arrow

अपंगता परिचय पत्र वितरण : सिंहदरवारको अधिकार गाँउमा आएको महसूस

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ चैत १८ सोमबार
apanga2.jpg

स्याङ्जा । संघीय संरचना निमार्ण सगै तिन तहको निर्वाचन पछि फरक क्षमता भएका व्याक्तिलाई दिईने परिचयपत्र वितरण कार्य रोकिएको थियो । जिल्लाबाटै वितरण गर्ने वा स्थानीयतहलाई वितरणका लागि दिने भन्ने विषयको टुङ्गो नलागेका कारण लामो समय सम्म अपाङ्ग परिचयपत्र रोकिएको हो । स्थानीयतहलाई अपंगता परिचयपत्र वितरणको जिम्मेवारी आए सगै वालिङ नगरपालिकाले परिचयपत्र वितरण कार्य शुरु गरेको छ । परिचयपत्रको लामो पर्खाइमा बसेका फरक क्षमता भएका व्याक्तिले वालिङ नगरपालिका बाट परिचयपत्र पाउन थालेका छन् । पहिलो पटक वालिङ नगरपालिका भित्रका १२ जना अपंगता भएका ब्यक्तिहरुलाई नगर प्रमुख दिलिपप्रताप खाँणले परिचय पत्र वितरण गरे सँगै यस कार्यको शुरुवात भएको थियो ।  
 
विभिन्न प्रकारका अपंगता भएका नेपाली नागरिकहरुको पहिचान गरी उनीहरुलाई सेवा सुविधामा पहुँच स्थापित गर्न, त्यस्ता सेवा सुविधाहरुको लागि योजना निर्माण गर्न र स्थानीय तह देखि नै विभिन्न प्रकृतिका अपंगता भएका ब्यक्तिहरुको बर्गीकृत लगत राख्न सहज तुल्याउने, उनीहरुको अधिकारसम्बन्धी ऐन र अपंगता भएका ब्यक्तिको अधिकारलाई  प्राथमिकताको आधारमा सेवा सुविधाहरु उपलब्ध गराउन सहज बनाउने मुख्य उद्धेश्यले अपंगता परिचय पत्र वितरणको थालनी गरिएको वालिङ नगरपालिकाले जनाएको छ । वालिङ नगरपालिका ७ निवासी खगीसरा थापालाई पूर्ण अशक्तताको परिचय पत्र प्रदान गरी अपंगता परिचय पत्र वितरण कार्यको थालनी गर्दै वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले मानवीय समवेदनालाई पहिलो प्राथमिकतामा राखेर हक अधिकार तथा सेवा सुविधा प्राप्तिको अधिकारलाई सम्बोधन गरिने बताए । नेपाल सरकारले दिंदै आएको सेवा सुविधाको अतिरिक्त नगरपालिकाले पनि आवश्यक सहयोगका कार्यक्रम लागू गर्ने विषयमा पहल गर्ने नगर प्रमुख खाँणले बताए ।
 
“भिन्न क्षमता भएकाहरुलाई स्थानीय सरकारको नाताले पनि हामीले सहयोग गर्छौं” नगर प्रमुख खाँणले भने, “मानवीय समवेदनाप्रति सम्बोधन गर्नु हाम्रो दायित्व हो त्यो हामी पूरा गरेरै छाड्छौं ।” फरक क्षमता भएका नागरिक पनि सम्मानका साथ बाच्ने अधिकार छ यस कार्यलाई अपहेलना भन्दा पनि मायारत व्यवहारमा हेर्न परिवार समाजलाई खाँणले आग्रह गरे । परिचय पत्र वितरण कार्यक्रममा नगर उपप्रमुख एवम् समन्वय समिति संयोजक कल्पना तिवारीले अपंगता भएकै कारण कष्टकर जीवन शैली तथा पीडामा रहेका ब्यक्तिहरुलाई राज्यले तोके अनुसारको सेवा सुविधा प्रदान गर्दै जाने बताइन् । नगरपालिकाले प्रत्येक दिन अपंगता परिचय पत्रका लागि निवेदन लिने र प्रत्येक महिनाको ५ गते परिचयपत्र वितरण कार्य गर्ने संयोजक तिवारीले जानकारी दिइन् ।
 
“स्थानीय सरकार आएसँगै पहिलो पटक थालनी गरिएको यो कार्य निरन्तररुपमा रहनेछ” संयोजक तिवारीले भनिन्, “परिचय पत्र वितरणसँगै अपंगता भएकाहरुलाई राज्यबाट प्राप्त हुने सेवा सुविधाहरु लिनका लागि सहजता हुने छ ।” अपंगता समन्वय समितिका सदस्य चिरञ्जीवी सुबेदीले विगतका दिनमा अपंगता परिचय लिन स्याङ्जा जानुपथ्र्यो भने अब स्थानीय तहबाट नै प्राप्त हुने भएकाले पनि सहजता भएको बताए । यो कार्यले बल्ल सिंहदरवारको अधिकार गाँउमा पाएको महसूस अपंगता भएका व्याक्तिले पाएको सुवेदीले बताए ।
 
अपंगता भएका ब्यक्तिको परिचय पत्र वितरण कार्यविधि २०७५ बमोजिम गठित स्थानीय समन्वय समितिले पूर्ण अपंगता रातो परिचय पत्र एक, अति अपंगता निलो परिचय पत्र तीन, मध्यम अपंगता पहेँलो परिचय पत्र छ र सामान्य अपंगता सेतो परिचय पत्र दुई गरी कूल १२ वटा अपंगता परिचय पत्र वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुबेदीले बताए । वालिङ नगर उपप्रमुख एवम् समन्वय समिति संयोजक कल्पना तिवारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सामाजिक विकास अधिकृत पदमप्रसाद पाण्डेले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ