arrow

संवाद, सहमति सहकार्य र एकता : बलियो काँग्रेस बनाउने कल्याण गुरुङका सूत्र

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७५ फागुन २८ मंगलबार
Kalyan_gurung.jpg

काठमाडौं । सरकारका एक पछि अर्का कामहरु विवादको भूमरीमा फस्दै जाँदा पनि अहिले प्रतिपक्षमा बसेर काँग्रेसले जसरी आफ्नो भूमिका निर्वाह गर्नु पर्ने थियो । त्यो गर्न नसकेको आरोप लाग्दै आएको छ । आन्तरिक विवादको भूमरीमा फसेको काँग्रेसले सरकारका गतिविधिहरुमा खबरदारी गर्न नसक्दा यतिबेला सरकारले भने मनपरी मच्चाईरहेको छ । यही प्रसंगमा काँग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङसँग काँग्रेसको भूमिका कमजोर हुनुको कारण के हो भन्नेबारे हाम्राकुराले सोधेको थियो । प्रस्तुत छ, गुरुङसँग गरिएको कुराकानीको सम्पादित अंश :

दुई तिहाई मत पाएको ओली नेतृत्वको सरकारले पछिल्लो समय मनपरीतन्त्र मच्चाईरहेको छ । तर, पनि प्रतिपक्षको भूमिकामा काँग्रेस कमजोर देखिएको छ नि किन ? 

दुई तिहाई सांसदको मत पाएको सरकारका गतिविधि नियाल्ने क्रममा काँग्रेसले केही पनि गर्दै नगरेको त होईन । तर, जनताको अपेक्षा अनुसार काम गर्न नसकेको कुरामा भने सत्यता छ । यो सरकारले गठन पछि ल्याएको नीति तथा कार्यक्रम र बजेटमाथि प्रमुख प्रतिपक्षीको रुपमा काँग्रेसले फरक मत र संशोधनको प्रस्ताव दर्ता गराउनु पर्ने थियो । त्यो हामीले गर्न नसकेकै हो । बजेटमा जनताको पक्षमा यस्ता यस्ता कार्यक्रमहरु राख्नुपर्छ भनेर भन्नै पर्ने थियोे । त्यसबाहेकका विषयहरुमा त काँग्रैसले संसदमा आवाज उठाई नै रहेको छ । जस्तो कि चिकित्सा शिक्षा विधेयकमा विरोध गरेकै हो । त्यतिबेला सभामुखले नै सरकार पक्षीय निर्णय गरी हाम्रा कतिपय सांसदहरुलाई बोल्ने समय पनि कम दिईयो । त्यसमा पनि हामीले विरोध गरेकै हौं । देशमा भएको महंगी र भ्रष्टाचारको विरुद्धमा पनि हामीले सबै जिल्लाहरुमा विरोध सभा गरेकै हौं । अब कुरा आयो जनताले सोचेको जस्तो किन भएन भन्ने । काँग्रेस शालीन स्वभावको पार्टी हो । हाम्रो स्वभाव नेकपाको जस्तो हुँदैन । हामी शालिनता र मर्यादामाथि विश्वास गर्ने पार्टी भएकोले चर्काे रुपमा हाम्रो आवाज जनतासम्म नपुगेको हुनसक्छ । हाम्रो चरित्र नै कम्युनिष्टको जस्तो नभएकोले हामी शालिन रुपमा आफ्नो विरोध जनाउँदै आईरहेका छौं । 

पार्टीलाई चलायमान बनाउने कुनैपनि कार्यक्रमहरु काँग्रेसले ल्याउन सकेको देखिँदैन । यसमा चाहिँ कहाँ कमजोरी भयो ?

अहिले केन्द्रीय सत्तामा दुई तिहाईको सरकार छ । राजपाले समर्थन फिर्ता लिएपछि पनि सरकार दुई तिहाईकै शक्तिमा छ । त्यसको तुलनामा हाम्रो संसदमा संख्या कम पनि छ । अर्काे कुरा भन्दा हाम्रो पार्टी एक ढिक्का भएको भए कम संख्या भएपनि हामी कम्युनिष्ट सत्ता विरुद्ध लड्न सहजै सक्दथ्यौं । तर, हामी आन्तरिक रुपमा नै कमजोर रहेकोले सरकारको विरुद्ध एकजुट भएर आवाज उठाउन सकिरहेका छैनौं । संख्यात्मक रुपमा संसदमा हामी कमजोर भएको भएपनि पार्टी भित्र सहमति सहकार्य र एकता भएको भए प्रभावकारी प्रतिपक्षीको भूमिका निर्वाह गर्न सक्थ्यौं । विचार र कार्य गर्दा मन बचन र कर्मले अघि बढ्यौं भने सरकारलाई अझै पनि हामीले राम्रोसँग चुनौती दिन सक्छौं । समय केही ढिला भएको हो धेरै ढिला भईसकेको छैन । यस्तो भयो भने सदनमा काँग्रेसले जोडदार रुपमा प्रस्तुत हुन सक्छ । त्यसको प्रभाव सडकमा पनि पर्न सक्छ । तर, हामी माथिदेखि तलसम्म पक्ष र विपक्षको आधारमा समिति गठन गर्ने, बहुमतलाई आधार मानेर विधान बनाउन थालियो भने हामी झनै कमजोर प्रतिपक्ष बन्न पुग्छौं । यस्तो भयो भने अवश्यपनि अर्काे पक्षले मन खुम्च्याएर बस्छ । तर, त्यस्तो कमजोरी अहिलेको नेतृत्वले गरेन भने त्यसैको प्रभावका कारण पनि सरकार प्रतिपक्षसँग डराउँछ । जसले जनताको आवश्यकता पनि पूरा हुन थाल्दछ । 

अहिलेको नेतृत्वको कमजोरीलाई कसरी सुधार्न सकिन्छ ? 

यसको लागि नेतत्वले संवाद जारी राख्नुपर्छ । काम गर्नको लागि विषयगत समिति गठन गर्नुपर्छ । जसले विषयगत आधारमा आफना धारणाहरु र त्यो समितिसँग निरन्तर संवाद गरिरहने गर्नुपर्छ । त्यसमा आवश्यक बुद्धिजीवी, पूर्व सांसद आदिलाई पनि राखेर समिति गठन गर्ने । हामीले यो आमधारणा किन राख्यौं भनेर  पहिला आफ्ना कार्यकर्ता तहमा बुझाउन सक्नुपर्छ । विषयगत धारणामा हामीले विरोध गर्न लाग्यौं भने त्यसको ज्वलन्त प्रभाव काँग्रेसमा र समग्र देशको संरचना सुधारमा पर्नसक्दछ । अहिले हाम्रा समस्यामा पूर्वाधारको विकासको कुरा, रेलको कुरा छ पानी जहाजको कुरा छ । यो कुरा कत्तिको सम्भव छ । आर्थिक परिसूचकहरु किन सुधारिँदै आएको छैन ? यस्तो विषयलाई हामीले सबै बाहिर ल्याउने र सरकारलाई घच्घच्याईरहनु पर्छ । 

अहिलेको नेतृत्वको गति र मति हेर्दा त्यो सम्भव देख्नुहुन्छ ? 
नेपाली काँग्रेस पार्टीलाई सुधार्ने दायित्व पनि नेपाली काँग्रेस पार्टीको नै हो । हाम्रो पार्टी अरु कसैले पनि आएर बनाईँदिँदैन । यसको लागि हाम्रो युवा पंक्तिले केही गर्न सक्छ भन्ने जुन आशा छ । त्यो आशालाई कसरी जोगाउने, देशको समस्यालाई कसरी समाधान गर्ने ? जनताका आवश्यकताहरु कसरी पूरा गर्ने र अबको चुनावमा नेपाली काँग्रेसलाई बहुमत सहितको पार्टी कसरी बनाउने ? भन्ने कुराको मन्थन गर्नको लागि पनि त संवाद चाहियो नि । पार्टी बनाउने भन्ने ध्यानमा हामी लाग्यौं भने र विशेषगरी नेतृत्व तह यसतर्फ लाग्यो भने मलाई लाग्छ पार्टी बलियो हुन्छ र बलियो पार्टीले नै बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्दछ । 

अहिलेको अवस्थामा सबै नेताहरु आ–आफ्नै डम्फू बजाईरहँदा यसले पार्टीलाई खासमा कहाँ पुर्‍याउला ?
हाम्रो विधानमा जुन बहुमत र अल्पमतको कुरा भयो । त्यो नभईदिएको भए हुन्थ्यो । विधानमा बहुमत र अल्पमतको कुरा हुँदा पार्टी बलियो हुन सक्दैन । विधान चाहिँ सर्वसम्मत रुपमा नै नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिबाट पारित भएको भए राम्रो हुने थियो । तर, विधानको सन्दर्भमा हेर्ने दृष्टिकोण फरक भएकोले त्यस्तो भयो । आउने दिनमा त्यस्तो हुँदैन भन्ने विश्वास लिऔं । हाम्रो अनुशासन समिति न्यायिक समिति हो । निर्वाचन समिति न्यायिक समिति हो । त्यसै गरेर नियमावली निर्माण समिति पनि न्यायिक समिति भएकोले यसमा को को बस्ने भनेर पनि हामीले सर्वसम्मत रुपमा निर्णय गर्न सक्दछौं । 

यसको निर्णय पनि सर्वसम्मतिको आधारमा गर्ने र केन्द्रीय समितिबाट पनि सर्वसम्मतिले पारित गर्न सकियो भने पार्टी एक ढिक्का हुनसक्ने वातावरण सिर्जना हुनसक्छ । होईन भने सबैले आफ्नो अस्तित्व खोज्ने अवस्था सिर्जना हुनसक्छ । त्यस्तो अवस्था सिर्जना भयो भने पार्टीभित्र एकताको सन्देश बाहिर जान सक्दैन र त्यसले सरकारको काममा प्रतिपक्षी भूमिका समेत निर्बाह गर्न सकिँदैन । 

१ वर्ष अघि नै नेताहरुलाई महाधिवेशन लागिसकेको देखिन्छ । यसरी महाधिवेशन आउनु पूर्व नै नेताहरुलाई महाधिवेशन लागेर ध्रुवीकरण बढ्दै गयो भने यसले कस्तो नकारात्मक असर निम्त्याउला ?

अब नियमित महाधिवेशन आउन १० महिना मात्रै बाँकी छ । अब सदस्यता नवीकरण गर्ने समयमा नै हामीले नयाँ संरचना अनुसार क्रियाशील सदस्यता सबै सर्वसम्मतिको आधारमा निर्णय गर्ने हिम्मत गर्नुपर्छ । यस्तो गरियो भने यसले पार्टी भित्रको एकतालाई मजबूत बनाउने काम गर्दछ । त्यसो नगरी क्रियाशील सदस्यमा पनि आफ्नो पक्षकालाई बढी दिने र अर्काे पक्षको लागि कम गराउन तर्फ केन्द्रीत हुने हो भने त यसले पार्टीलाई एकीकृत गराउन सक्दैन। 

सर्वसम्मतिको आदर्श अहिलेको परिस्थितीमा कायम हुन सक्छ ? 
अहिलेको अवस्थामा नेतृत्वले चाह्यो भने सबैलाई एउटै छातामा ल्याउन सक्छ । नेतृत्वले चाह्यो भने अहिलेको गुटको समस्या हल हुन सक्छ । गुट या समूहको निर्माण त अहिले नेतृत्वले नै गरिरहेको छ । जुन जुन समूह केन्द्रमा विभाजित छन्, त्यसैको गुट वडा तहसम्म पुगेको छ । त्यसैले त्यो गुटहरुको राजनीतिक व्यवस्थापन नगरेसम्म यसको समस्या समाधान हुँदैन । त्यसैले वडा तहसम्म नै गुटलाई निर्मूल पार्नुपर्छ । त्यसको लागि संवादमा बस्नुपर्छ । पार्टीभित्र संवाद नगर्ने हो भने यसले अझै विकराल रुप लिन सक्छ । त्यसैले यदि संवाद चलिरह्यो भने आज, एकमहिना पछि वा ४ महिनापछि त काँग्रेस गुट मुक्त काँग्रेस बन्छ, बन्छ । यदि यस्तो भयो भने नेपाली काँग्रेस बलियो हुन्छ । काँग्रेस बलियो भयो भने लोकतन्त्र बलियो हुन्छ । 

बलियो काँग्रेसको लागि आउने दिनमा कस्तो नेतृत्व चाहिन्छ ? 
बलियो काँग्रेसको लागि पुराना पुस्तालाई सम्मानजनक राजनीतिक निरन्तरता र नयाँ पुस्ताको उचित क्षमता अनुसारको जिम्मेवारी दिईनु पर्छ । यस्तो भयो भने मात्रै बलियो काँग्रेस बन्न सक्छ । अहिले भातृ संस्था र शुभेच्क्षुक संस्थाहरुले काँग्रेसबाट यथोचित सम्मान खोजिरहेको छ । त्यसो भयो भने काँग्रेस सिद्धान्त र आदर्शको खडेरीबाट पनि उम्किन्छ र संवाद, सहमति, सहकार्य र एकताको सूत्रबाट सिंगो र बलियो काँग्रेसको निर्माण गर्न सकिन्छ । यही ४ मन्त्रलाई आत्मसाथ गरेर बलियो काँग्रेस बनाउन सक्ने नेतृत्व अहिलेको आवश्यकता हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ