arrow

प्रदेश ३ को राजधानीमा बर्डफ्लु 

logo
प्रकाशित २०७५ चैत १ शुक्रबार
bird-flue.jpeg

हेटौँडा । दुई साताअघि हेटौँडामा हजारौँ कुखुरा मर्नुका कारण बर्डफ्लु नै भएको पुष्टि भएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी आसमान तामाङका अनुसार परीक्षणबाट बर्डफ्लु प्रमाणित भएकाले चारकिल्ला तोकी नियन्त्रणका लागि टोली परिचालन गरी सकिएको छ । 

हेटौँडाका किसान कुलप्रसाद चौलागाईंले पालेका कुखुराको नमूना परीक्षणमा बर्डफ्लुको जिवाणु रहेको पुष्टि भएको हो । दुई साताअघि करौडौँको क्षति हुने गरी दुई दिनको अन्तरालमा हेटौँडाका केही कुखुरा व्यवसायीको हजारौँ कुखुरा मरेका थिए ।

किसानले दिएको जानकारीअनुसार हेटौँडा–७ मा १० हजारभन्दा बढी कुखुरा मरेका थिए । भेटेनरी अस्पतालले एच नाइन भाइरसको सङ्क्रमण भएको पुष्टि गरे पनि बर्डफ्लु नभएको बताएको थियो । 

विशेष परीक्षणमार्फत नमूना पठाइएको १५ दिनपछि बर्डफ्लु भएको पुष्टि भएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरका प्रमुख चेतनारायण खरेलले जानकारी दिए । “मकवानपुरमा बर्डफ्लु देखिएको पुष्टि भयो नियन्त्रणको विषयमा छलपल हुँदैछ”, उनले भने ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारीले यस सम्बन्धमा भर्खरै आपत्कालीन बैठक सम्पन्न भई नियन्त्रणको काम शुरु भइसकेको बताए ।

हेटौँडा उपमहानगरपालिकाको व्यावसायिक कुखुरापालनका लागि पकेट क्षेत्र मानिने क्षेत्रमा किसानका हजारौँ कुखुरा केही दिनको अन्तरालमै सखाप भएपछि चिन्तित बनेका किसान बर्डफ्लु प्रमाणित भएपछि थप चिन्तित बनेका छन् ।

हेटौँडा ८ का किसान सुवर्ण अधिकारीले ऋण गरेर कुखुरा पाल्न शुरु गरेको र अब के हुने हो भन्ने चिन्ताले सताएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ