बुटवलमा अपाङ्गता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण

प्रदीप आचार्य, प्रकाशित मिति : २०७५ चैत ११ सोमबार

बुटवल। बुटवल उपमहानगरपालिकाले नगरका अपांगता भएका व्यवक्तिहरुलाई परिचयपत्र वितरण सुरु गरेको छ । उपमहानगरले अपांगता परिचयपत्र कार्यविधि–२०७५ जारी गरेसंगै परिचयपत्र वितरण सुरु गरेको हो ।

सोमबार एक समारोहका बीच उपप्रमुख तथा अपांगता नगर समन्वय समिति संयोजक गुमादेवी आचार्यले बुटवलका तीन जना अपांगता भएका बालबालिकालाई परिचयपत्र वितरण गर्दै उक्त कार्यको शुभारम्भ गरेकी थिइन् ।  त्यस अवसरमा संयोजक आचार्यले अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन र अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिलाई अझ व्यवहारिक एवम् प्रभावकारी बनाउने गरि बुटवल उपमहानगरले कार्यविधि बनाएको बताइन् ।

संघीय सरकारको अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन–२०७४ का आधारमा बुटवलले नगर सरकारको कार्यविधि बनाउँदै समावेशीकरण तथा मूल प्रवाहीकरण शाखा मार्फत परिचय पत्र वितरणको काम सुरु गरिएको उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए ।

त्यसअवसरमा बुटवल उपमहानगरपालिका–५, का १२ वर्षीया सोनाज वानु, बुटवल–३ का चार वर्षीय देवांशराज कसजू र बुटवल–५, का सात वर्षीय आयान खानलाई अवस्थाका आधारमा परिचय पत्र वितरण गरिएको थियो । उपमहानगरले परिचय पत्र अपांगताको अवस्था बमोजिम रातो, निलो, पहेँलो र सेतो गरि चार रंगका परिचय वितरण गर्ने छ ।

यस्का लागि वडा कार्यालयको सिफारिससहित तोकिएको ढाँचोको फारम भरेर उपमहानगरको सम्बन्धित शाखाले प्रत्येक सोमबार यस्तो परिचय पत्र वितरण गर्नेगरि तालिका तय गरिएको समावेशीकरण तथा मूल प्रवाहीकरण शाखाका सदस्य सचिव दामोदर ज्ञवालीले बताए ।

उपमहानगरका उपप्रमुख गुमादेवी आचार्यको संयोजकत्वमा गठन भएको समन्वय समितिमा सदस्यहरुमा विद्यालयका तर्फबाट नवीन औद्योगिक माविका प्रअ प्रेमबहादुर बस्नेत, अन्य संघसंस्थाहरुका तर्फबाट राष्ट्रिय अपांग महासंघ पाँच नम्बर प्रदेशका सदस्य सावित्रा घिमिरे, इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिलबहादुर मल्ल, शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र बुटवल–१२ का डा. राजिव केसी रहेका छन् ।

यस्तै सुस्त मनस्थिति बालविद्या मन्दिरका अध्यक्ष लोकनाथ भुषाल, नयाँ जीवनका लागि हातेमालो कार्यक्रमका प्रमुख मन पाण्डे, प्रदेश स्तरीय बहिरा तथा सुस्त श्रवण संघका महासचिव पिताम्बर लम्साल तथा कार्यपालिकाका महिला सदस्य उक्त समन्वय समितिमा सम्मिलित रहेका छन् ।

बुटवल उपमहनगरमा विभिन्न अवस्थाका गरि करिब एक हजार सात सय जति अपाङ्गता भएका व्यक्तिहरु रहेको अनुमान गरिएको छ । बुटवलका सबै १९ वटै वडाहरुमार्फत यी सबैको तथ्यांक संकलनका कामसमेत भइरहेका छन् ।

कस्तालाई कस्तो परिचयपत्र ? व्यक्तिको शारीरिक वा मानसिक प्रणालीहरूमा भएको कार्यगत विचलनका कारण अरूको सहारा लिएर पनि दैनिक जीवन सम्पादन गर्न नसक्ने अवस्थाका व्यक्तिहरू, तीव्र बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू, पूर्णरूपमा श्रवण–दृष्टिविहीन व्यक्तिहरू तथा आफैँ हलचल गर्न नसक्ने गरी पूर्णरूपमा अशक्त भई अपाङ्गता भएका व्यक्तिहरूलाई ‘क’ वर्गको अपाङ्गताको परिचयपत्र वितरण गरिनेछ ।

यस्तै निरन्तर अरूको सहयोग लिएर मात्र दैनिक जीवन सम्पादन गर्न, आवागमन गर्न, सञ्चार गर्न, लेखपढ गर्न सक्षम हुने व्यक्तिहरू, पोलियो वा अन्य कारणले शरीरको तल्लो भाग पूर्ण सक्रिय नभई वा मेरुदण्डमा चोट वा पक्षाघात भई वा मांशपेसी विचलन भई वा मस्तिष्क पक्षाघात भई कम्मरभन्दा मुनिको भाग क्रियाशील हुन नसकी ह्विलचियरको प्रयोग गर्नुपर्ने अवस्थाका व्यक्तिहरू, दुवै हातको पाखुरामुनिको अङ्ग नभएका वा नचल्ने, कम्मरभन्दा मुनिका अङ्ग नभएका वा नचल्ने व्यक्तिहरू, दुवै खुट्टा पूर्ण क्रियाशील नभई बैसाखीको प्रयोग गर्ने व्यक्तिहरू, पूर्ण दृष्टिविहीन व्यक्तिहरू, बहिरा व्यक्तिहरू, दैनिक जीवन सम्पादन आफैँ गर्न सक्ने तर सिकाइमा समस्या भएका बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू, निरन्तर अरूको सहयोग लिइरहनुपर्ने बहुअपाङ्गता भएका व्यक्तिहरूलाई, ‘ख’ वर्गको परिचयपत्र उपलब्ध गराइनेछ ।

कृत्रिम अङ्गको प्रयोग वा सहायक सामग्रीको प्रयोगबाट दैनिक जीवन सम्पादन आफैँ गर्नसक्ने, पोलियो भई घुँडामुनिको अङ्गमा मात्र प्रभाव परेको, स्वतन्त्र रूपमा हिँड्डुल गर्नसक्ने शारीरिकरूपमा अपाङ्गता भएका व्यक्तिहरू, हत्केलाभन्दा मुनिका कम्तीमा बूढीऔँला र चोरऔँला नभएका तथा कुर्कुच्चाभन्दा मुनिको भाग नभएका, मेरुदण्डमा समस्या भई ढाड कुप्रिएको, सिकाइमा ढिला भएका बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू, श्रवणयन्त्रको प्रयोगबाट मात्र सुन्नसक्ने सुस्त श्रवण व्यक्तिहरू, शल्यक्रियाबाट स्वरयन्त्र झिकी घाँटीको नलीबाट मात्र बोल्नसक्ने व्यक्तिहरू, तीव्र भकभके व्यक्तिहरू, तीन फिटमुनिका पुड्का व्यक्तिहरू, चस्मा र श्रवणयन्त्र दुवै प्रयोग गर्ने श्रवण–दृष्टिविहीन व्यक्तिहरू, लेन्स वा म्याग्निफायरको प्रयोगबाट मात्र पढ्नसक्ने न्यून दृष्टियुक्त व्यक्तिहरू, समूह ‘ग’ का अपाङ्गता वर्गमा पर्दछन् ।

शारीरिक अङ्गहरूमा सामान्य विचलन भए तापनि दैनिक जीवन सम्पादनमा कुनै कठिनाइ नहुने, हात वा खुट्टा केही छोटो भएका, ठूलो अक्षर पढ्नसक्ने, न्यून दृष्टियुक्त व्यक्तिहरू, हत्केलामुनिका कम्तीमा बूढीऔँला र चोरीऔँला भएका, खुट्टाको औँलाका भागहरू नभएका, श्रवणयन्त्र लगाई वा नलगाई ठूलो आवाज सुन्ने तर बोली स्पष्ट भएका सुस्त श्रवण व्यक्तिहरू, स्मरणशक्ति ज्यादै कम भई सिकाइमा कठिनाइ हुने बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू ‘घ’ वर्गमा पर्दछन् ।

नयाँ