arrow

बीआरआईको शुरूवातमै साख गिर्दै, ५ देश भए फिर्ता

logo
प्रकाशित २०७६ वैशाख १२ बिहिबार
BRI-project.jpg

काठमाडौं। बिहीवार चीनको महत्वाकांक्षी योजना बेल्ट एण्ड रोड इनिशिएटिभ (बीआरआई)को दोस्रो सम्मेलन चीनमा शुरु हुँदैछ। यो योजनाबारे अन्तर्राष्ट्रिय समुदायले चिन्ता व्यक्त गरिरहेको समयमा चिनियाँ अधिकार यो योजनाको बचाउमा लागेका छन्।

तीनदिनसम्म चल्ने बीआरआई सम्मेलनको उद्देश्य यो योजनालाई प्रचार गर्नु रहेको छ। चिनियाँ राष्ट्रपति सि चिनफिङले अघि सारेको यो योजनालाई ‘प्रोजेक्ट अफ सेन्चुरी’नाम दिइएको छ। यो योजना सन् २०१३ मा अघि सारिएको हो। यसले चीनलाई व्यापारमा एसिया र युरोपसँग जोड्नेछ। साथै मध्यपूर्व, अफ्रिका र दक्षिण अमेरिकासँग जोडिनका लागि नयाँ मार्गको प्रशस्त गर्नेछ।

यद्यपि यो योजनामा दुई वषअघिको जस्तो आकर्षण भने देखिएको छैन। आलोचकले चीनको यो योजना उसको प्रभाव विश्वभर बढाउनका लागि ल्याइएको भन्दै यसको विरोध गर्दै आएका छन्। चीनले ‘आफ्नो ऋणको जाल फैलाउँदै उक्त मुलुकलाई आफ्नो प्रभावमा पार्न खोजेको उनीहरुको आरोप छ। 

चिनियाँ विदेशमन्त्री वाङ यीले भने साता बीआरआई कुनै भू–राजनैतिक टूल नभएको र सहकार्य गरेर अघि बढ्ने स्थान रहेको बताएका थिए। उनले त्यसका लागि सबै पक्षलाई चीनले स्वागत गर्ने उनले भनाइ थियो। बीआरआई सम्मेलन चीनको लागि निकै महत्वपूर्ण रहनेछ। चीन यसम्मेलनबाट अन्तर्राष्ट्रिय समुदाय, आफ्ना नागरिकलाई बुझाउँदै यो योजना सफल गर्ने मनसायमा छ। 

यो सम्मेलनमा चीनले केही द्विपक्षीय सम्झौतामा हस्ताक्षर गर्नसक्ने अनुमान छ। एक विश्लेषक थोमस एडरले चीनको योजनाले चीनको नेतृत्व र चिनियाँ कम्युनिष्ट पार्टीलाई अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो प्रभाव थप विस्तारको लागि सहयोग पुग्ने बताए। यो सम्मेलनमा विश्वका प्रमुख ३७ नेताले भाग लिँदैछन्।

जसमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, इटालीका प्रधानमन्त्री ग्युसेप कोन्टे, बेलायती अर्थमन्त्री फिलिप ह्यामण्ड, पाकिस्तानी प्रधानमन्त्री इमरान खान र १० आसियन मुलुका प्रमुख पनि यो सम्मेलनमा आउनेछन्। अमेरिकाले तल्लो तहका प्रतिनिधि सम्मेलनका लागि पठाएको छ। भारतले भने यो सम्मेलनमा भाग नलिने बताइसकेको छ। 

पहिलो बीआरआई सम्मेलनमा सहभागी भएका तर यसपटक सहभागी नहुने मुलुकमा टर्की एक हो। उसले चीनले यिग्युर मुस्लिममाथि गरेको व्यवहारप्रति असन्तुष्टि जनाउँदै आएको छ। युरासिया ग्रुपका अनुसार पोल्याण्ड, स्पेन, फिजी, श्रीलंका र अर्जेन्टिना पनि चीनको यो सम्मेलनमा सहभागी नहुने भएका छन्। भू–राजनैतिक मुद्दा एक प्रमुख कारण रहेको हुनसक्ने बताइएको छ।

केहीले यो योजनालाई संस्थागत गरेर अघि बढाउन माग गरेका छन्। जसले यो योजनामा पूर्णरुपमा चीनको स्वामित्व नहोस् भन्ने उनीहरुको माग छ। केहीले भने यसमा वातावरणको मुद्दा पनि उठाएका छन्। चिनियाँ कम्पनीले विश्वभर कोइलाको पावर प्रोजेक्ट अघि सारेका छन्। यस्ता योजनाले सन् २०१८ मा चीनको समग्र बाह्य लगानीमा ४२ प्रतिशतको हिस्सा ओगटेको थियो।

यस्तोमा वातावरणविद्हरुले बीआरआईमा कोइलाको प्रयोग नगर्न माग गरेका छन्। यो सम्मेलनभन्दा पहिला चीनलाई यसमा केही सहयोग पुगेको छ। इटाली यो योजनामा सहभागी हुने जी ७ को पहिलो मुलुक बनेको छ। गत मार्चमा अमेरिकाको आलोचनाको बीचमा इटालीले यो योजनामा सहभागी हुने निर्णय गरेको हो। यसै महिना मलेसियाले यसअघि रद्द गरिएको १० अर्ब ७० करोड डलरको रेलको योजनालाई निरन्तरता दिने बताएको थियो।

अहिलेसम्म चीनले १ सय २५ भन्दा बढी मुलुकसँग १ सय ७० भन्दा बढी सम्झौता गरिसकेको छ। सन् २०१३ देखि २०१८ को बीचमा यी सम्झौतामार्फत् चीनले ९० अर्ब डलर लगानी गर्ने निर्णय गरिसकेको छ। चीनले बीआरआईको बचाउका लागि आफ्नो अभियान पनि शुरु गरिसकेको छ। यसै क्रममा केन्या र मेक्सिकोका चिनियाँ राजदूतहरुले स्थानीय सञ्चारमाध्यममा सम्पादकीय प्रकाशित गरेका थिए।

बिहीवार चिनियाँ राष्ट्रपति चिनफिङले बीआरआईबारे एक महत्वपूर्ण भाषण दिनेछन्। तर, यो भाषण यसअघिको जस्तै हुनेछ। उनले बीआरआई कुनै भू–राजनैतिक गठबन्धन र सैन्य प्रभावको लागि नभई आर्थिक सहकार्य तथा सबैलाई समेट्ने प्रयासको रुपमा अघि सारिएको बताउँदै आएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ