- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
घोराही ।प्रतिनिधिसभा सदस्य शान्ता चौधरी यस पटक माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिँदै छिन् । गत २०७३ सालमा डाँडागाउँ मावि गोग्ली, घोराही–२ मा कक्षा ८ मा भर्ना भएपछि उनको औपचारिक कक्षाको पढाइ शुरु भएको थियो । कक्षा ८ र ९ मा औपचारिक रुपमा नियमित विद्यालय गएर पढे पनि कक्षा १० मा भने नियमित विद्यालय जान सकिनन् । अनि खुला विद्यालयमा भर्ना भइन् ।
उनि यस पटक आफ्नी १७ वर्षीया छोरी विनु चौधरीसँग एसइइको परीक्षा दिँदै छिन् । “यसपालि त म छोरीसँग परीक्षा दिँदैछु ।” उनले हाँस्दै भनिन्, “ममी कसको नम्बर धेरै आउँछ है भन्दै छोरीले जिस्काउँछिन्, मलाई डर लाग्छ ।” उनिले छोरीसँग प्रतिस्पर्धा गर्नुको अप्ठेरो सुनाइन् ।
नियमिततर्फ महेन्द्र मावि तुलसीपुरमा सञ्चालित खुला विद्यालयमा अध्ययनरत चौधरी(सिम्बोल नं ०५८८४५३ भी)को सेण्टर मावि तुलसीपुरमा परीक्षा केन्द्र तोकिएको छ । उनकी छोरी विनुले भने बाल सिर्जनालय सेकेण्डेरी बोर्डिङ स्कूल वसुन्धरा, काठमाडौँबाट परीक्षा दिँदै छिन् । नेकपा संसदीय दलका सचेतक चौधरीले कुरा गर्दै भनिन्, “व्यस्तताको कारण नियमित कक्षा जान पाइन, सानोमा पनि पढ्ने बानी भएन । त्यसैले अहिले मेहनत धेरै गर्नुपरेको छ ।” बाल्यकालदेखि विद्यालय त देखे पनि जान नपाएको र किताब छोए पनि पढ्न नपाएको उनको गुनासो छ । सामाजिक काम गर्दागर्दै राजनीतिमा पुगेकी नेत्री चौधरीलाई पछिल्लो समय पढ्नैपर्ने बाध्यता आइलाग्यो । नेताहरू पढ्दैनन् भन्ने भनाइले उनिलाई पटक पटक घोच्यो र विद्यालयमा भर्ना भइन् ।
विसं २०६४ मा पहिलो पटक समानुपातिकबाट संविधानसभा सदस्य भइसकेपछि विभिन्न समितिमा बस्दा अरू पढेलेखेका सदस्यले घोचपेच गर्न थालेपछि उनिले पढाइको महत्व बुझिन् र पढ्नतिर लागिन्। केही वर्ष स्वाध्ययन गरेपछि औपचारिक शिक्षा र प्रमाणपत्र लिएरै पढाइ पूरा गर्ने रहर लागेपछि अप्ठेरो नमानेरै विद्यालयमा भर्ना भएको उनि बताउछिन् ।
शुरुशुरुमा कक्षा ८ र ९ मा नियमित विद्यालय पनि गइन् । डाँडागाउँ माविमा कक्षामा बसेका र पढेका साना भाइबहिनी घरमा आएर जिस्काउँदा उनिलाई अचम्म लाग्छ । “उनीहरु कसको ग्रेड धेरै आउँछ है, हाम्रो त प्रतिस्पर्धा हुन्छ है” भन्दै हाँस्छन् । उनीहरुको हँसाइले आफूलाई झन् पढ्नु पर्दोरैछ भन्ने सांसद चौधरीलाई लाग्छ ।
शुरुमा स्कुल जाँदा उनिलाई आफ्नै बुबाआमाले समेत विश्वास गर्नुभएन । असी वर्ष कटिसक्नुभएका बुवा हसुलाल र ७५ वर्षीया आमा कुन्तीले शुरुमा त “विद्यालय नै नजाने मान्छेले पनि किन पढ्न कस्सिएको होला, नचाहिने काम गर्ने ?” भन्थिन् रे । पछि नियमित विद्यालय जाने पढ्ने गरेको देखेपछि विश्वास गरेको उनि सुनाउछिन्। “शुरुमा विद्यालय जाँदा, तँलाई साना केटाकेटीले जिस्काउँदैनन भनेर बुवाआमाले सोध्नुहुन्थ्यो”, उनले भनिन्, “अब त मेरा भाइका साना छोराछोरीलाई शान्ता फुपूले जस्तै पढ्नुपर्छ भनेर सिकाउनुहुन्छ ।” नेत्री चौधरीले पढाइप्रति मोह देखाउन थालेपछि उनिका बुबाआमा आफूहरुले छोरीलाई पढाउन नसकेकामा पछुतो मान्नुहुन्छ ।
सांसद चौधरी घरमा आनन्दले पढ्न पाउदिनन् । “माननीय भन्छन्, जिल्लामा हुने हरेक सानाठूला औपचारिक कार्यक्रममा सबैले सम्झिन्छन्”, उनले भनिन् “गएन भने पनि जनताले बोलाएको ठाउँमा आउँदिन भन्छन्, त्यसैले म नकार्न सक्दि । गयो भने पढ्ने समय पाइँदैन ।” उनिले पछिल्लो एक हप्तायता औपचारिक कार्यक्रममा जान छाडेकि छन् ।
अब परीक्षालाई ध्यानमा राखेर भाषण गर्ने कार्यक्रममा जान छाडेको उनिले बताइन् । उनि राति पढ्न गाह्रो भएपछि प्रायः बिहान र दिउँसो पढ्छिन् । “रातिसम्म धेरै बस्न सक्दिन । पूरा समय सुत्नुपर्छ भन्ने लाग्छ, त्यसैले छिट्टै सुत्छु । बिहान छिटो उठेर पढाइ थाल्छु ।” उनिलाई जति सक्यो धेरै ग्रेड ल्याउने ध्याउन्न छ । उनिलाई अरु सबै कामभन्दा पढ्ने काम सबैभन्दा गाह्रोजस्तो लाग्छ तर पनि यही गाह्रो काम गर्न उनि कस्सिएकी छन् ।
उनिलाई सबैभन्दा सजिलो नेपाली र सामाजिक विषय लाग्छ भने गणित र विज्ञान अप्ठेरो लाग्छ । अङ्ग्रेजीमा त उनि बोल्न सक्नुहुन्छ तर व्याकरण मिलाएर लेख्न भने अप्ठेरो लाग्छ । एसइइपछि माथिल्लो कक्षामा ग्रेडअनुसारको विषय छान्ने उनिको धोको छ । जसरी भए पनि पढाइ भने नछाड्ने उनि बताउछिन् । अठ्तीस वर्षीया चौधरीलाई सकभर स्नातकोत्तर अझ विद्यावारिधि गर्ने धोको छ । रासस