दोलखा । तिब्बत सिमानाको लप्ची गाउँका स्थानिय भुकम्पपछि नाकाबन्दीमा परेको भन्दै बाटो खोल्न माग गर्दै प्रधानमन्त्रीलाइ ज्ञापनपत्र बुझाउन सदरमुकाम आएका छन् । बैशाख १२ , १३ र २९ को भुकम्पपछि पहिरोले खोलाका झोलुङ्गे पुल, फड्के बगाएको र हिड्ने गोरेटो समेत भत्केपछि नाकाबन्दीमा परेको भन्दै उनीहरुले सरकारको ध्यानाकार्षण गराएका छन । भुकम्पले सबैभन्दा बढी क्षेत्र तिब्बतको सीमा क्षेत्रमा भए पनि त्यस क्षेत्रमा खासै सहयोग नपाएको उनीहरुको भनाइ छ । लप्चीका युवा अगुवा कर्मा शेर्पाले भने “दोलखामा भुकम्पका नाममा थुप्रै सरकारी राहत र एनजीओआइएनजीओले राहत र पुर्नबासका लागि काम गरे भन्छन्, तर हाम्रो ठाउँमा सरकारको २५ हजार बाहेक केही पुगेको छैन ।”
प्रधानमन्त्री केपी शर्मा ओली केही दिनमै चीन भ्रमणमा जाँदै छन् भन्ने सुनेर उनीहरुले लप्चीबाट ३ दिन हिडेर चरिकोट आइ पुगे । प्रमुख जिल्ला अधिकारी मार्फत सीमा क्षेत्रमा भएका समस्या समाधान गर्न उनीहरुले बुधबार माग पत्र बुझाए । सञ्चारका कुनै पनि साधनको सुविधा नभएको ठाउँमा हल्लाको भरमा उनीहरु सीमा नाकाका समाधानको एजेण्डा पनि प्रधानमन्त्री भ्रमणको क्रममा उठोस् भन्ने उनीहरुको आग्रह छ ।
भुकम्पपछि नेपालतिरको बाटो पनि बिग्रेको र तिब्बतियन कुती बजार जान तिब्बतको प्रान्तिय सरकारले कडाइ गरेकाले बजारमा किनमेलमा समेत समस्या भएको अर्का स्थानिय लाक्पा शेर्पाको भनाइ छ ।
टिङ्ग्री सहरबाट तातोपानीभन्दा लामाबगर नाका आउन ७१ किलोमिटर नजिक छ । भूगोलको दृष्टिले पनि हाल सञ्चालनमा रहेका केरुङ र तातोपानीभन्दा यो नाकाको सडक सुरक्षित देखिन्छ । दोलखाका लप्चीबासी तिब्बतको छुप्साङ भन्ने बजारमा निर्भर छन् । लप्चीबाट अहिले दुईदेशको सिमाना पुग्न १ घण्टा लाग्छ । सिमानाबाट तिब्बतको बजार छुप्साङ पुग्न अर्को १ घण्टा लाग्छ । छुप्साङसम्म उताबाट गाडी समेत चल्छ । यो तातोपानीभन्दा पुरानो चल्तीको नाका भएकाले सरकारले तत्काल सडक खोलेर पुरानो नाका सुचारु गर्न समेत उनीहरुले अनुरोध गरेका छन ।
नेपाल तर्फ लामाबगरसम्म गाडी पुगेपछि त्यहाँबाट भीर र खोलाको कठिन बाटोका कारण लप्चीबासीको बजार पनि सबै छुप्साङ नै हो । चौरीबाट उत्पादित घिऊ छुर्पी, स्योस्यो, लगायतका वस्तुको बजार तिब्बत नै हो । खाद्यान्न र लत्ता कपडा पनि सबै तिब्बतीयन बजारको भर पर्नुपर्छ ।
लप्ची गाउँ लामाबगर गाविसको वडा नं. १ हो । जुन ठाउँको तिब्बत सिमानासम्म पुग्न लामाबगरबाट सडक विभागले गरेको सर्भे अनुसार ३० किलोमिटर छ । यही सडक निर्माण हुँदा लप्ची गाउँ र तिब्बतीयन बौद्धमार्गीहरुको गन्तव्य छ्योरागेफेलिङ गुम्बा आवत जावत गर्न समेत सहज हुन्छ ।
लामाबगरबाट तिब्बत जोड्ने छोटो नाका ङ्याङ्लुङ हो । सरकारले उत्तरी नाका खोल्ने उच्च प्राथमिकतामा परेको ६ वटा नाका मध्ये लामाबगर पनि परे तापनि ५ वर्षदेखि सडक विभागले सुरु गरेको काम समेत प्रगति हुन नसकेकोमा उनीहरुले आक्रोस ब्यतm गरेका छन । लामाबगरबाट ङ्याङ्लुङ पुग्न करिब १२ किलोमिटर मात्र लाग्छ । यो नाकाको नजिकको तिब्बतीयन बजार फलाक हो । तिब्बततिरबाट पनि ङ्याङ्लुङ नजिकसम्म सडक निर्माण भई गाडी सञ्चालन भइरहेको टासी शेर्पाले बताए ।
लामाबगरबाट करिब ४ किलोमिटर तिब्बततिर गएपछि जुम खोला पुगिन्छ । जुम खोला लप्चीबाट आउने र ङ्याङ्लुङबाट आउने संगम स्थल हो । जुमखोलाबाट लप्ची र फलाक जाने बाटो छुटिन्छ । लामाबगरदेखि जुमखोलासम्म नै सबैभन्दा कठिन भीर छ ।बैशाख १२ को विनासकारी भुकम्पमा परी ९ जनाको ज्यान गएको छ भने एक दर्जन बढी घाइते भएका थिय । ४ जनाको लास समेत फेला पर्न सकेको छैन भने लप्चीमा मृत्यु भएकी २८ वर्षिया फुबु शेर्पा र १ वर्षिय बालक ङिमा शेर्पाको सरकारी अभिलेखमा समेत नभएकाले पीडित परिवारले राहत समेत पाउन सकेका छैनन ।
अत्यन्तै चिसो लेक भएकाले हिउँदमा लुम्नाङ र वर्षात्मा लप्चीमा उनीहरुको बसोबास हुन्छ । घुम्ती बस्ती भएकाले बालबच्चा पढाउन समस्या भएको भन्दै आवासीय विद्यालयको व्यवस्था गर्न समेत उनीहरुले माग गरे । सरकारले घर बनाउन २ लाख दिने भए पनि आफ्नै दुवै ठाउँमा घुम्ती बस्ती भएकाले आधारभुत विकासको पूर्वाधार सहित दुवै ठाउँमा एकीकृत बस्ती बनाइदिन समेत उनले माग गरे ।माग पत्र बुझ्दै दोलखाका प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले चाँडै मागलाई प्रधानमन्त्री कार्यालयसम्म पुर्याउने आश्वासन दिए । भत्केका झोलुङ्गे पुल निर्माण र गोरेटो बाटो मर्मतका लागि आफूले पहल गर्ने बताए । कठिन भौगोलिक अवस्थाका कारण ढुवानी हुन नसक्दा राहतका सबै प्याकेज पुग्न नसकेको उनले स्वीकारेका छन ।