कम्युनिष्ट शासनमा लुटिएका जनता, शक्ति उन्माद र सम्पति मोहले घेरिएका नेता

माधव चम्लागाई प्रकाशित मिति : २०७६ बैशाख ४ बुधबार

कम्युनिष्ट भनेर झट्ट सम्झिदाँ मानसपटलमा माक्सका सिद्धान्तले ब्याख्या गरेका कम्युनिष्ट तथा सर्वहारा वर्गको नेतृत्व गर्ने रुसी नेता भ्लादिमिर लेलिन तथा चीनका माओ त्से तुङ जस्ता कम्युनिष्टरुको अनुहार झल्झल्ती सम्झिएँ । सायद आम नागरिकले पनि त्यही सम्झिन्छन् होला ।

केही मिनेट अझ गहिरिएर कम्युनिष्ट सम्झिन मन लाग्यो । यस्तै यस्तै अनुहार आउँदा आउँदै नेपालका कम्युनिष्ट भनेर चिनिएका पार्टीका मुख्य ब्यक्तिहरुको अनुहार पनि झल्यास्स मानसपटलमा आयो । अनि मैले हाम्रा देशका सर्वहाराका नेताहरु र ती कम्युनिष्ट राज्यका शासकहरु जो आम सर्वसाधारणले सम्झिनेहरुको अनुहार जुधाएर असमानताका बीच समानता खोज्न थाले । 

ती तस्वीरहरु एउटै लाइनमा मिलाएर राख्न खोज्छु लेलिन, माओ त्से तुङहरु अघि अघि आउँछन्  । प्रचण्ड, केपीहरु पर पर भाग्छन् । जति प्रयास गरे पनि किन हो प्रचण्ड केपीहरु अगाडि ल्याउन नै सक्दिन । एउटै लाइनमा राख्नु त के छेउँछाउँ ल्याउन पनि सकिन ।

अनि दुई तिहाई प्रचण्ड बहुमत भएका सरकारका शक्तिशाली ब्यक्तिहरुका तस्वीरहरु अघि आउनुको साटो किन पछाडि सरेका होलान् भनेर अचम्ममा परिरहेको छु ।

 देशको ढुकुटीको मुल साँचो समातेको बेला नागरिकका लागि गरेका कर्महरु सम्झिरहेको छु । गरिरहेका कामहरु नियालिरहेको छु । सर्वहाराको लागि गरेका निर्णय र दलाल, माफियाको लागि गरेका निर्णयहरु तुलना गरिरहेको छु । एउटा दलाललाई पोस्न चिकित्सा विधेयकमा नागरिकलाई धोका दिँदै राखेका प्रावधानहरु सम्झिरहेको छु । 

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछिको हत्याकाण्डको सरकारी भूमिका सम्झिरहेको छु । ठेक्कापट्टामा कसरी कमिशन आउँछ भनेर गरेका निर्णयहरु अगाडि आइरहेका छन् । अझ भनौं रोम जलिरहँदा निरो बासुरी बनाइरहे जस्तै गरी सपना बाँडेर मस्त निन्द्रामा सुतिरहेको सरकार देखिरहेको छु ।    

कम्युनिष्ट सरकारलाई सम्झिदै गर्दा उनीहरुको सुविधाको लागि गरेको निर्णयको चाङ झन धेरै पाउँछु । अनि उनीहरुको सर्वहाराको नारामा उत्तेजित भएर भोट हाल्ने ती हलो जोत्ने किसानलाई सम्झिन्छु । पसिना चुहाउँदै दिनभर भारी बोक्दा पनि पेटभर खान नपाएको मजदुर जसले उनीहरुलाई भोट दिएको थियो त्यसलाई सम्झिन्छु । 

बिहान उठेर घाँस दाउरा सकेर खाना पकाएर काखीमा ६ महिनाको बच्चा च्याप्दै हसियाँ हतौडा झण्डा निधारमा बाँधेर पुँजीवादी होसियार, कम्युनिष्ट सरकार ल्याउँछौ ल्याउँछौ भनेर नारा लगाउनेहरुको लस्कर भित्र देखिएकी ती महिला सम्झिन्छु । 

भविश्वको सुख खोज्दै जहानछोराछोरीलाई छोडेर ४५ डिग्रीको खाडीमा इट्टा बोक्दै अर्को हातले बुवा यसपाली कम्युनिष्टहरुलाई नै भोट दिनुहोस् है यिनीहरुले देश बनाउँछन् भन्दै फोन गर्ने त्यो पल्लाघरे ठुलेलाई सम्झिन्छु । 

जनताको भोट पाएर सरकारको बागडोर समाल्दै गर्दा देश बनाउन यिनीहरुले गरेका निर्णयहरु लस्कर लाग्छ र ती माथिका ठगिएका अनुहार पुनः सम्झिन्छु ।

सर्पको खुट्टा सर्पले देख्छ भने झैं बाबुराम भट्टराईले यो सरकार प्रमुख केपी ओली र पुष्प कमल दाहाल प्रचण्डलाई लक्षित गरी दिएको अभिब्यक्ति ‘कम्युनिष्ट सरकार अहिले कमाउनिष्ट भएको छ’ भन्ने वाक्य अगाडि आएको छ । 

बन्दुकको बलमा चप्पल पडकाउँदै शहर छिरेका कम्युनिष्टका नेताहरुको जिन्दगीमा आएको आर्थिक परिर्वतन देखेर सर्वहारा बर्गका ब्यक्तिहरुले के भनिरहेका होलान् भन्ने यिनीहरुलाई हेक्का छ त ? क्रान्तिबाट देश बदल्न बन्दुक बोकेका लडाकुहरु बन्दुक बिसाएपछि गुजारा धान्न नसकेर बैंशमा घरपरिवार छोडेर खाडीमा पसिना बगाउनुको पीडा के यिनीहरुले अनुभव गर्न सक्छन् त ? कम्युनिष्ट सम्झिँदा यस्ता प्रश्नहरुले मन घोचिरहेको छ ।     

८० प्रतिशत भन्दा बढी कृषक भएको हाम्रो मुलुकमा गरिवीको रेखामुनि रहेका अधिकाशं कृषकको लागि के चाँही गरिरहेका छन् डाढु पुनिउ हातमा हुनेहरुले ? देश भित्रै भविश्य खोज्दै विदेश नजाने कशम खाएका युवाहरु काम गर्ने वातावरण नहुँदा विदेशिएको साथीसँगै गुजारा धान्न गाह्रो भो साथी केही सापटी देन भन्दै लाज पचाएर फोन गरिरहेको अवस्थालाई सुधार्न के चाँही नीति नियम बनायो सर्वहाराको सरकारले ? प्रश्नमाथि यस्ता प्रश्न थपिरहेका छन् ।

ट्यासी डाइभर भन्दै थियो – तेत्रो खर्च गरेर घर गएर सबैलाई भोट हाल्न लगाएर सारै ठूलो गल्ति गरेछु । यो दिन देख्नु पर्यो । मैले थप सोधें – किन नि ? उसले भन्यो – राम्रोसग काम गरि खान पाइएला भनेर सघाएको थिएँ न ट्यासी चलाएर जहानछोराछोरी पाल्न सकिने भो न घर फर्किएर जान सक्छु ।

 ब्यापारीको गुनासो उस्तै छ – बिजनेश गर्ने वातावरण नै छैन पैसा खुवाउन सके जे काम नि हुने नत्र अव सोझो तरिकाले काम छैन । सिस्टमबाट केही काम हुन्न । सोझो तरिकाले बिजनेश गरेर नाफा कमाउन सकिदैन । 
यस्ता समस्या हुँदाहुँदै पनि सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा पोल पोलमा झुन्ड्याउन छोडेको छैन । गोयवल्स शैलीमा सपनाको पहाड देखाएर प्रचारमा उत्रिएको सरकारले  सर्वसाधारणको वास्तविक जीवन परिर्वतन हुने गरी कुनै काम गरेको देखिँदैन ।

सरकारको बिरुद्ध बोले या खेले कहिले पत्रकार त कहिले लेखक जेलमा हाल्न थालेका छन् । त्रासको वातावरण सृजना गरी कब्जाको नीति अवलम्बन गर्न थालेको आभाष भैरहेको छ । 

सरकारी जग्गा आफ्नो नाममा बनाउने, शक्तिको भरमा अनुचित दवाव दिने, सबै क्षेत्र कब्जा गर्ने सोचका साथ अघि बढ्ने, दलाल र माफियाको काममा कमिशन आउने लोभमा काम गर्न उक्सिने,  बिलासितायुक्त रवाफको जिन्दगी बिताउने जस्ता कामहरु तिब्र भएसगै यो कम्युनिष्ट सरकारमाथि नागरिकको असन्तोषको पहाड चुलिएको छ ।

कम्युनिष्टको चरित्रको चित्रण गरेर लेखिएको एउटा कथा कतै पढेको याद आइरहेको छ । त्यो कथाको सार यस्तो थियो –  सर्वहाराको नारा दिएर देशमा क्रान्ति हुन्छ । सबैतिर पुँजीवादीहरु लुटिन्छन् । गाउँदेखि शहरसम्म क्रान्तिकारीहरुले कब्जा गर्दै जान्छन् । 

अन्ततः सत्ता हात पर्छ र क्रान्तिकारीको नेता प्रधानमन्त्री हुन्छ । खाली खुट्टा बन्दुक बोकेर दालमोट चिउरा खाएर लडेका ब्यक्तिहरु सरकारको नेतृत्व गरेसगै केही महिनामा नै उनीहरुको जीन्दगीमा नसोचेको आर्थिक परिर्वतन आँउछ । उनीहरुको गाडी घोडा धन सम्पति यति धेरै भरिपूर्ण हुन्छ । गाउँमा भने उनका बाबुआमाले कुटो कोदालो घाँस दाउरा छोडेका हुँदैनन् । 

सरकारको नेतृत्व गरेको केही महिना पुग्न लागेको हुन्छ झल्यास गाउँ घर, आमा बुवा सम्झिन्छ । आमा बुवालाई प्रधानमन्त्री निवास ल्याउन हुकुम हुन्छ । हेलिकप्टरमा गएर ल्याइन्छ । आमा छोरालाई भेटेसगै खाना खाँदै गफ गर्न थाल्छन् । छोराले आफ्नो प्रगति सुनाउँछ यो सब धन सम्पति मेरो हो । 

अघि तपाई चढेको हेलिकप्टर, गाडी पनि मेरो हो । यी घरमा सबै सम्पति मेरो हो । अन्य धेरै सम्पति मेरो भइसक्यो । छोराको प्रगति देखेर आमा खुशी हुन्छिन् र भन्छिन् छोरा यति धेरै सम्पति रहेछ । गाउँ घरतिरका सबै ठूलाठालुका सम्पति क्रान्तिकारीहरुले लुटिसके यता नि आउलान् जतिसक्दो चाँडो उनीहरुले नभेट्ने गरि लुकाइहाल नत्र तेरो पनि हालत गाउँका ती मान्छेको जस्तै होला । 
हो यो कथामा जस्तै अहिलेका नेताका आमाबुवा, पत्नी, छोराछोरी र आफन्त त खुशी नै होलान् तर सर्वसाधारण उही लुटिएको मानसिकतामा रहिरहेका छन् । यी कम्युनिष्टहरुलाई कसैले त बुद्धि देओस् ।

नयाँ