केन्द्रीय समितिमा देउवाकै कब्जा; निर्वाचितमा देउवाका कति? पौडेलका कति ? (सूचीसहित)
प्रकाशित २०७२ चैत १ सोमबार
13k
Shares
काठमाडौं। नेपाली काँग्रेसको १३औं महाधिवेशनमा भएको निर्वाचनको नतिजा अन्तिम चरणमा पुगेको छ। खुल्लातर्फ केन्द्रिय सदस्यको मत परिणाम अनुसार नेपाली काँग्रेसमा देउवा पक्षले १४ सिट जित्दा पौडेल समुहले ११ सिटमा विजयी भएको छ। शेरबहादुर देउवा सभापति निर्वाचित हुँदा खुल्लातर्फ उनकै बहुमत सदस्य निर्वाचित भएका छन्। खुलामा २५ जना केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा देउवाकै बर्चश्व रहयो। यद्यपि, महामन्त्री र कोषाध्यक्षमा भने रामचन्द्र पौडेल समूहका डा. सशांक कोइराला र सीतादेवी यादव विजयी भए।
उता, आरक्षण तर्फ २२ जना केन्द्रीय सदस्यहरुमा १४ जना देउवा पक्षकै रहेपछी केन्द्रीय कार्यसमितिमा देउवाको स्पस्ट बहुमत पुगेको छ। आरक्षणको महिला, दलित, आदिवासी जनजाती, मधेसी र मुस्लिमको नतिजा अनुसार सभापति शेरबहादुर देउवा पक्षका १४ जना र सभापतिका अर्का प्रत्यासी रामचन्द्र पौडेल पक्षका ८ जना निर्वाचित भए।
प्रदेशको १४ मा भने देउवा पक्षले सातमा अग्रता लिएको छ भने पौडेल पक्षको पनि ७ मा अग्रता रहेको छ। ६४ जनाको निर्वाचित केन्द्रीय समितिमा देउवा आफू सहित ३६ जनालाई लिएर पुग्ने देखिएको छ। पौडेल पक्षमा भने २ जना पदाधिकारी र २६ जना केन्द्रीय सदस्य सहित २८ जना पुग्ने देखिएको छ।