प्रधानमन्त्रीले भनेका ‘भैंसी व्याएको–पाडी पाएको’ घर आँगन कस-कसका ?
केदार सुवेदी,
प्रकाशित २०७५ फागुन २१ मंगलबार
1.4k
Shares
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकराको वर्ष पुगेको दिन देशवासीका नाममा सम्वोधन गरेका अरु धेरैमध्ये प्राय सबैमा सम्झना रहेको एउटा कुरा वा भनौं जानकारी हो – ‘भैँसी व्यायो र पाडी नै पायो ।’
भैँसी व्याउनु भनेको सम्पन्नताको प्रतिक हो । प्रधानमन्त्री भनाइको आसय हुनुपर्छ यतिखेर नेपाली सबैका घरमा भैँसी व्याएको छ । भैँसीमात्र व्याएन, त्यसले पाडी नै पायो । भैसीले पाडी पाउनु त्यो घरमा सुख समृद्धिले पनि स्थायित्व लिन लागेको भन्ने मानिन्छ । प्रधानमन्त्रीको संकेत पनि त्यही होला ।
हेलिकप्टर बिना दुईकदम नचल्ने
वास्तवमानै हो, भैँसी व्याएको छ, त्यसले समृद्धिको छेलोखेलो नै ल्याएको छ तर सबैका घर आँगनमा होइन । यो समृछिको उपभोग गर्ने केही निश्चित मात्रै छन औंलामा गनिने संख्याका । त्यसमध्ये की एक हुन राष्ट्रपति विद्यादेवी भण्डारी । उनको अतिसमृद्धि उपभोगको त प्रदर्शनी नै भैरहेको छ । यसको पछिल्लो एउटा समाचार–
‘राष्ट्रपतिलाई स्वागत गर्न बनाइएका स्वागत गेटलाई व्यवास्ता गर्दै बुधबार राष्ट्रपति विद्यादेवि भण्डारी झापाको गौरादह नगरपालिका वडा न ५ स्थित महारानी झोडा कृषि सहकारी संस्थाको नमुना एकीकृत कृषि सहकारीले आयोजना गरेको कार्यक्रम स्थलमा हेलिकप्टरबाट सिधै ओर्लिइन् ।
राष्ट्रपति विद्यादेवि भण्डारीलाई हार्दिक स्वागत छ भनी लेखिएका गेटहरु नगर प्रवेशस्थल लखनपुर डिपु चोक, मिलन चोक र महारानी झोडाका प्रमुख चोक चोकमा यत्रतत्र बनाइएका देखिन्थे । तर राष्ट्रपति ती गेटबाट नगर प्रवेश नगरि कार्यक्रम स्थलमा हेलिकप्टरबाट सिधै पुगिन् ।
साथै राष्ट्रपति भण्डारीले कार्यक्रम स्थल साथमै रहेको नमूना कृषि परियोजनाको हवाइमार्गबाटै अवलोकन गरेकी थिइन् । राष्ट्रपति भण्डारीले गौरादह नगरपालिका वडा न ५ स्थित महारानीझोडा महिला कृषि सहकारी संस्थामा आबद्ध साना किसानद्वारा प्रवर्दित एकसय बिगाहा जग्गामा सञ्चालित एकीकृत नमूना कृषि परियोजनाको अवलोकन गरेकी हुन् ।
परियोजना स्थलमा गहुँ, मकै र कोदो खेती लगाइएको छ । राष्ट्रपति भण्डारीले परियोजनाको हेलिकप्टरबाट हवाइ अवलोकन गरेकी हुन् ।’ (हाम्राकुरा पुस १८)
राष्ट्रपतिको बानी कस्तो परिसकेछ भने दुई कदम हिडन पनि अल्छी मान्ने । किसानले लगाएका बाली हेर्न पनि हेलिकप्टरनै चाहिने । ती बाली कुनै नयाँ थिएनन् परम्परागत धान–कोदो–मकै । त्यसको अवलोकन जसरी भयो त्यो नै त्यहाँका किसानका लागि राष्ट्रपतिले आफनो घरमा भैंसी व्याएको र पाठीनै पाएको जानकारी दिन खोजेको बुझन सकिन्छ ।
राष्ट्रपति भण्डारीको घर आँगनमा नै छ हेलिकप्टर । केही पहिले डेढ अर्ब रुपैया खर्चेर सरकराले किनिदिएको थियो । त्यही क्रममा उनका घर आगनमा रहने गरी १८ करोडको गाडी पनि खरिद भएको कुरा आइनै सकेको छ ।
यो उड्ने हेलिकप्टर र ती गुड्ने अति विलासीयुक्त बाहन राख्नका लागि आँगन पुगेन र सर्वसाधारणका सुरक्षासंग सम्वन्धित निकाय प्रहरीको एउटा प्रतिष्ठाननै हटाउने निर्णय भयो त्यहाँबाट सर्वत्र विरोध हुँदाहुँदै ।
राष्ट्रपतिको पहिलो कार्यकालकै बेला २०७३ कात्तिक ६ मा उनले धार्मिक दर्शनका लागि सप्तरीस्थित छिन्नमस्ता भगवतीको मन्दिरमा उनको तथा उनका दुई छोरीहरु उषाकिरण र निशाकुसुमका जुता र चप्पल सेनाका जवानले बोकेको फोटो सार्वजनिक गरेर एउटा नयाँकिर्ति कायम भएको थियो भैँसीले पाडीपाउँदै गरेको संकेतका रुपमा ।
राष्ट्रपतिको निवास भूकम्प प्रतिरोधी हुनु स्वभाविक नै हो तर अहिले उनी जहाँ वस्छिन् त्यो ‘बम प्रूफ’ हो । यस्तो बमप्रूफ निवास विरलैका होलान जुन निर्माण गर्नकै लागि ६२ करोड खर्च भएको थियो । शितल निवासको पछि थपिएको १ सय ९३ रोपनीमा फैलिएको प्रहरी प्रशिक्षण प्रतिष्ठानमा राष्ट्रपति कार्यालय विस्तार गरिनु पहिले एकसय आठ रोपनी जग्गामध्ये उनको लागि बनाइएको भवन २० रोपनीमा फैलिएको छ । यो महाभूकम्प गएको वर्षदिन पनि नपुग्दैको कुरा हो ।
यही भवनमा हो २०७५ सालको दशैँमा राष्ट्रपतिले अति विशिष्ठ व्यक्तिहरुलाइ घुडा टेकाएको घटना पनि । यस वर्ष राष्ट्रपति निवासमा टीका ग्रहणका लागि पुगेका व्यक्तिहरु प्रतिको जस्तो व्यवहार गरियो त्यो सार्वभौमसत्ता सम्पन्न जनताका लागि एउटा घोर अपमाननै थियो । आफु सुनको लेपन लगाइएको कुर्सी (हेरियोस फोटोमा त्यस्तै देखिन्छ) मा बसेर टिकालाइदिँदा वाध्यतावस टिकाल गाइमाग्ने व्यक्तिले घुडा टेक्नु पर्ने वातावारण बनाइयो । यस्तो घुडाटेकाइमा परे पूर्व प्रधानन्यायाधीश नै । आफनो सामुन्ने घुंडा टेकेको एउटा सम्मानित नागरिकलाई देख्दा यी राष्ट्रपतिमा कतै रौं वरावरको पनि विषाद देखिएन । बरु अनुहारले नै देखायो उनी भित्रभित्रै गदगद भइन, घुंडा टेकेर थापिएको निधारमा टिका लगाइ दिँदाको चित्र आज भोलीपनि हेरियोस उनी हाँसिरहेकी देखिन्छिन् ।
यी सबैले बुझाउने कुराहुन राष्ट्रपतिको आगनमा भैँसीको पनि सबैभन्दा उन्नत जाति ‘गुज्राती’ नै व्यायो ।
दुई अर्बको ‘दूध–मलाइ’
‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले एक वर्षमै आर्थिक सहायताका नाममा राज्यको ढुकुटीबाट पौने २ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेको छ । २०७४ फागुन ३ गते सरकारको नेतृत्वमा आएपछि ओलीले विकास, सुशासन र आर्थिक मितव्ययितालाई मूलमन्त्रको रुपमा प्रचार गरेका थिए । ओली सरकारले एक वर्षको अवधिमा आर्थिक सहायता र सहिद घोषणा नाममा १ अर्ब ८० करोड ९३ लाख रुपैयाँभन्दा बढी राज्यको ढुकुटीबाट बाँडेको हो । त्यस्तै विदेश भ्रमणमा करिब २३ करोड रुपैयाँ खर्च भएको छ ।’
समाचारको यो अंशले नै वताउछ अर्को त्यस्तै दूधालू भैसी व्याएछ प्रधानमन्त्रीको निवासमा पनि । त्यो भैसी धेरै नै दूध दिने जातको नभए वर्ष दिनमा नै दुई अर्बको यस्तो ‘दूध–मलाइ’ बाडिने थिएन होला ।
यस्तो सहायता सजिलोसंग प्राप्त हुने भएपछि स्वाभाविक छ माग्नेहरुको ताँती लाग्ने नै भयो । विवरणमा आए अनुसार यस्ता ३ हजारभन्दा बढीले दुध-मलाइ पाउन निवेदन हालेका छन । मन्त्रिपरिषद्को निर्णयअनुसार अर्थ मन्त्रालयले रकम निकासा गरेपछि आर्थिक सहायताको यस्तो रकम वितरण हुन्छ ।
हरेक बिहीबार सरकारले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै आउने गरेको छ तर आर्थिक सहायता बाँडेको निर्णय भने गुपचुप नै रहन्थ्यो । प्रधानमन्त्रीले भैंसी व्याइसकेको भनी देशवासीका नाममा सम्वोधन गरेपछि प्रत्येक महिनाजसो मन्त्रिपरिषद्बाट निर्णय गरेर विदेश भ्रमण र सहायताका नाममा राज्यको ढुकुटी दोहन गरिँदै आएको कुरा सार्वजनिक भएको हो ।
नेपालमा भैसी व्याएको यो कुरा अब नेपालमा मात्र सीमित रहने । प्रधानमन्त्री आफै संयुक्त राष्ट्रसंघ, भारत र चीनको राजकीय भ्रमणसहित राष्ट्रपति, मन्त्री, सांसद, दलनिकटका कार्यकर्तालगायतको विदेश भ्रमण र विदेशी पाहुना स्वागतका नाममा करिब २३ करोड रुपैयाँ खर्च भएर यसको प्रचारलाइ तिव्रता दिइसकिएको छ । बर्षदिनको हाराहारीमा २३ करोडको विदेश भ्रमण भनेको सामान्य होइन ।
यी सबै खर्च आफुले नै प्रंस्ताव गरेका ‘नागरिक राहत तथा क्षतिपूर्ति’ र ‘आर्थिक सहायता वितरणसम्बन्धी कार्यविधि–२०६६’ तथा ‘स्वास्थ्य उपचारसम्बन्धी मापदण्ड–२०७३’, ‘भ्रमण खर्च नियमावली २०६४’ तथा मन्त्रीपरिषदबाट समयसमयमा जारी गरिएका आर्थिक अनुशासन र खर्चमा मितव्ययिता सम्बन्धी प्रावधान विपरीतका हुन् ।
प्रधानमन्त्रीकै भनाइलाइ आधारमान्ने हो भने धेरै नै दूध दिने भैसी व्यायो, त्यही दुध बेचेर ढुकुटी भरियो र भरिएको त्यस्तो ढुकुटीबाट यतिठूलो अंकमा पैसा बाडियो ।
भनाइ र गराइमा अन्तर
कुनै नागरिकको उपचारमा आर्थिक अभाव देखिए सरकारले तोकेका अस्पतालमा उपचार गराउनुपर्ने वा उपचार गरिएको बिल स्वास्थ्य मन्त्रालयबाट प्रमाणीकरण गरेर मात्रै १५ लाख रुपैयाँसम्म सहायता दिन सकिने व्यवस्था छ । गत जेठमा पत्रकार सम्मेलन मार्फत गृहमन्त्री रामबहादुर थापाले पहुँच र प्रभावका आधारमा सरकारले कसैलाई पनि आर्थिक सहायता नदिने दाबी गरेका थिए । तर उनकै मन्त्रालयमार्फत सबा १४ करोड रुपैयाँभन्दा बढी राज्य ढुकुटीबाट बाँडिएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणमा देखिएको छ ।
यो रकम जसजसले पाए उनका घरमा पनि भैसी व्याएकै मान्नुपर्छ । पहिलो वेते एउटा लैनो भैसीको दाम दुईलाख सरदर पर्छ । सरकारी ढुकुटीबाट राहत लिनेमा धेरैजसो सत्तासीन दलनिकट छन् । एउटै व्यक्तिले २५ लाखसम्म पाएका विवरण मा देखिएको पाइन्छ ।
प्रधानमन्त्रीको पहिलो उद्घाटन मै भ्रष्टाचारको भैंसी
ओली प्रधानमन्त्रीमा नियुक्त हुनासाथ नै सत्तापक्षमा जताततै भैंसी व्याउन थालेका थिए । यसको एउटा उदाहरण हो प्रधानमन्त्री ओलीले मुगुको रारातालबाट बैशाख १ गते उद्घाटन गरेको ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ भन्ने कार्यक्रमको त्यो एउटा । समारोहमा मात्रै ४० लाख भन्दा बढी भ्रष्टाचार हुनु । यो प्रधानमन्त्रीको पहिलो उद्घाटन कार्यक्रम थियो । सार्वजनिक लेखा समितिले पाँच महिना लगाएर गरेको छानबिनका क्रममा उक्त रकम भ्रष्टाचार भएको देखिएको हो ।
यो समारोह उद्घाटनमा जाँदा प्रधानमन्त्रीको नाममा हेलिकप्टर उडान खर्चमात्र डेढकरोड पुगेको हिसाव त्यसबेला सार्वजनिक भएको थियो । यहाँ उल्लेख भएको ४० लाख चाहिँ खान्तेपिन्तेमा भएको खर्च अन्तर्गतको हो । एउटा उद्घाटन समारोहमा यति ठूलो अंकको भ्रष्टाचार हुनु भनेको योकाम जसले गरे तिनका घरमा प्रधानमन्त्रीले नै भने जस्तो भैसी व्याएको र पाडी पाएकै अवस्था हो ।
महालेखा परीक्षकको प्रतिवेदनमा कर्णाली–रारा पर्यटन वर्ष उद्घाटन क्रममा प्रदेश सरकारले ८७ लाख १८ हजार ९७३ रुपैयाँ ७९ पैसा खर्च भएको देखाएको छ । प्रदेश सरकारले जेठ २५ गते संसदमा ४९ लाख ४१ हजार ७९५ रुपैयाँ खर्च भएको विवरण पेश गरेको थियो । महालेखाले देखाएको र प्रदेश सरकारले वताएको रकमबाट फरक भएको अंक भ्रष्टाचार भएको मान्नु पर्छ ।
सरकारले कर्णाली–रारा पर्यटन वर्षको उद्घाटनका लागि २०७४ चैत २८ गतेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायहरुलाई ४६ लाखको अख्तियारी दिएको थियो । समितिले सार्वजनिक खरिद ऐन र वित्तिय अनुशासन पालना नगरेकाले खर्च भएको सबै रकम ‘अनियमित’ भनेको छ । ‘कर्णाली–रारा पर्यटन वर्ष उद्घाटन कार्यक्रममा सरकारले गरेको खर्चको अध्ययन गर्न गठित उपसमितिको प्रतिवेदन र प्रदेश लेखा नियन्त्रण कार्यालयमार्फत प्राप्त महालेखा परीक्षकको प्रतिवेदन समेतको आधारमा सरकारले सार्वजनिक खरिद ऐन–२०६३ अनुसार खर्च नगरेको पाइयो’ छानविन समितिका अध्यक्षको भनाइ । उनका अनुसार त्यसैले उक्त कार्यक्रममा खर्च गरेको देखाइएको सम्पूर्ण रकम पूर्णतः अनियमित देखिन्छ । सरकारको तर्फबाट सदनमा प्रस्तुत गरेको खर्च विवरण र मन्त्रालयहरुले अध्ययन उपसमितिलाई बुझाएको खर्च विवरण र महालेखा नियन्त्रकको कार्यालयको प्रतिवेदनमा उल्लेखित विवरणले उद्घाटन कार्यक्रममा अनियमितता र भ्रष्टाचार भएको सहजै पुष्टी हुन्छ ।
भ्रष्टाचारका उदाहरण पनि त्यस्तै छन । जस्तो उद्घाटन कार्यक्रममा प्रदेश सरकारले आमन्त्रण गरेका मध्ये एक सय जना पाहुना रारा पुगेका थिए । ती मध्ये प्रधामन्त्री केपी शर्मा ओलीसहित २४ जना विशिष्ट पाहुनाहरुलाई नेपाली सेनाको टुहु ब्यारेकमा राखिएको थियो । प्रदेश सरकारले उपलब्ध गराएको विल–भर्पाइलाई आधार मान्ने हो भने बाँकी ७६ जना पाहुनाले ४४ छाक खाना खाएको देखिन्छ । यो भनेको २२ दिनको खाना हो । यता कार्यक्रमचाहिँ दुईदिनको थियो । पर्यटन वर्षका लागि यो प्रदेशका १० वटै जिल्लाका लागि छुट्याइएको रकम पनि सरकारले एउटै उद्घाटन कार्यक्रममा खर्च गरेछ । यहाँसम्म कि नदी नियन्त्रणका लागि भू–तथा जलाधार कार्यक्रममा छुट्याइएको नौं लाख रुपैयाँ पनि रकमान्तर गरेर पर्यटन वर्ष उद्घाटनको यो कार्यक्रममा खर्च गरिएछ ।
वालुवाटारमा यस्तो खुशीयाली
भैसी व्याएकै खुशियालीमा होला यो वर्ष प्रधानमन्त्री निवास बालुवाटारलाई साढे ५ करोड खर्चिएर रंगीचंगी बनाइयो । निवास छिर्नेबित्तिकै चारैतिर रंगीबिरगी बगैंचा बनाइएको छ । बंगैचाको बीचमा पानीको रंगीन फोहरा, ढुंगेधारा, मन्दिर, पुल, तलाउको दृश्यसहितको ल्यान्डस्केप बनाइएको हो बंगैचाको बीचमा अवस्थित तलाउमा राखिएको फोहरा रातिमा सप्तरंगी देखिन्छ । त्यसका नाममा ५ करोड ३२ लाख ५६ हजार रुपैयाँ खर्च गरियो ।
भैसी व्याएको यो खुशियाली बाँडन नै होला विगतमा कहिल्यै नभएको कामको थालनी गरियो – प्रधानमन्त्रीले आफनो निवासमा दशैको टिका खुलाइदिएर । एकादशीदेखि पूर्णिमासम्मनै टिकालगाइ दानदक्षिणा र आशिर्वाद दिइरहेका प्रधानमन्त्री त्यसको भोलिपल्टैदेखि थला नै परे । थलापर्नु अलग कुरा हो, मूख्य कुरा हो वालुकाटारमा भैसी व्याएको कुरा सर्वसाधारणलाई जानकारी गराइनु । प्रधानमन्त्रीले आफनो वर्षदिने भाषणमा त्यहीकुरा दोहोर्याएका हुनुपर्छ ।
कुण्ड स्नान र चियापानमा हेलिकप्टर
जसका घरमा भैसी व्याएको छैन तिनले एउटा कुण्डमा स्नान गर्न कुनै कार्यकर्ताको घरमा चियाखान जान घण्टाको दुई-तीन लाख भाडालाग्ने हेलिकप्टर १०–१५ घण्टानै हुने गरी प्रयोग गर्ने कुरा हुँदैन । यस्तो उडानमा पौनेकरोड खर्चभएको विवरण सार्वजनिक भैसकेको छ ।
यो विवरण हो सत्तारुढ दल नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रामबहादुर थापाको तातोपानी कुण्ड स्नान र अर्का रक्षामन्त्री इश्वर पोख्रेलको वाराका एक कार्यकर्ताका घरमा आयोजित चियापान कार्यक्रममा सहभागी हुँदा प्रयोग भएका हेलिकप्टर प्रसंग । अध्यक्ष प्रचण्ड र गृहमन्त्री थापाका तातोपानी कुण्ड स्नानका अर्धनग्न चित्रहरु सर्वाजनिक भए उनीहरु आफैमार्फत । त्यसलाइ कतिपयले २० लाखको भूंडी प्रदर्शन भनी संज्ञा दिएका थिए । अर्का मन्त्री पोख्रेलको प्रसंग उनी चढेको हेलिकप्टर ल्याण्डल गर्न विद्यार्थीहरुको खेल रोकेर भएको सन्दर्भमा आयो ।
त्यसबेला सार्वजनिक भएका समाचार अनुसार वाराको एनप्याब्सनको आयोजनामा सिद्धेश्वर खेल मैदानमा १७ कात्तिक शनिवार २० विद्यालय सहभागी भएको खेल आयोजना हुँदैथियो । तर, पहिलो टी ट्वान्टी खेललाई नै २० ओभरबाट १२ ओभरको म्याच बनाउन दबाब दिएर मन्त्रीको टोली १२ बजेर २० मिनेटमा ओर्लियो । मैदानमा भएका खेलाडी र दर्शकलाई धपाएर मन्त्रीको हेलिकप्टर ओर्लिएको मात्र होइन साढे तीन बजेसम्म त्यहीँ रोकिएर बस्यो ।
यी केही नमूनाले नै बताउँछन प्रधानमन्त्रीले भनेका भैंसी कस-कसका आगनमा व्याउको रहेछ ।