रामपुरको हेक्लाङ्गमा प्रदेश सरकारको स्मार्ट कृषि गाँउ कार्यक्रम शुरु
सीता डोटेल,
प्रकाशित २०७६ वैशाख १७ मंगलबार
529
Shares
पाल्पा । प्रदेश सरकारको स्मार्ट कृषि गाउँ कार्यक्रम अन्तर्गत पाल्पाको रामपुर नगरपालिकामा सञ्चालन हुने हेक्लाङ्ग स्मार्ट कृषि कार्यक्रमको शुभारम्भ भएको छ । प्रदेश नम्बर ५ का ५२ स्थानमा लागु हुने यो कार्यक्रम जिल्लाका ४ उब्जनशील भागमा परेको छ ।
गत मंसिरबाट प्रदेश सरकारले प्रक्रिया थालेको स्मार्ट कृषि कार्यक्रम आउदो असार मसान्तमा ५० प्रतिशत काम सकिसक्नुपर्नेछ । यसअघि पाल्पाको तिनाहुँ २ झ्याङ्लाफाँटको स्मार्ट कृषि कार्यक्रमको उद्घाटन भइसकेको छ भने अन्य २ वटा शुरु हुन सकेको छैन ।
रामपुरमा वडा नम्बर १० को बाराहदेवी कृषि समुहमा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन हुनेछ । प्रदेश सांसद कार्यक्रम अन्र्तगत चल्ने यस कार्यक्रमको प्रदेश नं ५ का सांसद युवराज खनालले उद्घाटन गर्दै प्रदेश सरकारले कृषि योजना र युवा स्वरोजगारमा प्राथमिकता दिएको बताए ।
बराहदेवी कृषि समुहमा आबद्ध ८४ घरधुरीका किसानले ४ सय ९४ रोपनी क्षेत्रफलमा तरकारी र मकै बालीमा स्मार्ट कृषि कार्यक्रम चलाउनेछन् । कृषिमा नयाँ तरिका र प्रविधिले राम्रो उत्पादन हुने विश्वास छ–बराहदेवी स्मार्ट कृषि गाउँ कार्यक्रम संयोजक नोलराज भण्डारीले भने–हामी प्रत्येक किसानले बार्षिक २ लाख आम्दानी गर्छौं ।
यो कार्यक्रमका लागि प्रदेश सरकारले हरेक क्षेत्रमा ५० लाख रकम विनियोजन गरेको छ । पाल्पाका ४ स्थानमा चल्ने यस कार्यक्रमले जिल्लामा २ करोड भि¥ित्रएको छ– कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख किशोरमान श्रेष्ठले भने ।
प्रदेशसभा सदस्यहरू तुलाराम घर्तीमगर, नारायण आचार्य, युवराज खनाल र डा.पुरनमान बज्राचार्यको क्षेत्र सिफारिसमा परेका छन् । जहाँ घर्तीको तिनाऊ गाउँपालिका–२ को झ्याङ्लाफाँटमा फागुन दोस्रो साता २ सय ५० रोपनी क्षेत्रफलमा १ सय ८ घरधुरीको सहभागीतामा धान,मकै तरकारी बालीमा कार्यक्रम चलिसकेको छ ।
सांसद आचार्यको रम्भा गाउँपालिका १ हुँगीफाटमा ३ सय ७६ रोपनी क्षेत्रफलमा तरकारी र धान खेतीमा ७८ कृषक आबद्ध भई काम गर्नेछन् । डाक्टर बज्राचार्यको तानसेन नगरपालिका १४ अर्गलीमा बाख्रापालनमा कार्यक्रम संचालन हुनेछ ।
सांसद खनालको क्षेत्रमा शुरु भएको स्मार्ट कृषि गाउँ कार्यक्रम उद्घाटनका अबसरमा तत्काल कृषि संकलन केन्द्र भवन बनाइने जानकारी दिइएको थियो । केन्द्र भवनका लागि स्थानीय हरिप्रसाद भण्डारीले आफ्ना बुवा र आमाको नाममा १ रोपनी जग्गा दिएका छन् ।
सोही अबसरमा नगर बिशेष समन्वय समिति सदस्य राजुप्रसाद श्रेष्ठ, वडा अध्यक्षहरु हुमनाथ न्यौपाने, लिलबहादुर गाहा, वडा सदस्य कृष्णबहादुर सारु, अतिरिक्त हुलाक कार्यालय रामटारका प्रमुख तुङ्गराज पौडेल, नेकपा रामपुरका अध्यक्ष कमलराज भट्टराई, हुँगी स्मार्ट कृषि गाउँ कार्यक्रमका संयोजक केदारप्रसाद बस्याल लगायतले नगरलाई स्मार्ट कृषि सिटिको रुपमा यो कार्यक्रमले विकास गर्नुपर्नेमा जोड दिदै रामपुर बजारमा स्मार्ट कृषि गाउँ कार्यक्रमका तरकारी र हरिका मकै देखि भुटेर खान हुने मकैले स्थानीयपन दिन आग्रह गरेका थिए ।
स्मार्ट कृषि गाउँ कार्यक्रम अन्तर्गत सिँचाई, मल, बीउ, माटो, प्राविधिक जनशक्ति व्यवस्थापन र बजारीकरणमा सहयोग पुग्नेछ ।
छनौटमा परेका स्मार्ट कृषि गाउँमा बर्षको ३ खेती गर्नुपर्नेछ । चालू आर्थिक वर्षमा सरकारले ५० लाखका दरले रकम दिएकोमा पहिलो वर्ष २० प्रतिशत, दोस्रो वर्ष ३० प्रतिशत, तेस्रो वर्ष ४० प्रतिशत र चौथो वर्ष ५० प्रतिशत रकम सम्बन्धित स्थानीय तह, सहकारी वा समुहले लगानी गर्नुपर्नेछ ।