महासंघका पूर्वअध्यक्ष वैद्यले भने 'पर्यटनमा लगानी गर्नुस्, सम्भावना राम्रो छ'
प्रकाशित २०७५ चैत १५ शुक्रबार
647
Shares
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष सुरज वैद्यले पर्यटन क्षेत्रमा लगानी गर्न विदेशी लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । शुक्रबारदेखि राजधानीमा सुरु भएको नेपाल लगानी सम्मेलनमा बोल्दै पूर्व अध्यक्ष वैद्यले पुरातात्वविक सम्पदा, पुराना कलाकौशल संसारकै १० मध्ये आठ अग्ला हिमशृङ्खला नेपालमै रहेकाले पनि पर्यटन क्षेत्रमा लगानी गर्दा सम्भावना राम्रो रहेको जानकारी दिए ।
लगानी बोर्डले संयोजन गरेका अरुण तेस्रो आयोजनाको निर्माण शुरु भएको, होङ्सी शिवम् सिमेन्ट उद्योग सञ्चालनमा आइसकेको तथ्य पेश गर्दै हालै मात्र २०० मेगावाट क्षमताको सौर्य परियोजना, ८५ किलोमिटर लामो पोखरा–मुक्तिनाथ केबलकारको विस्तृत परियोजना प्रतिवेदन तयारीका क्रममा रहेको बताए। विदेशी लगानीका एनसेल, युनिलिभरजस्ता बहुर्राष्ट्रिय कम्पनीले नेपालमा उच्च मुनाफा हासिल गर्ने गरेको भन्दै उहाँले सरकार र निजी क्षेत्रले प्रस्ताव गरेका ७७ वटा परियोजनाबाट समेत उच्च प्रतिफल लिन सकिने प्रष्ट पारे ।
सम्मेलनमा आयोजनाको प्रस्तुतीकरण गर्दै अर्थमन्त्रालयका सचिव लालशङ्कर घिमिरेले सडक सञ्जाल, रेलवे, ऊर्जा, कृषि तथा पर्यटन क्षेत्रमा निर्धक्कसँग लगानी गर्न सकिने बताए । उनले दोहोरो करसम्बन्धी झन्झट हटाउन ११ देशसँग दोहोरो कर उन्मुक्ति सम्झौता भएको र हालै मात्र बङ्गलादेशसँग सोसम्बन्धी सम्झौता गरिएको बताए । सरकारले नेपाललाई सन् २०३० भित्र मध्यमस्तरीय आय भएको मुलुकका रुपमा परिणत गर्ने लक्ष्य राखेको उल्लेख गर्दै उनले युवा जनशक्ति, सहज बजारको पहुँच तथा न्यून आय भएका मुलुकले पाउने अन्तर्राष्ट्रिय सुविधाका कारण पनि नेपाल लगानीका लागि सहज स्थान भएको बताए ।