arrow

दोलखाको मच्छिन्द्रनाथको रथयात्रा समापन : उकालो ओरालोको कठिन रथयात्रा

logo
प्रकाशित २०७६ वैशाख १४ शनिबार
dolakha-jatra.jpg

दोलखा। दोलखाको मच्छिन्द्रनाथको मूर्तिलाई आज रथबाट झिकेर डोकलुङ्गा टोलको मच्छिन्द्रनाथ मन्दिरमा भित्र्याई यस वर्षको रथयात्रा समापन गरिएको छ। हिजो दुङ्गल टोलबाट पिङ्गल टोलसम्म रथयात्रा गराइएको मच्छिन्द्रनाथको मूर्तिलाई आज सांस्कृतिक उत्सवका साथ समापन गरिएको हो। यो जात्रा दोलखामा हरेक वर्ष परम्परागत संस्कृतिको संरक्षण, सम्वद्र्धनका साथ स्थानीयवासीको सक्रियतामा हुँदै आइरहेको छ। 

उकालो ओरालोको कठिन रथयात्रा
यस वर्षको यो जात्रा वैशाख ६ गते शुक्रबार मच्छिन्द्रनाथको मूर्तिलाई दूधमा महास्नान गराएर प्रारम्भ भएको हो। काठमाडौ उपत्यकाका मच्छिन्द्रनाथलाई महास्नान गराएर केही साता पछि मात्र जात्रा सुरु गरिएपनि दोलखामा भने स्नान लगत्तैका दिनमा रथयात्रा सुरु भएको हो। बिभिन्न टोलमा रथलाई पुर्‍याउने क्रममो बुधबार टसिचा टोलबाट ६० डिग्रीको कठिन उकालो बाटो हुँदै माथिल्लो टोलको स्वयम्भू स्तुप अगाडिसम्म रथयात्रा गरिएको थियो।

यस जात्राको प्रमुख र कठिन जात्रासमेत यही दिन वा यसै उकालोमा तान्नुलाई मान्ने गरिन्छ। त्यस्तै १२ गते बिहीबार माथिल्लो टोलबाट ४५ डिग्रीको ठाडो ओरालो बाटो हुँदै दुङ्गल टोलको स्वयम्भू स्तुपसम्म रथयात्रा गरिएको थियो। बर्षेनी दोलखास्थित पुरानो बस्तीमा मच्छिन्द्रनाथको भव्य जात्राको उत्सव हुने गर्छ। जात्रामा संलग्न विभिन्न समुदायका साथसाथै उत्सुकतापूर्वक हेर्ने मान्छेको भीड पनि वरपर त्यत्तिकै हुन्छ।

किंवदन्ती अनुसार दोलखाका राजा उदयदेव र नन्ददेवको संयुक्त शासनकालमा मच्छिन्द्रनाथको जात्रा सुरु भएको थियो।  विसं १५७५ मा थालनी भएको अभिलेख भए पनि यो जात्रा यसभन्दा अगाडि नै सुरु भएको अनुमान गर्ने गरिएको छ। त्यसपछि तत्कालीन राजाले विसं १६८५ मा यो जात्रालाई व्यवस्थित रूपमा सञ्चालनका लागि जग्गाजमिन राखी विभिन्न गुठीहरूको व्यवस्था गरिएको थियो। अलिअलि हुँदै आएको आम्दानी पनि शून्य भएपछि जात्रा सञ्चालनमा कठिनाइ थपिएको छ।

परम्परागत संस्वृतिले आर्थिक अभावको समस्या हुदै आएको छ। स्थानीय कालिञ्चोक युवा क्लबको सक्रियतामा २०५५ सालदेखि भने यस जात्राले निरन्तरता पाउँदै आएको छ। विसं २०६६ देखि दोलखाको मच्छिन्द्रनाथ जात्राको निरन्तरताका लागि ललितपुरका स्थानीय शाक्य परिवारले सहयोग गर्दैआएका छन्। त्यसैगरी २०६७ मा स्वयम्भू चैत्यलाई नयाँ रूपमा स्थापित गरिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ