काँग्रेस महाधिवेशनको परिणाम 'डिजाइन' अनुसार नै आएको अमरेस सिंहको दावी (भिडियो)
शेर बहादुर र शशांक जित्नेगरि 'डिजाइन' भएको थियो
प्रकाशित २०७२ चैत ४ बिहिबार
4.8k
Shares
काठमाडौं। नेपाली राजनीतिमा कैयन पात्रहरु भुमिका अनुसार क्रियाशिल छन्। तर कतिपय पात्रहरु पाएको र देखिने भुमिका भन्दा बढी क्रियाशिल रहेको पनि पाइन्छ। उनीहरुको क्रियाशिलताबारे बेलामौकामा अनेक टिप्पणीहरु पनि हुने गर्छ। आफूलाई प्रभावशाली देखाउने उनीहरुले गर्ने काम र उनीहरु संलग्न क्रियाकलापले पार्ने प्रभावका कारण पनि उनीहरु प्रभावशाली रहेको भान सर्वसाधारणदेखि उच्चपदस्थहरुलाई हुने गर्छ। नेपाली काँग्रेसको महाधिवेशनमा तिनै एक सदावहार पात्र फेरि एकपटक चर्चामा रहे। काँग्रेस महाधिवेशनमा आफूहरुले गरेको 'डिजाइन' अनुसार नै परिणाम आएको दावी गर्ने काँग्रेसकै एक जना सांसद अमरे्श सिंहसँग हाम्राकुरा डटकमले लामो कुराकानी गरेको छ। काँग्रेस महाधिवेशनबाट आफ्नो 'डिजाइन' अनुसारको परिणाम निकाल्न सिंह सहित अरु को को मिलेका थिए? सिंहसँगको कुराकानीको सम्पादित अंशहरुः
प्रश्नः १३ औ महाधिवेशनको परिणामलाई तपाईले कसरी हेर्नु भएको छ?
जवाफः यसलाई मैले सकारात्मक रुपमा लिएको छु। एकताको सन्देश गएको छ। गुटउपगुट समाप्त भएको छ। पाटी एकिकरण पछि शेर बहादुर देउवाजी ओझेलमा पर्नु भएको थियो। अब त्यो सो समेत हटेको छ।
प्रश्नः देखिएको कुरा त यो भयो नदेखिएको थुप्रै कुराहरु छन्? सभापतिमा शेर बहादुर देउवा र महामन्त्रीमा शशांक कोइराला निर्वाचित हुनु भएको छ? यो कसरी सम्भव भयो?
जवाफः यो बडो सकारात्मक कुरा हो। एउटै मात्र गुटको निर्वाचित भएको भए पार्टीमा असन्तुलन हुने थियो। पार्टीमा असन्तोष बढ्ने, गुट उपगुट बढ्थ्यो, फूट्ने खतरा बढ्थ्यो। मिक्स हुदा कसैको जीत भएन। कसैको हार भएन। गुटउपगुट हटेर जान्छ । पार्टीको आन्तरिक लोकतान्त्रिक प्रतिस्पर्धाको अभ्यास हो। कार्यकर्ताले नेता मिलेर जाउन् हामी कुनै पक्ष मान्दैनौ भने महाधिवजेशनमा। मजबुद कांग्रेस यो देशको भबिष्य हो। मजबुद कांग्रेसले लोकतन्त्रको भबिश्य सुनिश्चित गर्छ। यसले कांग्रेसलाई आफ्नो आधार बलियो बनाएर अघि बढ्न सन्देश दिएको छ।
प्रश्नः यस महाधिवेशनमा मधेशको भूमिका के थियो ?
जवाफः मधेशको भूमिका एउटै थियो कि कांग्रेस बलियो भएर आवस।
प्रश्नः मधेश शेर बहादुर देउवा र शंशाक कोइरालाको पक्षमा थियो?
जवाफः जुन परिमाण आएको छ त्यो तराई मधेसको प्रभाव कारण नै आएको छ। प्रदेशको रिजल्ट हेर्दा नि थाहा हुन्छ पुरै ७ प्रदेशमा एउटा यताको अर्को उताको आएको देखिन्छ। त्यसले पनि कही न कही सकारात्मक सन्देश दिएको छ। यसमा पनि हाम्रो भूमिका महत्वपूर्ण रहेको छ। आफ्नै पार्टी भित्रको चुनाव हो। पार्टीलाई संगठन र बिचारको सुदृढीकरण गर्न, पार्टीको जनतामा प्रभाव बढाउन, कसरी मिलेर जाने भन्नेबारेमा यो महाधिवेशनले सन्देश दिएको छ। मिलेर जाँदा कांग्रेसले जहिले पनि सत्ता समाल्दै गएको छ। कांग्रेसमा बिबाद हुदा देशको सबैभन्दा ठुलो पार्टीमा गुट उपगुटमा बिभाजित भइ कमजोर हुँदा बामपन्थी हावी भएका छन्। स्थानीय चुनावको पूर्व सन्ध्या भएको यो महाधिवशेनले सकारात्मक सन्देश दिएको छ। हामी एकजुट होऔ। हामी एक जुट भएर नै यो देशको बिषम परिस्थितिलाई बामपन्थीकरणधबाट रोक्ने जिम्बेवारी नेपाली कांग्रेसको काँधमा छ। आउँदो दिनमा नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्नुपछ। यो संबिधानको कार्यान्वयन गर्नुपर्छ। असन्तुष्ट पक्षसँग बार्ता गरेर समस्याको समाधान गर्नुपर्छ। तथा नेपाल भारतको चिसिएको सम्बन्धलाई सामान्यीकरण गर्ने काम नेपाली कांग्रेसले गर्न सक्छ, गर्नुपर्छ।
प्रश्नः भोट क्रसिङको ट्रेन्ड हेर्दा रामचन्द्र पौडेल र अर्जुन नरसिंहहरु हार्ने पूर्व निर्धारित नै थियो ?
जवाफः राजनीतिमा पूर्व निर्धारित त केही पनि हुदैन। तर पूर्वानुमान हुन्छ। हामी जस्तालाई अनुमान थियो। राजनीति अनन्त संभावनाको खेल हो । मलाई यस्तै परिणाम आउँछ भन्ने पूर्व अनुमान भएकै थियो।
प्रश्नः यही परिमाण आउने कुरामा कतिको गृह कार्यमा हुनुहुन्थो ?
जवाफः पाटीको महाधिवेशनमा यो रिजल्ट ल्याउन मेरो यो सक्रिय भुमिका थियो।
प्रश्नः छिमेकीको शुभेच्छा शेर बहादुर र शंशाकको पक्षमा थियो?
जवाफः यो कुरा थाहा छैन्। यो प्रश्न उहाँहरुलाई सोध्नुहोस। काठमाडौंको राजनीति बजारमा के के चर्चा हुन्छ त्यता नजाउँ, तर एउटा कुरा के हो भने म भर्खर डिल्लीबाट फर्किएको हो। त्यहाँपनि आम बुझाई के छ भने नेपाली कांग्रेस मजबुद हुनुपर्छ। लोकतन्त्र मजबुद हुनुपर्छ। नेपाल र भारतको सम्बन्ध राम्रो हुनुपर्छ। नेपाली जनताले दु:ख पाउनु हुन्न। केही ब्यक्ति र केही पार्टीको अन्तरदन्द्धको कारण नेपाली जनताले दुख पाइरहेको छन्। नेपाल राष्ट्रले दुख पाएको छ। हामी देश बदल्न सक्छौ छिमेकी बदल्न सक्दैनौ। दुबै छिमेकीसग राम्रो सम्बन्ध बनाउनु पर्छ। त्यसमा अहिलेको सरकार नाकाम छ। फेल छ। सरकारको प्राथमिकता हुन्छ की जनतालाई अमनचयन दिने, रोजगारी दिने तर सरकारले कही पनि केही गरेको छैन्। कालोबजारी रोक्न सकेको छैन्। पेट्रोलियम पर्दाथको कालोबजारीमा सरकारको निकाय नै सहभागि छ। सरकारको नेतृत्व गरेकाहरुका छुट्टा छुट्टै बक्तब्य आउछ। एउटा उपप्रधानमन्त्रीका एउटा कुरा अर्को उपप्रधानमन्त्री अर्कै कुरा। दुनियाँमा ६ जना उपप्रधानमन्त्री भएको सरकार कतै पनि छैन्। यो सरकार हो की उपप्रधानमन्त्रीहरुको मन्त्रीमण्डल हो। के को लागि सरकार? सरकारको प्राथमिक एजेण्डा जनता हुनुपर्छ। सरकार न त जनताप्रति जिम्बेवार छ न त राष्ट्रप्रति जिम्वेबार छ। यस सरकारको औचित्य सकिदै गएको छ। आउदो दिनमा नेपाली कांग्रेसको नेतृत्वमा बन्ने सरकारले मात्र यी समस्या समाधान गर्न सक्छ।
प्रश्नः कहिलेसम्म परिर्वतन हुन्छ त यो सरकार? अर्को बर्ष देख्न पाउँछ त यो सरकारले ?
जवाफः चाडै ढल्छ। म जोतिष त हैन् तर अव यो सरकार धेरै दिन जादैन्। अव चाडै नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्छ। हरेक नेपाली जनतामा कांग्रेसको नेतृत्वमा सरकार बनोस र सबै समस्याको समाधान होस भन्ने चाहना रहेको छ। भुकम्पको रेस्क्यु र रिलिफको बेला कांग्रेस नै थियो। पुन निर्माणमा यो सरकारले केही गर्न सकेको छैन्। बिना छाना मुनी जनता बास बिताउन बाध्य छन्। मधेस, पहाड र हिमाल जनजातीलाई समेटेर लैजादा मात्र देशको बिकास हुन्छ। हामी मिलेर गए मात्र राष्ट्रको बलियो हुन्छ। अवको दिनमा देशले बिकासतिर लाग्नुपर्छ। यो सरकारले १ बर्षमा मेट्रो चलाउने र हावाबाट १ बर्षमा बिजुली निकाल्ने जस्ता हावा कुरा मात्र गरेर बसेको छ। जुन पत्याउन नै गाह्रो हुन्छ। यो कांग्रेसको महाधिवेशन सही समयमा सही नेतृत्व चयन भएको छ। आन्तरिक प्रतिस्पर्धामा सफल हुन नसकेकाहरु समेत सबै मिलेर अघि बढ्नु पर्छ।
प्रश्नः सहि नेतृत्व कुरा कुरा गर्नु भयो महामन्त्रीमा निर्वाचित महामन्त्रीले ०६२/६३ सालको आन्दोलनबाट परिर्वतित उपलब्धीहरुलाई समिक्षा गर्नुपर्छ, भन्नुभएको छनी?
जवाफः चुनावमा कसैले केही भने होला त्यो उहाँको ब्यक्तिगत बिचार हो। कांग्रेस धेरै अघि बढिसकेको छ। संघियता, गणतन्त्र लगायतका मुद्दाका कांग्रेसले निर्णय गरिसकेको छ। काँग्रेसको आधिकारिक निर्णय नै यही हो। समावेसी, लोकतन्त्र, संघियता, गणतन्त्रकोबारेमा काँग्रेस धेरै अघि बढेको छ। कसैले खोलालाई उल्टो फर्काउन सक्दैन। पानी धेरै बगिसकेको छ। कसैले सो सोच्छ भने त्यसलाई दुस्वप्न भने हुन्छ। अहिले निर्वाचित नेतृत्वले यो कुरालाई पुन निर्णय गर्छ भन्ने लाग्दैन्।
प्रश्नः यो महाधिवेशनले चुनेको नेतृत्व देखेर धर्म निरपेक्ष, संघियता, तथा गणतन्त्रको बिपक्षमा रहेकाहरु उत्साहित देखिन्छन् नी?
जवाफः यी मुद्दाहरुमा काँग्रेसलाई ल्याउने हामीहरु पनि हौ। अझ हिजोको नेतृत्वमा रहनुभएका तत्कालीन सभापति स्व: गिरिजा प्रसाद कोइरालाकै अगुवाईमा संबिधानमा संसोधन गरेर संघियता, गणतन्त्र, तथा समावेसी सिद्धान्त राख्नु भएको हो। यी तमाम कुराहरुलाई अहिलेको नेतृत्वले परिर्वतन गर्छ भन्ने लाग्दैन। म ब्यक्तिगत कुरालाई टिका टिपण्णी गर्दिन्। पार्टीभित्र मतमतान्तर हुन सक्छ तर अहिलेको अवस्थामा केन्द्रीय समितिले यी बिषयहरुमा पुन निर्णय गर्दैन्। अहिलेको सभापतिलाई राम्रोसग बुझेको छु उहाँले यो बिषयमा नयाँ निर्णय गरेर अघि बढ्नु हुन्न।
प्रश्नः सभापतिलाई फेरि नयाँ निर्णय गर्न दवाव त पर्लानी? उहाँका खेमाबाट लडेकाहरुबाट दवाव पर्ने देखिन्छनी? कांग्रेसले चाडो निर्णय गर्यो समिक्षा गर्नुपर्छ भन्नेहरु पनि छन्?
जवाफः मलाई त तेस्तो लाग्दैन्। अन्तर्वार्तामा कस्ले के बोलेको होला त्यतातिर नलागौ। मैले देख्ने कांग्रेसले बोकेको बिचार हो। मैले देख्ने कार्यकर्ताको बिचार हो। हामी गणतन्त्रको पक्षको समर्पित छौ। गणतन्त्र र संघीयता नेपालीहरुको चाहना हो। यो कुरा नेपालीले स्विकारी सकेको छ। राजा एउटा इतिहास हो। इतिहासलाई वर्तमान बनाउन सकिदैन।
प्रश्नः संविधान जारी हुनु अघी संविधानसभाले नै गराएको राय बुझ्ने क्रममा धर्म निरपेक्षको बिरोधको जुन जनमत देखिएको थियो। कांग्रेसको नेतृत्व त्यतातिर जान्छ त? धर्म निरपेक्षताको बारेमा तपाईहरुको भूमिका के हुन्छ? छिमेकीहरुको पनि यस बिषयमा इन्ट्रेस्ट छ भन्ने छ?
जवाफः पाटीको आधिकारिक निर्णय बिना केही लेखिदैन। तवसम्म ब्यक्तिगत बिचारको कुनै अर्थ हुदैन्। पार्टीले आधिकारिक निर्णय गरेर नै अघि बढेको अवस्था हो। नयाँ संबिधानमा स्पष्ट ब्यवस्था भइसकेको छ। ब्यक्तिको आफ्नो आफ्नो धर्म हुन्छ। सबैले निर्वाध रुपमा धर्म उपयोग गर्न पाउनुपर्छ। स्पष्ट ब्यवस्था संबिधान मार्फत भैसकेको अवस्थामा त्यसको बिरोधमा टिका टिपण्णी गर्नु उपयुक्त हुदैन्। अहिलेको नेतृत्व यो बिषयमा निर्णय गरेर जान्छ भन्ने लाग्दैन्। अहिले नै संबिधान संसोधन गरेर यी कुराहरु पुरा गर्नेतिर जान्छ भन्ने मलाई लाग्दैन्। केही ब्यक्तिले केही मुद्दा उठाउँदैमा यी कुरामा कांग्रेस लाग्दैन्। नेपाल जनताको चाहना बिकास हो। शान्ति हो। यस्ता कुराहरुमा भन्दा पनि भएका अन्य समस्याहरु समाधान गरी कांग्रेस अघि बढ्नुपर्छ।
प्रश्नः नेपाल भारत सम्बन्ध अब कसरी अगाढी बढ्छ त?
जवाफः नेपाल भारतको सम्बन्ध नेपाली काँग्रेसले नै सही सलामत राख्न सक्छ अरु पार्टीले सक्दैन्। अरु पार्टीको स्कुलीङ नै कस्तो छ भने बिशेषगरी कम्युनिष्ट पार्टीहरुको, त्यही मार्क्स, लेनिन, स्टालिन र भारतलाई गाली गरेर कम्युनिट पार्टीको स्थापना हुन्छ। उहाँहरुको स्कुलिङ नै त्यही छ। पार्टीको सदस्यता लिनासाथै भारत बिरोधी कुरा गर्नु एउटा गुण मानिन्छ। त्यस्ताले पार्टीको सदस्यता पाउँछ। भारत बिरोधी बनेर नै सदस्यता चालु हुन्छ। हाम्रो पार्टीको स्पष्ट धारणा बिपी कोईरालाको पालोदेखिनै के छ भने हामीले भारत र चाईनासँग राम्रो सम्बन्ध बनाएर राख्नु पर्छ। हाम्रो पार्टी त्यो पक्षमा छ। हाम्रो पार्टीले भारतसँग राम्रो सम्बन्ध बनाउन भुमिका निर्वाह गर्छ। भारतसँग राम्रो सम्बन्ध हुने बित्तिकै नेपाली जनताले जुन दुख पाईरहेको छ त्यो सबै हटेर जान्छ।
प्रश्नः केपी ओलीको भारत भ्रमणले दुई देशबीचको सम्वन्धलाई अझ सुमधुर बनाएको चर्चा छ त?
जवाफः अहिलेसम्मको नेपाली प्रमहरुको भारत भ्रमणमा सबैभन्दा असफल भ्रमण केपी ओलीको हो। खानपान र राजकिय सम्मानले भ्रमण सफल हुँदैन्, ब्यवहारले भ्रमण सफल हुन्छ। एउटा सयुक्त वक्तब्य आउननसकेको कुराले यो स्पष्ट पार्छ। दोस्रो कुरा, ग्राउण्ड रियालीटीमा परिवर्तन नहुँदाखेरि नै देखिन्छ भ्रमण कस्तो थियो भनेर। प्रम गएर फर्किंदाखेरि के परिवर्तन भएको छ त? म त केहि परिवर्तन देख्दिन्। नेपाली जनताहरुले अहिले पनि दुख पाईरहेको छ।
प्रश्नः प्रधानमन्त्री ओलीको चीन भ्रमण कति सफल होला?
जवाफः बार्गेनिङ भइरहेको छ। भारतमा पाएको जस्तो सम्मान चाईनामा पनि पाईयोस। गार्ड अफ अनर देओस। गार्ड अफ अनर पाउनु र सम्बन्ध सुमधुर हुनु दुई फरक कुरा हुन्। त्यसकारणले चाईनासँग पनि यो सरकारले राम्रो सम्बन्ध बनाउन सक्छ भन्ने मलाई लाग्दैन्।
प्रश्नः त्यसो भए तपाइहरु काँग्रेसको नेतृत्वमा सरकार बनाउने गृहकार्यमा लाग्नुभयो?
जवाफः भारतसँगको सम्बन्ध मात्र होईन। नेपाली जनताको दुख हटाउनलाई पनि नेपाली काँग्रेसको सरकार बन्नु पर्छ। नेपाली काँग्रेसले मात्र भारतसँगको नेपाल सम्बन्ध राम्रो बनाउन सक्छ। संविधानको कार्यन्वयन र नेपाल भित्रको समस्या हल गर्न नेपाली काँग्रेसमात्र सक्षम छ र नेपाली काँग्रेसको नेतृत्वको सरकारले मात्र यो सबै पुरा गर्न सक्छ। मेरो बुझाई छ नेपाली काँग्रेसले मात्र नेपाल-भारत सम्बन्धलाई सही ढंगले सही रुपमा अगाडी बढाउन सक्छ। पछिल्लो समयमा आएको जुन तिक्तता छ त्यल्लाई सुमधुर बानउन पनि नेपाली काँग्रेसको नेतृत्व आवश्यक छ।
प्रश्नः सरकारको नेतृत्वको लागि गृहकार्य त गर्ने भन्नुभयो गुटहरुको व्यवस्थापन चाहि कसरी हुन्छ?
जवाफः नवनिर्वाचित सभापतिले नै भनिसक्नु भएको छ की हाम्रा आदरणिय नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलाजीसँग सल्लाह गरेर मात्र अघि बढ्ने। सबैलाई समेटेर र सबैलाई विश्वासमा लिएर काम गर्नु हुन्छ। उहाँले आफै भन्नु भएको छ। मैले त्यस्मा खासै टिकाटिप्पणी गर्न आवश्यक ठान्दिन।
प्रश्नः तपाई पहिला तत्कालिन संस्थापनको मान्छे कसरि अहिले नयाँ समिकरणतिर?
जवाफः एउटा कुरा के भने नी। म हिजोको दिनमा पनि नेपाली काँग्रेस थिए। आजको दिनमा पनि नेपाली काँग्रेस छुँ र भोलिको दिनमा पनि नेपाली काँग्रेस नै रहनेछु।
नेतृत्वले मलाई विश्वास गरेर जिम्मेवारी दिन्छ र म काम गर्छु। हिजोको दिनमा गिरिजाबाबुले मलाई भुमिका-जिम्मेवारी दिनु भो मैले आफ्नो अटुट आस्था राखेर समर्पित हुँदै पार्टीको काम गरें। कृष्ण प्रसाद सिटौलाजीलाई म आज पनि सम्मान गर्छु। हिजोको दिनमा राम्रो सम्बन्ध थियो र आजको दिनमा पनि सम्बन्ध राम्रो नै छ। अहिले मलाई लाग्यो की शेरबहादुर देउवाजीसँगै काम गरेर पार्टीलाई बलियो बनाउन सकिन्छ। देशको समस्या समाधान गर्न सकिन्छ। त्यस्कै लागि उहाँको पछी लागेको हो। म खासमा नेपाली काँग्रेसको पछि लागेको हो।
प्रश्नः त्यसैले सभापतिमा देउवा र महामन्त्रीमा कोईरालालाई समर्थन गरेको?
जवाफः त्यो त मैले मात्र गरेको होईन पुरै कार्यकर्ताहरुले गरेको हो। कार्यकर्ताहरुको मतदानको परिणाम हो। म एक जनाले गरेर भएको त होईन। प्रमुख कुरो काँग्रेस बलियो हुनपर्छ। बलियो काँग्रेस नै नेपालको भविष्य हो। बलियो काँग्रेसले नै नेपालको समस्याको समाधान गर्न सक्छ। हिजोको दिनमा पनि नेपालका बामपन्थीहरु नेपालको समस्या समाधान गर्न सकेन आजको दिनमा पनि सकिरहेको छैन् र भोलिको दिनाम पनि सक्नै छैन्। नेपालमा समस्या नै बामपन्थिहरुको कारणले भैरहेको छ।
प्रश्नः भनेपछि काँग्रेसको महाधिवेशनपछि कम्युनिष्ट घटकहरु तरङगित भएका छन्?
जवाफः बामपन्थिहरुको नेपाललाई कम्युनिष्ट मुलुक बनाउने सपना पुरा हुन सकेन। उनिहरु काँग्रेस भित्र गुट-उपगुट होस, झगडा होस भन्ने चाहन्छन। एमाले र माओवादीका नेताहरुसँग मेरो नि कुरा भइरहेकोछ। उहाँहरुले जस्तो परिणाम खोज्नु भएको हो त्यस्तो परिणाम आएन। एमाले-माओवादीको उच्च नेतृत्वसँग मेरो कुरा भैरहन्छ, महाधिवेशनको दौरान पनि मेरो कुरो भएको थियो। उहाँहरुको चाहना अनुरुप परिणाम आउन सकेन्। उहाँहरुको चाहना कमजोर-बिभाजित-विवादित काँग्रेस थियो। तीनवटै चाहान पुरा नभएपछि उनिहरु आश्चार्यचकित छन्। यो सरकारले दुईवटा उपप्रम नियुक्त गरेकै छ भारतलाई गाली गर्न। उहाँहरुको कामनै भारतलाई गाली गर्नु हो। हाम्रो पार्टीको धारणा के हो भने हाम्रो छिमेकीसँग राम्रो सम्बन्ध हुन पर्छ। हामी कसैकोलागि प्रयोग हुनुहुँदैन्। हामीले आफ्नो बिकास गर्नु पर्छ। लोकतन्त्रको निर्धारित मापदण्डहरुबाट हाम्रो पार्टी बिचलीत हुन चाहदैन्।
प्रश्नः हिन्दु राष्ट्रको पक्षमा काँग्रेस जान्छ? प्रभावशाली नेता खुमबहादुर खड्का पार्टीलाई त्यता लाने अग्रसर देखिन्छनी?
जवाफः पार्टीले निर्णय नगरेसम्म म कुनै टिका टिप्पणी गर्न चाहान्न। ब्यक्तिले के भन्छ म टिका टिप्पणी गर्न चाहान्न। हिन्दुराष्ट्रको कुरा हुने वित्तिकै यसमा भारत सरकारलाई जोडेर हेरिन्छ। भारत सरकारबाट त्यस्तो कुनै अभिव्यक्ती आएको पनि छैन। छिमेकीले शुभेच्छा मात्र दिन सक्छ। तराईमा कहीं पनि धार्मिक आन्दोलन भएको छैन् र अब हुने आन्दोलनमा पनि धार्मिक एजेण्डा प्रवेश गर्ने संभावना देख्दिन। तर मधेशमा अर्को आन्दोलनको संभावना भने नकार्न सकिन्न। यो सरकारले समस्या समाधान गर्ने भए उहिले गरिसक्थ्यो। अबको मधेश आन्दोलन पनि आफ्नो एजेण्डा स्थापित गर्नका लागि हुने हो। सरकार परिवर्तन जनताको एजेण्डा हुनै सक्दैन्।
प्रश्नः काँग्रेस महाधिवेशनमा भारतीय गुप्तचर संस्था 'रअ' को भुमिकाको पनि चर्चा भयो? कुन रुपमा थियो?
जवाफः त्यो जस्ले भन्यो उसैलाई थाहा होला। कस्ले कहाँ नारा लगायो उस्लाई सोध्नुपर्छ। सावित गर्नु पर्योन को कस्को सम्बन्ध कोसँग छ भनेर नत्र जिम्मेवार ब्यक्तिले यसमा टिका टिप्पणी गर्न मिल्दैन्। मलाई भारतियहरु आएर भोट खसाले भन्ने लाग्दैन। मतदान त नेपाली काँग्रेसका कार्यकर्ताहरुले दिएका हुन्। त्यो आरोप लगाउने कल्चरले नेपाललाई कहि पुर्याएन। हामी त्यो भन्दा बाहिर आउनु पर्छ।