arrow

उन्नत जातको बाख्रा पालनबाट आत्मानिर्भर बन्दै गाउँपालिका

logo
प्रकाशित २०७५ फागुन २७ सोमबार
bayar.JPG

खोटाङ । दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नम्बर–१ याम्खाका कृषक जीवन घिमीरेले उन्नत खालको बोका (वोयर) मार्फत आफुले पालेका बाख्रामा प्रजनन गराएर ६ वटा पाठापाठी उत्पादन गराएका छन् । सलक्क परेका हलक्क बढीरहेका पाठापाठी देख्दा उनी अहिले खुशीले गदगद् हुँदै आगामी दिनमा धेरै बाख्रा पालेर त्यसैबाट व्यवसायिक बन्ने ईच्छाका साथ अघि बढीरहेका छन् ।
 
याम्खाकै अर्का किसान प्रेमकुमार अधिकारी सुरुमा त गाउँमा वोयर बोका देख्दा छक्क परे । कहाँ बाख्रा पनि यति ठुलो हुन्छ होला र ? भन्दै छक्क परेका उनले पनि परिक्षणका लागि भन्दै आफुले पालेका बाख्रालाई (वोयर) बोकामार्फत प्रजनन गराए । अहिले (वोयर) बोकामार्फत ३ वटा पाठापाठी उनकोमा उत्पादन भएका छन् । ति सलक्क परेका पाठापाठी खेलाउँदै उनी भन्छन्, ‘अव सवैले उन्नत खालका बाख्रा पालेर समृद्धि खोज्नुपर्छ ।’ खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले उन्नत जातको बाख्रा पालनबाट कृषकलाई आत्मा निर्भर बनाउँने लक्ष्य लिएर गत असारमा पाँच वटा उन्नत खालका (वोयर) बोका कृषकहरुलाई  बितरण गरेको थियो ।  

गाउँपालिकाले सिमानथली बोयर बाख्रा र्फम हेटौंडा मकवनपुरबाट प्रति केजी २५ सयका दरले २ लाख ५० हजार रुपैंयामा पाँच वटा (वोयर) बोका ल्याएर गाउँपालिका भीत्रका ५ कृषक समुहलाई वितरण गरेको थियो । गाउँपालिकाले वडा नम्बर–१ याम्खाको हरियाली कृषक समुह, वडा नम्बर–३ छोरम्बुको जनजागरण कृषक समुह, वडा नम्बर–४ बतासेको हरियाली कृषक समुह, वडा नम्बर–५ सप्तेश्वर छितापोखरीको तृतिया भञ्याङ कृषक समुह र वडा नम्बर–७ टेम्माको सकृय सहभागीता कृषक समुहलाई (वोयर) बोका वितरण गरेको थियो ।

पाँच कृषक समुहलाई बितरण गरिएको (वोयर) बोकाबाट अहिले हरियाली कृषक समुह अन्तर्गतमा ३६ वटा बाख्रालाई प्रजनन सेवा दिएको र त्यसमध्ये १६ पाठापाठी जन्मिएका छन् । यस्तै, जनजागरण कृषक समुह अन्तर्गत २७ वटा बाख्रालाई सेवा दिईएको र ९ वटा पाठापाठी जन्मिएका छन् । हरियाली कृषक समुह बतासेमा  २५ वटालाई सेवा दिएको ७ वटा पाठापाठी उत्पादन भएका छन्, भने तृतिया भञ्याङ कृषक समुह अन्तर्गतमा २७ वटा बाख्रालाई सेवा दिएकोमा १६ वटा पाठापाठी जन्मिएको पशु प्राविधिक रमेश निरौलाले जानकारी दिए ।

पाँच वटा कृषक समुहलाई दिएको बोकामध्ये वडा नम्बर–७ टेम्माको सृकय सहभागीता कृषक समुहलाई दिएको बोका ‘एन्टेक्स’ पटके रोगको कारणले मरेको निरौलाको भनाई छ । एक कृषक समुहलाई एउटाका दरले दिएको बोकामार्फत किसानले आफ्ना बाख्रालाई प्रजनन गराउँन पाईने उनको भनाई छ । (वोयर) बोकामार्फत अहिले गाउँमा उन्नत खालका बाख्रा पाठा उत्पादन हुन थालेपछि किसानहरु खुशी बनेका छन् । खरी जातका (थोरै मासु भएका) साना बाख्रा पाल्दै आएका किसानहरु उन्नत जातका बाख्रा पालेर त्यसैबाट समृद्धि खोज्न यतिवेला उत्सुक देखिन्छन् । १८ महिनाको अवधिमा झण्डै ५२ केजीसम्म हुने उन्नत जातका (वोयर) बाख्रा पाल्नमा उत्सुक बनेका कृषक छोटो समयमा राम्रो फाईदा लिने गरि लागी परेको देखिन्छ । कृषकहरुले पालेका बाख्राबाट उत्पादन भएका पाठापाठी दैनिक ५० देखी ६० ग्रामको दरले बढीरहको प्राविधिक निरौलाले जानकारी दिए ।

गाउँपालिकाको नीति तथा कार्यक्रममार्फत नै कृषकलाई उन्नत खालका बाख्रा पाल्नका लागि (वोयर) बोका दिएर मासुमा आत्मानिर्भर बनाउँन खोजिएको गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए । उनले भने, ‘गाउँपालिकाभीत्रका सवै कृषकलाई उन्नत खालका बाख्रा पाल्नको लागि आगामी दिनमा अभिप्रेरित गर्दै कृषकलाई खसी बाख्रा नै आम्दानीको मुख्य श्रोत बनाई दिने लक्ष्य रहेको छ ।’ उन्नत खालका खसीबाख्रा उत्पादन गर्नका लागि गाउँपालिकाको हावापानी उपयूक्त रहेको बताईएको छ । गत असारमा सुरु गरिएको उन्नत खालका बाख्रा पालन अभियान निरन्तर रहने गाउँपालिकाको भनाई छ ।

यसै आर्थिक वर्ष भीत्र गाउँपालिका र किसानको ५०÷५० प्रतिशत लागानीमा १० लाख बराबरको बाख्रा फर्म स्थापना गरिने अध्यक्ष राईको भनाई छ । गाउँपालिकाभीत्र मासु खपत भएर बढी भएका खसी बाख्रा अन्य ठाँउमा निर्यात गर्नका लागिसमेत गाउँपालिकाले प्रवन्ध मिलाई दिने जनाईएको छ । गाउँपालिकाभीत्र प्रतिकेजी पाँच सयका दरले खपत हुँदै आएको खसीको मासु समुहमार्फत खाने गरिएको छ । बढीमा २०÷२१ घरको एक समुह निर्माण गरेर प्रत्येक महिना आफ्नो पालो अनुशार खसी काटेर मासु खाने गरिएको स्थानीयको भनाई छ ।

उन्नत खालको बाख्रा पालन कार्य भर्खर सुरु भएका कारण त्यसबाट कृषकले आम्दानी लिन थालीनसकेको गाउँपालिकाको भनाई छ । अवका केही महिनापछि कृषकले भने अनुसारको आम्दानी लिने जनाईएको छ ।



नयाँ