खलङ्गा । जुम्लाको पातारासी गाउँपालिकाले यार्सा सङ्कलनका लागि पाटन जान विद्यार्थीलाई रोक लगाएको छ । वर्षेनी यार्सा टिप्न जाँदा विद्यालयको पठनपाठन प्रभावित हुने गरेकाले यसपटक यार्सा टिप्न पाटन जान विद्यार्थीलाई रोक लगाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बढथापाले बताउनुभयो ।
गाउँपालिकाले कुनै पनि विद्यार्थीलाई यार्सा टिप्ने काममा नलगाउन अभिभावकलाई सचेत गराएको छ । अधिकृत बढथापाले यार्सा टिप्न विद्यार्थीलाई पाटन लैजाने चलनलाई निरुत्साहित गर्न अभियान नै थालेको बताउनुभयो । विद्यार्थी यार्सा टिप्न जाँदा तीन महीना विद्यालय बन्द हुने गरेका छन् । उहाँले भन्नुभयो, “यहाँको शैक्षिक अवस्थालाई सुधार्न विद्यालयमा पढ्ने बालबालिकालाई पाटन लैजाने चलनमा रोक लगाएका हौँ ।”
यार्सा सङ्कलन गरिने यो समयमा बालबालिकासमेत लिएर अभिभावक पाटन जाने गर्छन् । त्यसका कारण यहाँका विद्यालय खाली र शिक्षक बेकामे बन्ने गरेका छन् । यार्सा टिपाइका कारण विद्यालयमा पठनपाठन प्रभावित हुने गरेकाले गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित सरोकारवालाले विद्यार्थीको शिक्षा र भविष्यप्रति जिम्मेवार बन्न अभिभावकलाई दबाब दिँदै आएका छन् ।
प्रशासकीय अधिकृत बढथापाले भन्नुभयो, “यहाँको शैक्षिक अवस्थालाई सुधार्न विद्यार्थीलाई पाटन लैजाने चलनमा रोक लगाएका हौँ ।” गाउँपालिका अध्यक्ष लछिमाने बोहोराले पाटनबाट यार्सा बेचेर ल्याएको पैसा एकातिर विद्यार्थीको शिक्षामा लगानी नहुने र अर्कोतिर विद्यालयको पठनपाठन पनि प्रभावित हुने भएकाले गाउँपालिकालाई निकै गम्भीर बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी शिक्षा नै जीवनको आधार हो भन्ने मान्यतालाई स्थापित गर्न शिक्षक, अभिभावक र विद्यालयलाई जिम्मेबार बनाउन लागिपरेका छौँ ।”
अध्यक्ष बोहोराका अनुसार बालबालिकालाई पाटन जानबाट रोक्न निकै मेहनत गरिँदै छ, शैक्षिक सचेतना बढाउन ठाउँ–ठाउँमा सडक नाटक प्रदर्शनलाई अभियानकै अङ्ग बनाइएको छ । पाटन नपठाउनेबारे छलफल चलाउन प्रत्येक विद्यालयलाई गाउँपालिकाले परिपत्रसमेत गरेको जनाउँदै उहाँले भन्नुभयो, “तीन महीना पाटन बस्दा रु ५० हजार कमाउँछन् तर नियमित विद्यालय गए भविष्य बनाउने छन् ।” पातारासीका नौ आधारभूत विद्यालयबाट थालिएको शैक्षिक जागरण अभियान आगामी वैशाख १० गतेसम्म चल्ने बताइएको छ ।
गाउँपालिकाले गरेको निर्णय अवज्ञा गरेर पाटन लैजाने अभिभावकलाई के गर्ने भन्ने विषयमा पुनः गाउँ शिक्षा समितिको बैठक बसेर निर्णय गरिने उहाँले बताउनुभयो । वैशाख, जेठ र असार महीनामा यार्सा टिप्न यहाँका बालबालिकादेखि वृद्धवृद्धासम्म पाटन जाने चलन छ । अभिभावक काखको बच्चा बोकेरसमेत यार्सा टिप्न पाटन जाने गर्छन् । जुम्लामा पढ्ने समयमा पाटन जाने र पछि महँगो शुल्क तिरेर ट्युसन पढ्ने परम्परासमेत हाबी छ ।