- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरीले बिद्यार्थीहरुलाई भेटेका छन्। फोर्ब्स पत्रिकाले निकाल्ने बिश्वभरका अर्बपतिको सूचीमा पर्न सफल एकमात्र नेपाली उद्यमी विनोद चौधरीले आफ्नो बिगतको सघर्ष बिद्यार्थी माझ पस्किदा त्रिबि किर्तिपूरमा म्यानेजमेन्ट पढिरहेका बिद्यार्थीहरु मन्त्रमुन्ध भएर सुनिरहे। बिद्यार्थीले सफल बन्न के गर्नुपर्छ भन्ने प्रश्नको सुत्र खोतल्दै गए।
काठमाडौंमा एउटा सामान्य कपडा ब्यापारीको परिवारमा जन्मिएका चौधरी बिश्वभरका अर्बपतिको सूचीमा पर्न सक्ने गरी कसरी सफल बने भन्नेमा बिद्यार्थीहरुको बिशेष चासो देखिन्थ्यो। उनका दर्जनौ कम्पनीहरु सिस्टममा चलिरहेका छन्। नयाँ नयाँ ब्यवसाय सञ्चालनमा सक्रिय हुने भन्दा पनि उनी आफ्ना छोराहरुले सञ्चालन गरेका व्यवसायहरुको रेखदेख र आवश्यक सल्लाह सुझाव दिने काममा आजभोलि व्यस्त हुने गरेका छन्। समय मिलाएर उनी कहिले काँही यस्तै नयाँ पुस्ताका युवाहरुलाई उत्प्रेरणा दिनको लागि पनि समय छुट्याउन्छन्।
यसै शिलशिलामा उनी आइतबार नेपालको सबैभन्दा ठूलो त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन केन्द्रीय विभागका विद्यार्थीहरुलाई उत्प्रेरणा दिन कीर्तिपुर पुगेका थिए। केन्द्रीय विभागका विभिन्न सेमेस्टरका विद्यार्थीहरुसँगको अन्तर्क्रियाको क्रममा उद्योगपति चौधरीले आफ्नै विगत याद गर्दै बिभिन्न क्षणहरुलाई सबिस्तारमा उतारे।
एउटा सफल व्यवसायी बन्नको लागि कत्तिको दक्षता र चातुर्यता चाहिन्छ भन्नेमा चौधरीको मूल प्रस्तुति केन्द्रीत थियो। चौधरी भन्छन् हरेक मानिसमा विशिष्ट प्रकारको क्षमता हुन्छ र हरेक मानिसका लागि घुमिफिरी समय पनि आउँछ। तर, आफ्नो विशिष्ट क्षमतालाई त्यो समय अनुसार कसरी समायोजन गर्ने भन्ने कुरा भने मानिसमा भर पर्दछ। त्यो उसको आत्मविश्वास, संकल्प र इच्छाशक्तिमा भर पर्दछ।
कुनैपनि मानिस सफल बन्नको लागि पटक पटक भिन्दा भिन्दै सपना देख्ने होइन कि एउटै सपनालाई पटक पटक देख्न सक्नु पर्दछ। कुनैपनि सपना पूरा गर्नको लागि आफूले देखेको सपना पूरा गर्छु भन्ने दृढ आत्मसंकल्प पनि आवश्यक पर्दछ। उनले अलिकति नयाँ सोचाइ राखेर अघि बढ्नु भयो भने तपाईहरुलाई बजारले खोज्दै आउँछ भन्दै चौधरीले दरबारमार्गमा रोबटले रेस्टुरेन्टमा सेवा गर्ने गरेको उदाहरण समेत सुनाए। उनले भने सफल बन्न सबैभन्दा पहिले मनको लघुताभाष र अरुले के भन्छ होला ? भन्ने सोचलाई अन्त्य गर्नु पर्ने बताए।
सरकारी विद्यालयबाट बोर्ड फिफ्थ, विज्ञान छाडेर व्यवस्थापनतिर
उनको स्कूले जीवनको कहानी पनि रोचक रहेको उनले ती विद्यार्थीहरुलाई सुनाए। खिचापोखरीमा जन्मिएका चौधरीको स्कूले पढाइ थियो भक्तपुरको सानोठिमीमा रहेको आदर्श माध्यमिक विद्यालयमा। त्यतिबेला विद्यालयको बस भन्ने थिएन। खिचापोखरीबाट रत्नपार्कसम्म हिँडेर गएपछि सानोठिमीसम्म बसमा गइन्थ्यो। उनीहरु स्कूल जानेबेलामा नै तरकारी लिएर बेच्न आएका भक्तपुरे किसानहरु पनि फर्किने समय हुन्थ्यो। पहिलो स्टेशनमा यात्रुहरुबीच सिटको विषयमा झगडा त हुन्थ्यो। तर, ती पहलमान किसानहरुसँग हामीले सक्ने कुरै भएन। केही जुक्ति नलगाए त सधैं ४५ मिनेटको पुरै यात्रा उभिएरै जानु पर्ने भयो। त्यसपछि मैले जुक्ति लगाएर ड्राइभरको पछि रहेको झ्यालबाट झोला भित्र छिराइहाल्ने र टायरमा टेकेर झ्यालबाटै भित्र छिरेर सिटमा बस्ने गर्दथें। यो क्रम पनि ५-६ वर्ष चल्यो।
चौधरीका अनुसार उनी त्यतिबेलाको एसएलसीमा बोर्ड फिफ्थ भएका थिए। उनले परीक्षा दिएको वर्ष जम्मा १३ हजारले मात्रै परीक्षा दिएका थिए। त्यसमध्ये उनी पाँचौं भए। त्यतिबेलाको उनको रिजल्ट अनुसार उनी अमृत साइन्स क्याम्पस जान सक्षम थिए। उनी सम्झन्छन् त्यतिबेला अमृत क्याम्सप पढ्ने मानिसमात्रै ठूला हुन्छन् भन्ने भान थियो। तर, उनले त्यो भानहरु चिर्दै सरस्वति क्याम्पसमा भर्ना भएर पनि सफल भएर देखाइदिए। उनले सरस्वति क्याम्पसपछि शंकरदेव क्याम्पसमा अध्ययन गरेका थिए।
सुजुकीको नेपाल प्रतिनिधि बन्न जाँदा...
१८ वर्षको उमेरमा आफ्ना बाबु मुटु रोगबाट पीडित भएपछि उनको पढाइले विश्राम पायो भने उनी व्यवसायमा लाग्न थाले। बाबुको व्यववसाय थियो कपडाको। तर उनी जापानमा पुगेर सुजुकीको नेपाल प्रतिनिधि बनेर नेपालमा कार विक्री गर्छु भनेर प्रस्ताव गरे । उनको यो प्रस्तावलाई सुजुकीका अधिकारीहरुले सुरुमा त हाँसोको रुपमा लिए। तर, पछि उनीहरुले प्रशिक्षण कालको लागि ६ महिनासम्मको लागि आधिकारिक विक्रेताको लाईसेन्स दिएर पठाइदिए। त्यो पनि पहिलेदेखि नै नेपालमा सुजुकीको मोटरसाइकल विक्री गरिरहेका कम्पनीहरुले भन्दा बढी बिक्री गर्नै पर्ने शर्तमा।
सुजुकीबाट गाडी ल्याएपछि नेपालमा कार चढ्ने प्रचलन नै थिएन। यस्तो अवस्थामा उनलाई यहाँ कारको मार्केटिङ गर्नु पनि त्यस्तै चुनौती थियो। उनले बारम्बार धेरैलाई आग्रह गर्दा पनि कार चढ्न नमानेपछि नयाँ जुक्ति निकालेर कार बिक्रि गरेको सुनाउँछन्। उनी भन्छन् अथक प्रयासबाट पनि कसैले कार किन्न नमानेपछि उनले नयाँ जुक्ति निकालेँ। कार किन्न नमान्नेहरुलाई पनि ६ महिना कार चढेर हेर्नुहोस् मन लागेन भने ६ महिनापछि कार फिर्ता दिनुस् पहिलेको जत्ति पैसा फिर्ता दिन्छु भन्ने अफर गरे उनले।
त्यतिबेला एउटा कारको मुल्य ८० हजार थियो। मेरो आफ्नो विश्लेषण ६ महिना कार चढेपछि कोही पनि कार नचढी हिँड्न सक्दैन भन्ने थियो। त्यही जुक्तिले काम गर्यो र मैले ६ महिना पछि पनि कारको आधिकारिक विक्रेता बन्न पाएँ उनले सुनाए। उनले यसलाई कुनै पनि काममा चुनौतीहरु आउँछन्। तर, त्यसलाई अवसरको रुपमा लिने काम आफैंले गर्नुपर्ने विषयसँग जोडेका छन्।
वाईवाई चाउचाउको प्लान्ट स्थापनाको कहानी
जापानबाट मात्रै होइन थाइल्याण्ड जस्ता अन्य देशबाट फर्किँदा पनि उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा चाउचाउको प्याकेटको चाङ देख्न थाले। उनलाई जिज्ञासा भयो किन यस्तो भयो भनेर। पछि उनले थाइल्याण्डकै वाईवाई कम्पनीमा पुगेर आफूले नेपालमा पनि यसको व्यापार गर्ने भनेर प्रस्ताव राखे। तर उनीहरुले नेपालमा दैनिक ३ हजार चाउचाउ पनि नबिक्ने भन्दै कम्तिमा दैनिक ३० हजार चाउचाउ नबिकेमा प्लान्ट चल्न नसक्ने भनेर पठाए।
पटक पटकको आग्रहपछि बल्ल उनीहरुले केही यान्त्रिक सामग्रीहरु र सीमित जनशक्ति पठाउने निर्णय गरे। अहिले यही वाईवाई ब्राण्डले चौधरी ग्रुपलाई विभिन्न देशहरुमा चिनाएको छ। उनले विद्यार्थीहरुलाई भने विमानस्थलमा चाउचाउ देखेपछि चाउचाउ प्लान्ट खोल्नु पर्छ भनेर कुनैपनि विश्वविद्यालयमा पढाईदैहन। यसैगरी सिक्ने हो।
श्रीलंकामा होटल
चौधरी ग्रुपको होटल लाइनमा प्रवेशको कहानी पनि कम्तिको रोचक छैन। उनी सम्झन्छन्र काठमाडौंमा एउटा सानो होटल खोल्ने पहिलेदेखिकै लक्ष्य थियो। होटल ताजको उपाध्यक्षसँग मेरो पहिलेदेखिकै राम्रो सम्बन्ध थियो। उनीहरुसँग नै लगानी गर्न पनि हाम्रो पुँजीले १ प्रतिशत पनि हिस्सा पाउन सक्ने अवस्था थिएन। त्यसैले काठमाडौंमा उनीहरुको सहयोगमा एउटा होटल खोल्न प्रस्ताव गर्दा उनीहरुले काठमाडौंमा नभइ श्रीलंकामा खोल्ने भए हुन्छ भन्ने संकेत गरे। त्यसमा पनि मैले अवसर सम्झिएर त्यतै लगानी गरेँ। अहिले श्रीलंका मात्रै होइन नेपालमा पनि २०२० सम्म २०० वटा होटल खोल्ने लक्ष्य लिएको छु।
उनका अनुसार राम्रो योजना छ भने साझेदारीबाट काम गर्न सकिन्छ बरु पुँजीले केही पनि काम रोकिँदैन। हामीहरु सकेसम्म खाली कहिले पनि बस्नु हुँदैन। बरु एकैछिन फुर्सद भयो भने अरु सामाजिक संस्थाहरुतिर सक्रिय हुनुपर्छ। लगनशिलताले मानिसलाई सफल बनाउँछ। जीवनमा दुईवटा मन्त्र हुन्छ। एउटा तिमीले नाफामुलक कम्पनी चलाउँनै पर्छ। घाटा हुने कुनै सुविधै छैन र दोस्रो सूत्र हो सूत्र नं एकलाई कहिलै पनि विर्सनु हुँदैन।