arrow

मुद्दा विहिन काँग्रेस, नेतैपिच्छे धारणा 

logo
मोतीलाल भण्डारी,
प्रकाशित २०७५ चैत ५ मंगलबार
nc-party-office.png

काठमाडौं । लोकतान्त्रिक प्रणालीका निम्ति संघर्ष गरेको देशकै पुरानो पार्टी नेपाली काँग्रेस यतिखेर हरेक राजनैतिक मुद्दाहरुमा आफ्नो धारणा बनाउने र संस्थागत विचारलाई सञ्चार गर्ने विधिबाट च्यूत हुँदै गएको छ । कुनै बेला देशमा ठूला राजनैतिक घटनाक्रम हुँदा काँग्रेसको धारणा हेरेर मात्र अन्य दलहरुले आङ्खनो निर्णय लिन्थे र धारणा बनाउथे, काँग्रेसले गरेको निर्णय देशको र राजनैतिक निर्णय हुन्थ्यो । अहिले विडम्बना नै भन्नुपर्छ, काँग्रेस बैठक बस्छ तर राजनैतिक धारणा बनाउन सक्दैन, नेताहरुको बारेमा धेरै पटक बैठक हुन्छ, के बोल्ने भन्ने संस्थागत विचार सम्प्रेच्छण नै हुँदैन ।

देशमा सरकारले मनलाग्दी आफ्नो निर्णय गर्छ, विद्रोही पक्षले नेपाल बन्द गर्छ, देशद्रोही असल राजनीतिकर्मी भए भन्छ र काँग्रेस नेतृत्व ठीक छ मात्र भन्छ । अन्य नेताहरुको धारणा फरक फरक आउँछ र पार्टी प्रवक्ताले हतारो स्थितमा सभापतिले बोलेको भन्दा फरक प्रतिक्रिया दिन्छन् । के हो काँग्रेस धारणा ? के काँग्रेस साँच्चै कमजोर भएकै हो त ? काँग्रेसमा कसको धारणा र अधिकारीक मान्ने पार्टी सभापतिको मान्ने की ? अन्य नेताको मान्ने की ?, प्रवक्ताको ? 

देशमा रातारात कोसँग के-के सम्झौता हुन्छ काँग्रेस थाहा नै पाउँदैन । खुलेआम विदेशीको हस्तक्षेप हुन्छ, काँग्रेस मुखदर्शक मात्र हुन्छ, देशमा श्रृङ्खलावद्ध घटना घटछन् । काँग्रेसले सडकदेखि सदनसम्म संस्थागत ढंगबाट किनारा लगाउनै सक्दैन, काँग्रेसले पार्टीलाई आन्तरिक लोकतन्त्रमा अब्बल राख्नुपर्ने र अरुको सामू उदाहरणीय बन्नु पर्ने बेलामा पार्टीले कुनै पनि निर्णय समयमा र विधान अनुसार गर्न सक्दैन । भातृ संगठन लथालिङ्ग भताभुङ्ग छन्, यसलाई नियन्त्रण गर्न सक्दैन, लोकतान्त्रिक पार्टीले आफ्नो महाधिवेशन समयमा नगर्ने जस्ता कार्यले काँग्रेसलाई कमजोर मात्र होइन अन्य पार्टीलाई बल पुगेको छ ।

काँग्रेसको कमी कमजोरीको कारण सत्ता पक्षले मनपरितन्त्र चलाएको छ । देशमा यावत विषयका मुद्दाहरुमा किन बोल्दैन काँग्रेस ?, समस्या पार्टी सभापति हो या पार्टीभित्र अरु ? समस्या भागबन्डा हो या अरु ? समस्या नेकपा हो या अन्य पार्टी ? काँग्रेसको समस्या आफ्नो भातृ संगठन हो या अन्य ? के हो त समस्या काँग्रेसको ? 

अब पनि काँग्रेसले तेरो र मेरो भनेर बस्ने की योग्यता र क्षमताको आधारमा जिम्मेवारी बाँडफाँड गरी विद्यमान राजनैतिक समस्याको समाधान खोज्ने आफै भित्र प्रश्न गर्ने बेला आएको छ । काँग्रेस र लोकतन्त्र एक अर्काका परिपुरक हुन् भने निर्णय गर्नबाट किन चुके छ काँग्रेस ? प्रजातान्त्रिक प्राप्तिका लागि दसकौं संघर्ष गरेका नेताहरुले खै त प्रजातान्त्रिक आचरण गरेको ? भातृ संगठन के तपाईका दुस्मन हुन् ? के काँग्रेस सुधार ने.वि.संघमा ३२ वर्ष लगाउने संगठन सुधार हो ? प्रश्न यहाँ उब्जिन्छ । काँग्रेसमा नपाएका भन्दा पटक पटक अवसर प्राप्त गरेका नेताहरुको गुनासो बढी छ ।

दशकौं एउटै व्यक्तिले अवसर पाउँदा पनि पार्टीमा प्रभावकारी काम गर्न नसकेका नेताहरुलाई दोहोर्‍याई तेहर्‍याई जिम्मेवारी दिइराख्नु पर्ने पार्टी नेतृत्वलाई के त्यस्तो बाध्यता छ ? पार्टीमा हजारौं युवाहरु जिम्मेवारी विहिन छन् । यी युवा विद्यार्थीहरुले लोकतन्त्रको लडाइँमा बगाएको रगत पसिनाको कदर हुनु पर्छ कि पर्दैन ? सबैलाई उचित जिम्मेवारी दिएर पार्टीलाई बलियो बनाउँदा पार्टी सभापतिको कद उच्च हुन्छ कि हुँदैन ? यावत प्रश्नहरुमा अल्मलिएको काँग्रेसलाई निकाश दिनु अहिलेको तड्कारो आवश्यकता हो ।

विशेष गरी काँग्रेसले राष्ट्रिय राजनीतिक मुद्दाहरु प्रष्ट्याएर सडक देखि सदनसम्म संस्थागत ढंगबाट प्रस्तुत भएर अगाडी बढ्न सके काँग्रेसको भविष्य देखेर जनता आकर्षण गर्ने पार्टीको रुपमा स्थापित हुन सक्छ । हैन भने प्रतिपक्षीय भूमिकामा अर्धभूमिगत विप्लव समूह वा अन्य क्षेत्रीय दल र दबाब समूह नै अगाडि नआउलान भन्न सकिँदैन । 
भण्डारी ने.वि.संघ पूर्व केन्द्रीय सदस्य हुन् ।



नयाँ