arrow

के हो विकिलीक्स खुलासा, जसले अमेरिकाको कर्तुतलाई विश्वभर छताछुल्ल पार्यो ?

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७५ चैत २८ बिहिबार
wikilics.JPG

काठमाडौं। विकिलीक्सका संस्थापक जूलियन असान्जेलाई बिहीबार ब्रिटेन प्रहरीले गिरफ्तार गरेको छ। शक्तिको भरमा अनेक षड्यन्त्र गरेर साम्राज्यवाद विस्तार गर्ने बानी परेका देशहरुले मिलेर संस्थापक असान्जेलाई अपराधी घोषित गरिएपनि धेरै अझैपनि उनलाई अपराधी मान्नैपर्छ भन्ने तर्कमा सहमत छैनन्। उनले गरेको सबै कामलाई नजिकबाट बुझ्ने गैरराजनीतिक व्यक्तिको लागि उनी कहिलै पनि अपराधि हैनन्। बरु समाजका एक सम्मानित व्यक्तित्व हुन् भन्दा पनि अत्युक्ति नहोला।

जूलियन असान्जेले गरेका कामलाई बुझ्नुभन्दा पहिले उनको जीवनीबारे बुझ्नु आवश्यक हुनसक्छ। सन् १९७१ मा अस्ट्रेलियाको टाउन विलेमा उनको जन्म भएको थियो। उनी सामान्य परिवारमा जन्मिएका व्यक्तिसँग सम्पत्तिको नाममा त्यति साह्रो सम्पत्ति पनि थिएन। उनी पक्राउ पर्नु भन्दा पहिले पनि उनीसँग केवल दुईवटा झोला मात्रै साथमा रहन्थ्यो। एउटा झोलामा उनले आफ्ना पुराना कपडाहरु राख्ने गरेका थिए भने अर्कोमा ल्यापटप। सोही ल्यापटपले उनलाई कपोलकल्पित मुद्दामा जेल मात्रै पुर्याएन उनलाई विश्व चर्चित समेत बनायो।

असान्जेले आफ्नो जीवनकालभरीमा कूल ३७ स्कूलमा भर्ना भएका थिए। उनी १९९० देखि मात्रै उनी कम्प्युटर प्रोग्रामर र सफ्टवेयर डेभलपर बनेका थिए । यसका अलावा ह्याकिङमा समेत उनी माहिर थिए। उनले मेलवर्न विश्व विद्यालयबाट फिजिक्स र गणित विषयमा डिग्री लिएका छन्। 

अमेरिका जस्ता प्रजातान्त्रिक मुलुकहरु जनताप्रति उत्तरदायी हुने भनिएपनि ती देशहरु षड्यन्त्र र जालसाझीले शक्तिमा आएका हुन् भन्ने कुराको सबूत प्रमाण सहित विश्वलाई जानकारी दिएका थिए। विकिलीक्सले जति दस्तावेजहरुको खुलासा गर्यो ती सबै दस्तावेजहरु सामान्य नागरिकले चाहेर पनि पाउन सक्ने थिएनन्। सुरक्षाको मामला भन्दै षड्यन्त्रका फाइलहरुलाई गुपचुप राखेर हतियारको व्यापारको लागि अनाहकमा नागरिकको ज्यान लिने साम्राज्यवादी देशहरुको पर्दाफास गरेको थियो विकिलीक्सले। 

जतिबेलासम्म विकिलिक्सले विश्वमा नै तरंग ल्याउने गरि सनसनीपूर्ण खुलासा गरेको थिएन त्यतिबेलासम्म अमेरिकाले नै आतंकवादलाई पश्रय दिन्छ भन्ने कुरा कसैलाई पनि थाहा थिएन। विशेषगरी विकिलिक्सले अफगानिस्तान युद्ध र इराक युद्धको विषयमा अमेरिकी सेनासँग रहेका गोप्य र सनसनीपूर्ण दस्तावेजको खुलासा गरेपछि असान्जे एकाएक विश्व चर्चित भए र उनी विरुद्ध अनेकानेक आरोप लाग्न थाले। विश्वले उनी विरुद्ध रेड कर्नर नोटिस जारी गर्यो भने अमेरिकाको मुखमा राम राम बगलीमा छुरा हान्ने नीतिबारे धेरै देशले जान्ने मौका पाए। 

असान्जे यस्ता व्यक्ति हुन् उनले विश्वको सूचना प्रणालीलाई हेर्ने दृष्टिकोणलाई परिवर्तन मात्रै गरेनन्। अमेरिकाले देखावटी रुपमा साउदी अरब जस्ता देशमाथि गर्ने व्यवहार र भित्र भित्रै रच्ने षड्यन्त्रको बारेमा समेत पर्दाफास गरेको थियो। सन् २००६ मा असान्जेले विकिलीक्स डटकमको सुरुवात गरेका हुन्। त्यतिबेला उनले विना ट्रेस गरेर इन्टरनेटमा एक सनसनीपूर्ण संवेदनशील दस्तावेजहरु पोष्ट गर्न सकियोस् भनेर उनले यसको सुरुवात गरेका थिए। सन् २०१० मा विकिलीक्सले ठूलो संख्यामा सेनासँग जोडिएको अमेरिकी गोपनीय दस्तावेजहरुलाई सार्वजनिक गरिदिएको थियो। यसका अलावा असान्जेले अफगानिस्तान र इराक युद्धसँग जोडिएको दस्तावेजलाई समेत सार्वजनिक गरेका थिए। सोही घटनापछि अमेरिकाले असान्जेलाई बहिष्कृत गरिदिएको थियो। 

अमेरिकाले बहिस्कार गरेकै वर्ष स्वीडनकी दुई महिलाहरुले असान्जेमाथि बलात्कारको मुद्दा दर्ता गराए। बलात्कार र यौन शोषणको आरोप लगाउँदै उनको विरुद्ध स्वीडनले अरेस्ट वारेन्ट जारी गर्यो। असान्जेले यी आरोपलाई खारेज गरिदिएका थिए। २०१२ मा ब्रिटेनद्वारा स्वीडनलाई प्रत्यार्पण गर्नसक्ने डरले उनी इक्वेडरको दूतावासमा शरणको लागि गुहारमागे र उनी अहिलेसम्म लण्डनमा शरणार्थीको रुपमा रहेका थिए। पछि उनले दूताबासमा बस्दा पनि आफ्नो पुरानो कामलाई निरन्तरता दिएपछि उनलाई दूताबासले पनि सहायता दिन नसक्ने बताएको थियो। 

२०१८ मा उनका वकीलले दूतावासमा उनलाई राखिएको स्थान अमानवीय रहेको आरोप लगाएका थिए। २०१९ मा इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले असान्जेले आफ्नो शरणस्थलको नियमहरु उल्लंघन गरेको आरोप लगाएका थिए। राष्ट्रपतिले शरण नदिएको घोषणा गरेसँगै उनलाई पक्राउ गरिएको हो। 

के के थियो विकिलिक्समा ?
अफगानी युद्धको समयमा विकिलीक्सले गरेको अमेरिकी सेनाको ९० हजार भन्दा बढी दस्तावेजहरुको खुलासा नै अहिलेसम्मको विकिलीक्सको सबैभन्दा ठूलो खुलासा हो। त्यसबाहेक ईराकमा भएको अमेरिकी सैनिकको ज्यादतीको खुलासा पनि सबैभन्दा ठूलो खुलासा भित्र पर्दछ। यसमा तालिवानको नेताहरुलाई पक्राउ गर्ने बाहानामा कति नागरिकहरुलाई कस्तो ज्यादती गरेर मारियो ? भन्ने विषयमा विकिलीक्सले खुलासा गरेको थियो। 

लीक भएको दस्तावेज द वार ग्लास नामबाट पोष्ट गरिएको रिपोर्टमा सन् २००४ देखि २००९ सम्म अफगानिस्तानमा भएको अमेरिकी युद्धको गोपनीय जानकारी सामेल छ। दस्तावेजमा अमेरिकी अभियानहरुको योजना सूत्रसँग भेटिएको खतरा सम्बन्धी रिपोर्ट राजनीतिज्ञहरु र सेना अधिकारीहरुको बैठक तथा विद्रोहीहरु र आतंकवादीहरुको योजनाको बारेमा समेत उल्लेख गरिएको छ। 

अमेरिकी सैन्य दस्तावेजको आधारमा छापिएको एक रिपोर्टका अनुसार पाकिस्तानले अफगानिस्तानमा तालिबानी चरमपन्थीहरुलाई सहयोग गरेको उल्लेख गरिएको छ। अहिले अमेरिकामा पाकिस्तानका राजदूत हुसैन हक्कानीले यो आरोपलाई खण्डन गर्दै भनेका थिए कि पाकिस्तान अफगानिस्तानमा आतंकवाद विरुद्धको लडाईंमा आफ्नो सहयोगी मुलुकलाई सहायता गरिरहेको छ। 

व्हाइट हाउसले समेत यस रिपोर्टको आलोचना गर्दै भनेका थिए कि नेटो र अफगान सैनिकहरुलाई मुश्किलमा पार्न सक्छ र यो राष्ट्रिय सुरक्षाको लागि खतरा हुनसक्छ। अमेरिकी अखबारहरु न्यूयोर्क टाइम्स, लण्डनको गार्जियन र जर्मन पत्रिका डेर स्पिगलले करिब नब्बे हजार सैन्य दस्तावेजहरुको आधारमा यो रिपोर्ट छापेको थियो। रिपोर्टमा नेटो सैनिकहरुको अभियानहरुमा मारिएका अफगान नागरिकहरुलाई समेत आक्रमण गरिएको उल्लेख छ। साथमा नेटो, इरान र पाकिस्तानले पनि तालिबानलाई कसरी सहयोग गरिरहेको छ ? भन्नेबारे पनि उल्लेख गरिएको छ। 

रिपोर्टका अनुसार अफगानिस्तानमा तालिबानको साथमा एयरक्राफ्टहरुमाथि हमला गर्ने वाला मिसाईल थियो र अमेरिकी नौसेना र आर्मीका विशेष अभियान दलहरुको बारेमा जानकारी दिइएको थियो। यस विशेष दलको गठन तालिबानका सबैभन्दा ठूलो चरमपन्थीहरुलाई पक्राउ गर्नको लागि गरिएको थियो। दस्तावेजमा पटक पटक ठूलो संख्यामा चालकरहित विमान या ड्रोनको प्रयोगको समेत कुरा भएको थियो। साथमा यस समस्यामा समेत चर्चा गरिएको थियो कि अमेरिकाले पठाएको तालिबानी इलाकामा नष्ट हुने ड्रोन विमानलाई तालिबानको हातबाट बचाउने ?

रिपोर्टमा आममानिसको हत्याको विवरण समेत उल्लेख गरिएको छ। यो हत्याको कारण सडकमा राखिएको बम र नेटोको गल्तीका कारण भएको कुरा भिडियोमा उल्लेख गरिएको थियो। यसबाहेक पनि इराकमा भएको सैनिक कारबाहीको बारेमा विकिलीक्सले लगभग चार लाख अमेरिकी खुफिया दस्तावेज जारी गरिदिएको थियो। जसमा गोपनीय सैन्य लीकलाई पनि इतिहासमा सबैभन्दा ठूलो मामला मानिएको छ। 

विकिलीक्सले अमेरिकी रक्षा मुख्यालय पेन्टागनको चेतावनीका बावजूद यस्तो दस्तावेज सार्वजनिक गरेको हो। अमेरिकाले यसले अमेरिकासँग अरुदेशको युद्धको रणनीति सार्वजनिक हुने भन्दै सार्वजनिक नगर्न चेतावनी दिएको थियो। यसमा अमेरिकी सेनाले कसरी र कति इराकी नागरिकलाई मारेको थियो रु यो पनि सार्वजनिक गरिएको थियो।  ‘न्यूयॉर्क टाइम्स’का अनुसार, यी दस्तावेजहरुसँग इराकी आतंकवादीहरुलाई ईरानसँग कसरी मिलाएको थियो रु जस्ता अति गोप्य दस्तावेजहरु सार्वजनिक गरिएको थियो। 

विकिलीक्सद्वारा जारी विज्ञप्तिमा अमेरिकाको गुप्त सैन्य दस्तावेजहरुको अनुसार इराकमा मारिएका १ लाख ९ हजार ३२ जना मध्ये ६६ हजार जना भन्दा बढी नागरिक रहेको, झण्डै २४ हजार बागी, १५ हजार १९६ इराकी सरकारका सैनिक र गठबन्धन सेनाका ३७७१ सैनिक शामेल छन्। विकिलीक्सद्वारा यो गोपनीय दस्तावेजहरुलाई जारी गर्नु भन्दा पहिले अमेरिकी विदेश विभागका प्रवक्ता पी जे क्राउलेले भनेका थिए। अमेरिका विकिलीक्सद्वारा गोपनीय सूचना जारी गरेको प्रति भर्त्सना गर्दछ। उनले भनेकि हामीलाई यसकाकारण हामीहरुको सुरक्षामा खतरा आउने चिन्ता समेत छ। उनले सबै मिडियाहरुलाई विकिलिक्सलाई सहयोग नगर्न आग्रह समेत गरेका थिए।  
अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोगमा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ