- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
‘हामी नयाँ सडक बनाउँदछौं,धेरै बन्दरगाहहरु निर्माण गर्दछौं र सबै प्रकारका मित्रहरुका लागी नयाँ विकल्पहरु खोज्दछौं,यो संस्कृतिको आदानप्रदान हो, हामी हाम्रो धनलाई खर्च गरेर हाम्रो मुटुहरु जोड्दछौं र हाम्रो स्वास्थ्यलाई बलियो बनाउँदछौं । ’ भन्ने गीतको श्रब्य दृश्य बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) शिखर सम्मेलनलाई लक्षित गरी केही दिनदेखी विश्वभरीका थुप्रै सञ्चारमाध्यममा बजिरहेको थियो।
संसारलाई सडक र रेलको माध्यमबाट जोड्दै ब्यापार र विकासका पूर्वाधारलाई अघि बढाउन एशिया र युरोपका देशको सहभागिता सहित सन् २०१३ देखी चीन अगुवाइको प्रयास हो–बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) । अफ्रिकासम्म पुगेको यो अभियानमा हाल १ सय २६ देश आवद्ध छन् ।
बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)को दोश्रो शिखर सम्मेलन हालै मात्र फेरी चीनमा आयोजना भयो । कार्यक्रममा बीआरआई आवद्ध देशका राष्ट्रप्रमुख, सरकार प्रमुख र सरकारका प्रतिनिधिहरु सहभागि भए । उक्त कार्यक्रममा आर्थिक विकासका अलावा कुटनीतिक विषयमा अनौपचारिक साइडलाइन कुराकानीहरु पनि भएका अन्तर्राष्टिय सञ्चारमाध्यमहरुले समाचार सम्प्रेषण गरे । सम्मेलन अवधिभरी डिजिटल सिल्क रोड, स्वच्छ सिल्क मञ्च, हरित मार्ग, समुद्रपार ब्यापार सहकार्य, कुटनीतिक सम्पर्क लगाएतका मुद्दाहरुमा वहस तथा छलफल भए । नेपालको प्रतिनिधित्व गर्दैै राष्ट्रपति विद्यादेवी भण्डारीले शिखर सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै नेपाललाई मध्यम आयको राष्ट्र बनाउन नेपाल सरकार प्रयासरत भएको धारणा राखिन ।
स्थल र समुन्द्री मार्गहरुको उच्तम प्रयोग गर्दै यातायात, विद्युत, दूरसञ्चार, इन्धन पाइपलाइनको सञ्जाललाई बलियो बनाउँदै नयाँ औद्योगिक, ब्यापारीक केन्द्र स्थापना गर्नु यस्को मुख्य लक्ष्य भएको देखिन्छ । यो त्यतिमा सिमित रहँदैन,यसको फैलावट सामरीकतासँग पनि जोडीने छ ।
वितेका केही वर्षहरुमा चीनको यो प्रयासलाई विश्वभरीका थिंक ट्याकंहरुले आ आफ्नै तरिकाले विश्लेषण गरिरहेका छन् ।
पहिलो चरणमा चीन युरेशीया क्षेत्रमा सडक र रेलमार्ग विस्तार गर्न कम्मर कसेर लागेको छ । झण्डै एक हजार वर्ष पहिले प्रयोग भएको सिल्क रोडको विस्तारीत रुप बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) हो पनि भन्ने गर्दछ चीन । त्यसमा उसको सामरीक उद्देश्य र स्वार्थ निहित छ। जतिबेला उँटको प्रयोग गर्दै चीनले आफ्नो ब्यापार गर्दथ्यो ई.पु. १३० ताका हान वशंको शासनमा रेश्मी मार्गका नामले चलेको रुट पनि हो यो ।
विगतमा नेपाल पनि केही हदसम्म निर्यात र आयातकालागी त्यही सिल्क रोडमा समाहित थियो । नेपालका लागि उन र कागजको ब्यापार यसै मार्गबाट भएको थियो । जसलाई रेशम मार्ग भनेर समेत चिनिन्थ्यो । तर सामरिक महत्वका विषयमा केही शकां गर्ने पाटाहरु पनि छन् । जहाँ मध्य एशिया भित्रका इन्धन पाइपलाइन सँगसँगै पाकिस्तान र श्रीलंकामा अवस्थित बन्दरगाहको सैन्य प्रयोगले सम्भावित त्यो शंकाको कुरालाई भविष्यमा पुष्टि गर्न सक्ला। तर नेपालका लागी ब्यापारका अलावा नागरिकको प्रत्यक्ष आय बढाउने पर्यटक भित्र्याउन बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)ले महत्वपूर्ण भूमिका खेल्न सक्छ। तर यसमा खर्च हुने ऋण तथा अनुदानको बारेमा भने प्रष्ट हुनु जरुरी छ ताकि हामी पछि 'डेब्ट ट्याप' मा नपरौं।
बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) क्षेत्रकै प्रयोग गरेर चीन प्रवेश गर्ने पर्यटकको संख्यामा २.३ प्रतिशतले वृद्धि भएको तथ्याकं भेटिन्छ। यसबाट नेपाललाई कति टेवा पुग्न सक्छ, अहिले हामी केवल अनुमान मात्रै लगाउन सक्छौं ।
बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)को विषयमा विश्व बैंकले गरेको एक अध्ययनले विश्व ब्यापारको खर्च वृद्धिलाई सन् २०१९ भित्रै करिव ०.१ प्रतिशतले कमि ल्याउने अनुमान समेत गरेको छ। विश्व अर्थतन्त्रमा चीनको स्वामित्व करिव ३० प्रतिशत देखिन्छ। त्यसैगरी चीनको आयात वार्षिक १२.९ प्रतिशतले बढ्दो छ। बिआरआईको भूमिकाले विकासोन्मुख त्यसमा पनि पूर्वी एशिया देशको कुल ग्रार्हस्थ उत्पादनमा २.६ देखि ३.९ प्रतिशतसम्म योगदान दिएको विश्व बैंकको अध्ययनले देखाउँछ।
चीनले यो महत्वाकांक्षी कार्यक्रमलाई संस्कृतिको पहिचानका रुपमा पनि पटक पटक ब्याख्या गरेको छ। चीनले कैयौं पटक साझेदारहरुसँग भनेको छ –‘यो केवल ब्यापार मात्रै होइन, संस्कृतिको आदान प्रदान पनि हो।’ चीनको यस भनाईले खासगरी भारत जस्ता देशलाई आस्वस्त पार्न खोजेको पनि देखिन्छ। तर भारतले चीन-पाकिस्तान इकोनोमिक्स करीडोरको विरोध गर्दै दोश्रो पटक पनि कार्यक्रममा सहभागिता जनाएन्।नेपालले भने बिआरआई फोरममा कुनै ठोस योजनाकालागी प्रस्ताव गर्न सकिरहेको छैन्, बुढीगण्डकी परियोजना बाहेक।
उता युरोपीय संघमा चीनको ब्यापार त्यति धेरै त छैन तर पछिल्लो दशक यसमा वृद्धी भइरहेको देखिन्छ । एउटा गजबको विषय चाहीं के छ भने युरोपीय संघको ट्रेड ब्लकको कुल सम्पत्तिको एक चौथाई भाग गैर युरोपीय देशको हातमा छ। क्यानडाका कम्पनि र ब्यापारीहरु त्यसको करिव २९ देखी ४२ प्रतिशतका मालिक रहेका छन् । त्यो मध्य चीन २.५ प्रतिशतको मालिक छ । हङकङ र मकाउलाई जोड्ने हो भने करिव ९.५ प्रतिशत हुन जान्छ। युरोपीय संघमा चीनको प्रत्यक्ष विदेशी लगानी ३७.२ विलियन युरो छ। ब्लुमबर्गको एक अध्ययनले युरोपका ४ वटा एयरपोर्ट, ६ वटा बन्दरगाह र १३ वटा ब्यावसायीक फुटबल टिमको शेयर चीनको हातमा छ। बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)को माध्यमबाट ब्यापारलाई सबैभन्दा बढी प्रभाव पार्ने यातायात क्षेत्र हो । बीआरआई सहि अर्थमा कार्यान्वयनमा आएमा भविष्यमा ढुवानीको माध्यमबाट ग्लोबल इन्कम ग्रोथ ०.७ देखि २.९ प्रतिशत सम्म हुन सक्ने वाङ्ग हुवायोको अध्ययनले देखाउँदछ ।
त्यहीं बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) अभियानमा युरोपका २० देशको सहभागिता उत्साहजनक रहेको छ। पछिल्लो पटक इटलीको सहभागीताले चीनलाई थप उत्साही बनाएको छ। यही सिल्क रोडमा समाहित भएको ग्रिसको बन्दरगाहहरुमा चीनले ठुलो लगानी गरेको छ। त्यसैगरी मेसेडोनिया, बोसनीया हर्जगोविना, सर्विया र मोन्टेग्रो जस्ता देशमा पनि चीनले महत्वकासाथ काम अघि बढाएको छ । रुस यो अभियानमा चीनको साथमा देखिन्छ।
गत मार्चमा युरोपीय संघले चीनलाई आफ्नो प्रमुख प्रतिद्धन्दी समेत घोषणा गरेको छ। एक रिर्पोटमा बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)को स्थापनाकालदेखि ४ सय ६० विलीयन डलर लगानी खर्च भइसकेको देखाउँछ। चीनका राष्ट्रपति सी जिन पीङ्गले सम्मेलमा बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)मानव जातीको साझा भविष्य बोकेको योजना भनेर ब्याख्या गर्दै विश्व समुदायलाई आस्वस्त पार्ने प्रयास गरे । बिआरआइ राष्ट्रसंघ पछि अहिलेको शक्तिशाली मञ्चका रुपमा समेत देखा परेको छ। पक्ष विपक्षमा तर्कहरु आइरहेपनि अघी बढिरहेको चीनले एक्काइसौं शताब्दीको यो अवधिमा बिआरआई मार्फत संसारको ध्यान आफूतर्फ खिच्न भने सफल भइरहेको छ।