारमा टिका लगाइ दिँदाको चित्र आज भोलीपनि हेरियोस उनी हाँसिरहेकी देखिन्छिन् ।

यी सबैले बुझाउने कुराहुन राष्ट्रपतिको आगनमा भैँसीको पनि सबैभन्दा उन्नत जाति ‘गुज्राती’ नै व्यायो ।  

दुई अर्बको ‘दूध–मलाइ’

‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले एक वर्षमै आर्थिक सहायताका नाममा राज्यको ढुकुटीबाट पौने २ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेको छ । २०७४ फागुन ३ गते सरकारको नेतृत्वमा आएपछि ओलीले विकास, सुशासन र आर्थिक मितव्ययितालाई मूलमन्त्रको रुपमा प्रचार गरेका थिए । ओली सरकारले एक वर्षको अवधिमा आर्थिक सहायता र सहिद घोषणा नाममा १ अर्ब ८० करोड ९३ लाख रुपैयाँभन्दा बढी राज्यको ढुकुटीबाट बाँडेको हो । त्यस्तै विदेश भ्रमणमा करिब २३ करोड रुपैयाँ खर्च भएको छ ।’

समाचारको यो अंशले नै वताउछ अर्को त्यस्तै दूधालू भैसी व्याएछ प्रधानमन्त्रीको निवासमा पनि  । त्यो भैसी धेरै नै दूध दिने जातको नभए वर्ष दिनमा नै दुई अर्बको यस्तो ‘दूध–मलाइ’ बाडिने थिएन होला ।

यस्तो सहायता सजिलोसंग प्राप्त हुने भएपछि स्वाभाविक छ माग्नेहरुको ताँती लाग्ने नै भयो । विवरणमा आए अनुसार यस्ता ३ हजारभन्दा बढीले दुध-मलाइ पाउन  निवेदन हालेका छन । मन्त्रिपरिषद्को निर्णयअनुसार अर्थ मन्त्रालयले रकम निकासा गरेपछि आर्थिक सहायताको यस्तो रकम  वितरण हुन्छ ।

हरेक बिहीबार सरकारले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै आउने गरेको छ तर आर्थिक सहायता बाँडेको निर्णय भने गुपचुप नै रहन्थ्यो । प्रधानमन्त्रीले भैंसी व्याइसकेको भनी देशवासीका नाममा सम्वोधन गरेपछि प्रत्येक महिनाजसो मन्त्रिपरिषद्बाट निर्णय गरेर विदेश भ्रमण र सहायताका नाममा राज्यको ढुकुटी दोहन गरिँदै आएको कुरा सार्वजनिक भएको हो ।

नेपालमा भैसी व्याएको यो कुरा अब नेपालमा मात्र सीमित रहने ।  प्रधानमन्त्री आफै संयुक्त राष्ट्रसंघ, भारत र चीनको राजकीय भ्रमणसहित राष्ट्रपति, मन्त्री, सांसद, दलनिकटका कार्यकर्तालगायतको विदेश भ्रमण र विदेशी पाहुना स्वागतका नाममा करिब २३ करोड रुपैयाँ खर्च भएर यसको प्रचारलाइ तिव्रता दिइसकिएको छ । बर्षदिनको हाराहारीमा २३ करोडको विदेश भ्रमण भनेको सामान्य होइन ।

यी सबै खर्च आफुले नै प्रंस्ताव गरेका ‘नागरिक राहत तथा क्षतिपूर्ति’ र ‘आर्थिक सहायता वितरणसम्बन्धी कार्यविधि–२०६६’ तथा ‘स्वास्थ्य उपचारसम्बन्धी मापदण्ड–२०७३’, ‘भ्रमण खर्च नियमावली २०६४’ तथा मन्त्रीपरिषदबाट समयसमयमा जारी गरिएका आर्थिक अनुशासन र खर्चमा मितव्ययिता सम्बन्धी प्रावधान विपरीतका हुन् ।

प्रधानमन्त्रीकै भनाइलाइ आधारमान्ने हो भने धेरै नै दूध दिने भैसी व्यायो, त्यही दुध बेचेर ढुकुटी भरियो र भरिएको त्यस्तो ढुकुटीबाट यतिठूलो अंकमा पैसा बाडियो ।

भनाइ र गराइमा अन्तर

कुनै नागरिकको उपचारमा आर्थिक अभाव देखिए सरकारले तोकेका अस्पतालमा उपचार गराउनुपर्ने वा उपचार गरिएको बिल स्वास्थ्य मन्त्रालयबाट प्रमाणीकरण गरेर मात्रै १५ लाख रुपैयाँसम्म सहायता दिन सकिने व्यवस्था छ । गत जेठमा पत्रकार सम्मेलन मार्फत गृहमन्त्री रामबहादुर थापाले पहुँच र प्रभावका आधारमा सरकारले कसैलाई पनि आर्थिक सहायता नदिने दाबी गरेका थिए । तर उनकै मन्त्रालयमार्फत सबा १४ करोड रुपैयाँभन्दा बढी राज्य ढुकुटीबाट बाँडिएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणमा देखिएको छ ।

यो रकम जसजसले पाए उनका घरमा पनि भैसी व्याएकै मान्नुपर्छ । पहिलो वेते एउटा लैनो भैसीको दाम दुईलाख सरदर पर्छ । सरकारी ढुकुटीबाट राहत लिनेमा धेरैजसो सत्तासीन दलनिकट छन् । एउटै व्यक्तिले २५ लाखसम्म पाएका विवरण मा देखिएको पाइन्छ ।

प्रधानमन्त्रीको पहिलो उद्घाटन मै भ्रष्टाचारको भैंसी

ओली प्रधानमन्त्रीमा नियुक्त हुनासाथ नै सत्तापक्षमा जताततै  भैंसी व्याउन थालेका थिए । यसको एउटा उदाहरण हो प्रधानमन्त्री ओलीले मुगुको रारातालबाट बैशाख १ गते उद्घाटन गरेको ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ भन्ने कार्यक्रमको त्यो एउटा । समारोहमा मात्रै ४० लाख भन्दा बढी भ्रष्टाचार हुनु । यो प्रधानमन्त्रीको पहिलो उद्घाटन कार्यक्रम थियो । सार्वजनिक लेखा समितिले पाँच महिना लगाएर गरेको छानबिनका क्रममा उक्त रकम भ्रष्टाचार भएको देखिएको हो ।

यो समारोह उद्घाटनमा जाँदा  प्रधानमन्त्रीको नाममा हेलिकप्टर उडान खर्चमात्र डेढकरोड पुगेको हिसाव त्यसबेला सार्वजनिक भएको थियो । यहाँ उल्लेख भएको ४० लाख चाहिँ खान्तेपिन्तेमा भएको खर्च अन्तर्गतको हो ।  एउटा उद्घाटन समारोहमा यति ठूलो अंकको भ्रष्टाचार हुनु भनेको योकाम जसले गरे तिनका घरमा प्रधानमन्त्रीले नै भने जस्तो भैसी व्याएको र पाडी पाएकै अवस्था हो ।

महालेखा परीक्षकको प्रतिवेदनमा कर्णाली–रारा पर्यटन वर्ष उद्घाटन क्रममा प्रदेश सरकारले ८७ लाख १८ हजार ९७३ रुपैयाँ ७९ पैसा खर्च भएको देखाएको छ । प्रदेश सरकारले जेठ २५ गते संसदमा ४९ लाख ४१ हजार ७९५ रुपैयाँ खर्च भएको विवरण पेश गरेको थियो । महालेखाले देखाएको र प्रदेश सरकारले वताएको रकमबाट फरक भएको अंक भ्रष्टाचार भएको मान्नु पर्छ ।

सरकारले कर्णाली–रारा पर्यटन वर्षको उद्घाटनका लागि २०७४ चैत २८ गतेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायहरुलाई ४६ लाखको अख्तियारी दिएको थियो । समितिले सार्वजनिक खरिद ऐन र वित्तिय अनुशासन पालना नगरेकाले खर्च भएको सबै रकम ‘अनियमित’ भनेको छ । ‘कर्णाली–रारा पर्यटन वर्ष उद्घाटन कार्यक्रममा सरकारले गरेको खर्चको अध्ययन गर्न गठित उपसमितिको प्रतिवेदन र प्रदेश लेखा नियन्त्रण कार्यालयमार्फत प्राप्त महालेखा परीक्षकको प्रतिवेदन समेतको आधारमा सरकारले सार्वजनिक खरिद ऐन–२०६३ अनुसार खर्च नगरेको पाइयो’ छानविन समितिका अध्यक्षको भनाइ । उनका अनुसार त्यसैले उक्त कार्यक्रममा खर्च गरेको देखाइएको सम्पूर्ण रकम पूर्णतः अनियमित देखिन्छ । सरकारको तर्फबाट सदनमा प्रस्तुत गरेको खर्च विवरण र मन्त्रालयहरुले अध्ययन उपसमितिलाई बुझाएको खर्च विवरण र महालेखा नियन्त्रकको कार्यालयको प्रतिवेदनमा उल्लेखित विवरणले उद्घाटन कार्यक्रममा अनियमितता र भ्रष्टाचार भएको सहजै पुष्टी हुन्छ ।

भ्रष्टाचारका उदाहरण पनि त्यस्तै छन । जस्तो उद्घाटन कार्यक्रममा प्रदेश सरकारले आमन्त्रण गरेका मध्ये एक सय जना पाहुना रारा पुगेका थिए । ती मध्ये प्रधामन्त्री केपी शर्मा ओलीसहित २४ जना विशिष्ट पाहुनाहरुलाई नेपाली सेनाको टुहु ब्यारेकमा राखिएको थियो । प्रदेश सरकारले उपलब्ध गराएको विल–भर्पाइलाई आधार मान्ने हो भने बाँकी ७६ जना पाहुनाले ४४ छाक खाना खाएको देखिन्छ । यो भनेको २२ दिनको खाना हो । यता कार्यक्रमचाहिँ दुईदिनको थियो । पर्यटन वर्षका लागि यो प्रदेशका  १० वटै जिल्लाका लागि छुट्याइएको रकम पनि सरकारले एउटै उद्घाटन कार्यक्रममा खर्च गरेछ । यहाँसम्म कि नदी नियन्त्रणका लागि भू–तथा जलाधार कार्यक्रममा छुट्याइएको नौं लाख रुपैयाँ पनि रकमान्तर गरेर पर्यटन वर्ष उद्घाटनको यो कार्यक्रममा  खर्च गरिएछ ।

वालुवाटारमा यस्तो खुशीयाली

भैसी व्याएकै खुशियालीमा होला यो वर्ष प्रधानमन्त्री निवास बालुवाटारलाई साढे ५ करोड खर्चिएर रंगीचंगी बनाइयो । निवास छिर्नेबित्तिकै चारैतिर रंगीबिरगी बगैंचा बनाइएको छ । बंगैचाको बीचमा पानीको रंगीन फोहरा, ढुंगेधारा, मन्दिर, पुल, तलाउको दृश्यसहितको ल्यान्डस्केप बनाइएको हो बंगैचाको बीचमा अवस्थित तलाउमा राखिएको फोहरा रातिमा सप्तरंगी देखिन्छ । त्यसका नाममा ५ करोड ३२ लाख ५६ हजार रुपैयाँ खर्च गरियो ।

भैसी व्याएको यो खुशियाली बाँडन नै होला विगतमा कहिल्यै नभएको कामको थालनी गरियो – प्रधानमन्त्रीले आफनो निवासमा दशैको टिका खुलाइदिएर । एकादशीदेखि  पूर्णिमासम्मनै टिकालगाइ दानदक्षिणा र आशिर्वाद दिइरहेका प्रधानमन्त्री त्यसको भोलिपल्टैदेखि थला नै परे । थलापर्नु अलग कुरा हो, मूख्य कुरा हो वालुकाटारमा भैसी व्याएको कुरा सर्वसाधारणलाई जानकारी गराइनु । प्रधानमन्त्रीले आफनो वर्षदिने भाषणमा त्यहीकुरा दोहोर्‍याएका हुनुपर्छ ।

कुण्ड स्नान र चियापानमा हेलिकप्टर

जसका घरमा भैसी व्याएको छैन तिनले एउटा कुण्डमा स्नान गर्न कुनै कार्यकर्ताको घरमा चियाखान जान घण्टाको दुई-तीन लाख भाडालाग्ने हेलिकप्टर १०–१५ घण्टानै हुने गरी प्रयोग गर्ने कुरा हुँदैन ।  यस्तो उडानमा पौनेकरोड खर्चभएको विवरण सार्वजनिक भैसकेको छ ।

यो विवरण हो सत्तारुढ दल नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रामबहादुर थापाको तातोपानी कुण्ड स्नान र अर्का रक्षामन्त्री इश्वर पोख्रेलको  वाराका एक कार्यकर्ताका घरमा आयोजित चियापान कार्यक्रममा सहभागी हुँदा प्रयोग भएका हेलिकप्टर प्रसंग । अध्यक्ष प्रचण्ड र गृहमन्त्री  थापाका तातोपानी कुण्ड स्नानका अर्धनग्न चित्रहरु सर्वाजनिक भए उनीहरु आफैमार्फत । त्यसलाइ कतिपयले २० लाखको भूंडी प्रदर्शन भनी संज्ञा दिएका थिए । अर्का मन्त्री पोख्रेलको प्रसंग उनी चढेको हेलिकप्टर ल्याण्डल गर्न विद्यार्थीहरुको खेल रोकेर भएको सन्दर्भमा आयो ।

त्यसबेला सार्वजनिक भएका समाचार अनुसार वाराको एनप्याब्सनको आयोजनामा सिद्धेश्वर खेल मैदानमा १७ कात्तिक शनिवार २० विद्यालय सहभागी भएको खेल आयोजना हुँदैथियो । तर, पहिलो टी ट्वान्टी खेललाई नै २० ओभरबाट १२ ओभरको म्याच बनाउन दबाब दिएर मन्त्रीको टोली १२ बजेर २० मिनेटमा ओर्लियो । मैदानमा भएका खेलाडी र दर्शकलाई धपाएर मन्त्रीको हेलिकप्टर ओर्लिएको मात्र होइन साढे तीन बजेसम्म त्यहीँ रोकिएर बस्यो ।

यी केही नमूनाले नै बताउँछन प्रधानमन्त्रीले भनेका भैंसी कस-कसका आगनमा व्याउको रहेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ