arrow

ललितपुरमा रातो मच्छिन्द्रनाथको महास्नान गरिएसंगै रथ निर्माण कार्य सुरु

logo
प्रकाशित २०७६ वैशाख ८ आइतबार
rato-machindranath.jpg

ललितपुर। ललितपुरमा रातो मच्छिन्द्रनाथको महास्नान गरिएसंगै रथ निर्माण कार्य पनि सुरु भएको छ। महास्नान सम्पन्न भएपछि, मूर्तिलाई खटमा राखेर तःबहालको मन्दिर पुर्‍याइएसंगै रथ बनाउने बिधिवत कार्य सुरु भएको छ।

महास्नान गराएकै दिनदेखि सर्बसाधारणलाई मच्छिन्द्रनाथको दर्शन गर्न रोक लगाइएको छ भने योसंगै दशकर्म पूजा पनि शुरु हुन्छ। महास्नान सकिएसँगै ललितपुरको पुल्चोकमा मच्छिन्द्रनाथको रथ बनाउन, ’हाम्वः कि स्वायेगु’ अर्थात् रथका लागि काठको जग हाल्ने काम हुन्छ। रथ निर्माणको जग हाल्न, बाराही, यँवाल र नाइके तःबहालको मन्दिरलाई परिक्रमा गरेर पुल्चाक पुग्छन्। उनीहरुले बलिपुजा सहितको विधि गरेर रथ निर्माणका लागि काठको जग हाल्ने काम गर्छन्।

जग हालेको भोलीपल्ट अर्थात आजदेखि रातो मच्छिन्द्रनाथको रथ निर्माण काम शुरु हुन्छ। आइतबार रथ निर्माण हुने स्थान पुल्चोकमा उपत्यकाका बिभिन्न स्थानबाट जम्मा गरेका काठबाट रथ बनाउने काम सुरु भएको छ। महास्नान गरकै दिन शनिबार रातो मच्छिन्द्रनाथको दश कर्म विधिका लागि आबश्यक सामग्री जुटाउनेहरु र रथ निर्माण गर्नका लागि आबश्यक सामग्री जुटाउने गरी करीब २ सय जति सहभागि भएको गुठी तहसिल कार्यालय ललितपुरले जनाएको छ।

रातो मच्छिन्द्रनाथलाई पञ्चामृतले महास्नान
हरेक बर्षको चैत कृष्ण पक्ष प्रतिपदाका दिन रातो मच्छिन्द्रनाथलाई ललितपुरको लगनखेलस्थित डबलीमा लगेर पञ्चामृतले महास्नान गर्ने परम्परा छ। हिजो महास्नानका लागि रातो मच्छिन्द्रनाथलाई तःबहाल मन्दिरबाट खटमा राखेर  लगनखेलको बसपार्कस्थित  डबलीमा राखेर मन्दिरका पुजारी पानेजुहरुले चार दिशामा बसेर महास्नान गरेका छन्। रातो मच्छिन्द्रनाथलाई गाईको दुध, जल , बाग्मतीको चोखो पानी, घ्यू र महबाट बनाइने पञ्चामृतले महास्नान गराइएको थियो। महास्नानका लागि ललितपुर बुंगमतिबाट सुवालहरुले पनि चाँदीका चार वटा घैलामा पानी ल्याउँछन्।

मच्छिन्द्रनाथलाई महास्नान गरिने पञ्चामृत, २४ वटा माटोको कुलेचामा राखेर डबलीमा पुर्‍याइने गुठी तहसिल कार्यालय पाटनका प्रमुख शैलेन्द्र पोखरेलले जानकारी दिएका छन्। माटोका कुलेचासँगै, काँसको १२ वटा थालमा घ्यू र मह, दुईवटा तामाको घडामा बाग्मतीको पानी, दूध, घ्यू, मह सहितको पञ्चामृत राखेर महास्नान गर्ने स्थानमा पुर्‍याइएको थिाये। महास्नानका लागि प्राप्त पञ्चामृतले रातो मच्छिन्द्रनाथको शीर र शरीर होइन, पाऊमा स्नान गरिने हो। मच्छिन्द्रनाथको पाऊ चाँदिको छ। महास्नानका लागि बिभिन्न स्थानबाट प्राप्त पूजा सामग्री समेत प्रयोग हुनेछ।

रातो मच्छिन्द्रनाथलाई महास्नान गराईँदै गर्दा, दर्शनका लागि ललितपुरकी कुमारी निहीरा बज्राचायलाई पनि लगनखेलस्थित पाटीमा बिराजमान गराइएको थियो। शनिबार रातो मच्छिन्द्रनाथसंगै मिननाथलाई पनि महास्नान गराईएको छ। मिननाथलाई भने टंगल टोलमै रहेको मन्दिर परिसरमा महास्नान गराइएको थियो। रातो मच्छिन्द्रनाथको रथ यात्रका नेपालकै सबैभन्दा लामो रथजात्रा हो। यो जात्रा  छिटोमा २ देखि बढीमा ६ महिनासम्म पनि चल्ने गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ