काठमाडौं । भरखरै सम्पन्न कांग्रेसको १३औं महाधिवेशनपछी पार्टीभित्र अधिवेशनमा भएका गतिविधि र मनोनयन हुने पदाधिकारी एवं सदस्यबारे निकै चर्चा भइरहेको छ । पार्टी सभापति शेरबहादुर देउवाले ७ जना केन्द्रीय सदस्य मनोनयन गरिसकेका छन् । बाँकी पदाधिकारी र सदस्यहरुको मनोनयन भ्रातृसंगठनको निर्वाचन र संसदीय दलको निर्वाचनको टुंगो लागेपछी मात्रै हुने कांग्रेस नेताहरुले बताएका छन् ।
मुख्य गरेर उपसभापति र महामन्त्रीमा बढी चर्चा हुने थालेको छ । उपसभापतिमा तीन जनाको नाम चर्चामा आएको छ । विमलेन्द्र नीधि, खुमबहादुर खड्का र कुलबहादुर गुरुङ । यी मध्ये निर्वाचन अघि शेरबहादुर देउवाले खुमबहादुर खड्कालाई उपसभापति वा महामन्त्री मध्ये एक पद दिने बाचा गरिसकेको बताइन्छ । यद्यपि, पहिले देखि आफ्नै समूहमा रहेका विमलेन्द्र नीधिलाई साइड लगाएर खुमबहादुरलाई उपसभापति बनाउन देउवालाई सकस भएको छ ।
अर्कोतिर, एक समूहले बरिष्ठताका आधारमा कुल बहादुर गुरुङलाई पार्टी उपसभापति दिनु पर्नेमा जोड दिइरहेको छ । नीधि र खड्का दुवैले उपसभापतिमा जोड गरेपछी महामन्त्रीमा नयाँ अनुहारको समेत चर्चा हुन थालेको छ । कांग्रेसका केही नेताले, युवा नेताहरुले सशक्त व्यक्ति भन्दै बालकृष्ण खाँणलाई नै महामन्त्री बनाउन पहल गरिरहेका बताएका छन् । पार्टी सभापति देउवालाई पार्टी विभाजन भन्दा अघिबाटै खम्बाको रुपमा साथ दिँदै आएका खाँण नै उपयुक्त हुने धेरैको सुझाव छ । अर्कोतिर पूर्ण बहादुर खड्काको समेत महामन्त्रीमा चर्चा छ । तर, उनले अहिलेनै यस विषयमा कुनै टुंगो नलाग्ने र यो हल्ला नन् पोलिटिकल हो भनेका छन् ।
शेरबहादुर र खुमबहादुर भेट
विहिबार साँझ खुमबहादुर खड्काले पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेर करिब आधा घण्टा छलफल गरे । दुई नेताबीच पार्टी महाधिवेशनकै सेरोफेरोमा छलफल भएको सभापति देउवाका सहयोगी भानु देउवाले बताए । यद्यपि, खुमबहादुरलाई उपसभापति वा महामन्त्री दिनेमा छलफल भएकोबारे भानुले केही भनेनन् । खड्काका अति निकट एक नेताकाले विहिबारको छलफलबारे आफ्नो कुराकानी नभएपनि यसअघि देउवाले खुमबहादुरलाई उपसभापति दिने भन्ने भद्र सहमति भइसकेको बताए । उनले भने, ‘निश्चित रुपमा उहाँलाई नै उपसभापति दिने भन्ने सहमति भइसकेको छ, अहिले पनि त्यही कुरा भइरहेको छ, मेरो कुरा हुँदा समेत उहाँलाई नै दिने भन्ने कुरा भएको थियो ।’ उहाँलाई दिएनन् भने त्यसपछि हामी आफ्नो तरिकाले लाग्छौं ।
खड्का निकट अर्का नेता मोहन बहादुर बस्नेतले भने उपसभापति र महामन्त्रीको विषय अहिले टुंगो नलाग्ने र त्यसबारे कुराकानी हुन बाँकी रहेको जानकारी दिए । उनले भने, ‘त्यसबारे छलफल भए म तपाईलाई भनौंला ।’ खास कुरा भएकै छैन । कांग्रेस पार्टीभित्र कुनै व्यक्तिबीच भएको गोप्य सहमति खुल्दैन तर, खुलाउनका लागि बहस मात्रै हुन्छ, कांग्रेसकै एक नेताले भने, ‘शेरबहादुर र खुमबहादुरबीच भएको सहमति, गिरिजाबाबु र कृष्णप्रसाद भट्टराईबीच भएको सहमति जस्तै हो, ती दुवै नेता मरेर गए, तर ती दुई बीचको सम्झौताबारे कसैलाई थाहा छैन ।’ बाहिर चर्चामा आएकै व्यक्तिहरुबाट उपसभापति र महामन्त्री छान्नेमा दुई मत छैन ।
मतभेद
कांग्रेसभित्र अहिले देउवा पक्षमा रहेका नेता खुमबहादुर खड्का, कुलबहादुर गुरुङ र प्रदीप गिरी स्थाई सहयोगी होईनन् भन्ने चर्चा छ । बालकृष्ण खाँणका केही समकक्षी र केही अग्रहजहरु समेत उनी महामन्त्री भएर पार्टीको शक्तिशाली पदमा पुगेको देख्न चाहदैनन् । आफु पछाडी पर्ने डरले केही सीमित नेताहरुले खाँणलाई महामन्त्रीमा देख्न नचाहेपनि देउवाका सुभेच्छुकहरु त्यो सुझावलाई पुर्वाग्रही भनिरहेका छन् ।
खाँणलाई महामन्त्री देख्न नचाहनेहरुले खुमबहादुर खड्कालाई महामन्त्री बनाउन चाहीरहेका छन् । यद्यपि, देउवा पक्षका अधिकांश नेताहरु खुमबहादुरलाई कुनै पनि हालतमा कार्यकारी जिम्मेवारी दिन नहुने पक्षमा छन् । देउवा समूहका अस्थाई सहयोगी खुमबहादुरलाई शक्तिशाली बनाउदा उनको समूह बलियो भएर देउवाकै समूह कमजोर हुने धेरै नेताहरुको बुझाई छ । यति सम्मकी अहिले खुमबहादुरलाई उपसभापति बनाउँदा भोली देउवालाई नै चुनौती दिने गरेर पार्टी सभापतिको दावेदारी गर्ने छन् ।
भ्रष्टाचारको मुद्दामा जेल सजाय काटीसकेका र हिन्दुराष्ट्रको महाअभियानमा लागेकाले समेत खुमबहादुरलाई कार्यकारी जिम्मेवारी दिँदा पार्टी र देउवाकै बारेमा नकारात्मक सन्देश जाने देउवाका सहयोगीहरुको तर्क छ । उनीहरुले खड्कालाई उपसभापति र महामन्त्री मध्ये कुनै पनि बनाउन नहुने तर्क गरेका छन् । तत्कालिन काँग्रेस प्रजातान्त्रिकको कार्यवाहक सभापतिको रुपमा समेत जिम्मेवारी निर्वाह गरिसकेको भएकाले उपसभापतिको रुपमा गोपालमान श्रेष्ठलाई मनोनित गर्नु पर्ने पक्षमा पनि केही नेताहरु देखिएका छन् ।
आफ्नो समूहबाट पौडेल पक्षका महामन्त्रीका उम्मेदवार शशांक कोईरालालाई मतदान गराएर देउवा पक्षका महामन्त्रीका उम्मेदवार अर्जुनरसिंह केसीलाई हराएकाले खड्कालाई उनीहरुले अन्तरघाती भन्दै आलोचना गरेका छन् । यद्यपि, खड्का पक्षीय नेताहरुले देउवाले खुमबहादुरलाई नै उपसभापति बनाउने पक्का रहेको बताएका छन् । जसले देउवालाई दोहोरो संकट परेको छ । देउवा आफु पक्षधर नेताहरु र खुमबहादुर पक्षधरको चेपुवामा परेका छन् ।