आरविआइको नियम संशोधन : ठूला भारु नेपाल पठाउने, तर फिर्ता नलिने
सुदर्शन अर्याल,
प्रकाशित २०७५ चैत ६ बुधबार
652
Shares
काठमाडौं । भारतले नेपालमा प्रतिबन्ध लगाएको १०० रुपैयाँ भन्दा माथिका भारु नोटको प्रतिबन्ध फुकाउनेबारे आफ्नो नियमावली संशोधन गरेको छ । बुधबार भारतको केन्द्रीय बैंक भारतीय रिजर्भ बैंकले एक विज्ञप्ती जारी गरी नियमावली संशोधनबारे जानकारी दिएको हो ।
संशोधित नियमावली अनुसार भारत र भुटानमा जाने भारतीयहरुले २५ हजार रुपैयाँसम्म एक सय रुपैयाँ भन्दा माथिका नोट लैजान पाउने व्यवस्था गरेको छ । यस अघि नेपालले प्रतिबन्ध फुकुवा गर्न गरेको आग्रहको जवाफमा भारतीय रिजर्भ बैंक(आरविआई)ले एक जना भारतीयले २५ हजार रुपैयाँसम्म १०० माथिका नोट लिएर नेपाल आउन सक्ने भनी लेखिपठाएको थियो। बुधबार आरविआइले विज्ञप्ती जारी गर्दै संशोधन बारे जनाएको हो । आरविआइको विदेशी विनिमय प्रवर्द्धन(करेन्सी निर्यात तथा आयात) (संशोधन)विनियमावली २०१९ को दफा ८ को उपदफा १ लाई संशोधन गरिएको हो ।
संशोधित व्यवस्था अनुसार अब ठूला दरका भारु नेपाल आउनेले ल्याउनको लागि बाटो खुलेको छ भने त्यसरी ल्याएको ठूला दरका भारु नेपाल राष्ट्र बैंकबाट आरविआइले साँट्छ कि साँट्दैन भन्नेबारे भने यो विनियमावलीले केही पनि बोलेको छैन । नेपालबाट भारत जानेले पनि ठूला दरका भारु बोक्न पाउने वा नपाउने भन्ने कुरा पनि यो विनियमावलीमा उल्लेख नगरिँदा नेपालमा ल्याएको भारु राष्ट्रबैंकबाट आरबिआइले साँट्नेमा अझै शंका कायमै छ ।
दुई वर्ष अघि भारतले नोटबन्दी गरेको बेलामा नेपालसँग भएको पैसा पनि भारतले अझैसम्म साँटेको छैन । राष्ट्रबैंकसँग रहेको ८६ करोड रुपैयाँ र अन्य नागरिकहरुसँग रहेको समेत गर्दा त झण्डै ३ अर्ब रुपैयाँ भारतले अझै साँट्न मानेकै छैन । त्यसैले अहिले पनि यो दोधारे नियमले समस्या सिर्जना गर्ने आशंका राष्ट्र बैंकको छ । राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले आरविआईले पठाएको पत्रमा नेपाल राष्ट्र बैंकसँग एक सय भन्दा माथिको भारु साँट्ने वा नसाँट्नेबारे स्पष्ट नलेखेकोले फेरि स्पष्टताको लागि पत्र पठाएको जानकारी दिए । शिवाकोटीका अनुसार नेपाल आउनेलाई पैसा दिने तर राष्ट्र बैंकमा त्यो पैसा पुगेपछि राष्ट्रबैंकसँग आरविआइले भने पैसा नसाँटिदिने हो भने त्यसले नेपाल समस्यामा पर्ने भएकोले यसबारे थप स्पस्ट पार्नको लागि नेपालले पत्र पठाइसकेको छ । नेपालले यसरी पत्र पठाएपछि आरविआइले भने नियमावली नै संशोधन भएको ब्यहोरा सार्वजनिक गरेको हो ।
यस अघि पनि आरविआईले दुई वर्ष अघि भएको नोटबन्दीको समयमा नेपालमा भएको ५ सय र १००० को नोट साँट्नको लागि इन्कार गर्दै आएको छ । अहिले पनि स्पष्ट नहुने हो भने राष्ट्र बैंकमा आएर भारु एक सय भन्दा माथिका नोट थोपरिने र यसको कूनै मूल्य नहुने अवस्था आउन सक्छ । त्यसै कारण राष्ट्र बैंकले अहिले नै स्पष्ट गर्नको लागि पत्र पठाएको शिवाकोटीले जानकारी दिए । भारत जाने नेपाली र नेपाल आउने भारतीयलाई समेत यसले समस्या भएको भन्ने गुनासो पछि सरकारले गरेको यस्तो आग्रहमा आरविआईले २५ हजार रुपैयाँसम्म लिएर भारतीयहरु नेपाल आउन सक्ने व्यवस्था गरेको हो ।
तर, भारतले नेपाल राष्ट्र बैंकमा आएको ५ सय र दुई सयका नोटहरु सटही गर्छ कि गर्दैन ? भन्नेबारे भने स्पष्ट उल्लेख गरेको छैन । त्यस्तै, नेपालीले २५ हजार रुपैयाँसम्म ५ सय र दुई सयको नोट लिएर भारत जान पाउने कि नपाउने ? भन्नेबारे पनि स्पष्ट उल्लेख गरिएको छैन । शिवाकोटीका अनुसार राष्ट्र बैंकले सो विषयमा स्पष्ट जवाफ माग गरी पुनः पत्र पठाईसकेको छ।