arrow

सरकार छाड्न उपेन्द्रलाई फोरमभित्रै दबाब

नयाँ शक्तिसँग वैशाख २३ मा एकता घोषणा, राजपासँग वार्ता

logo
प्रकाशित २०७६ वैशाख १८ बुधबार

काठमाडौ । ११ विद्यार्थी संगठनले मंगलबार काठमाडौमा गरेको प्रदर्शनमा सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालको विद्यार्थी संगठन फोरम विद्यार्थी संघ सहभागी मात्र भएन, प्रदर्शनमा संघीय फोरम विद्यार्थी संघका महासचिव प्रकाश चामलिङले सरकारविरुद्ध भाषण पनि गरे ।

फोरमसँग गरिएको सहमति अनुसार संविधान संशोधनको एजण्डा कार्यान्वयन नभएकोमा  उनले सरकारको कडा आलोचना गरे । र पार्टीले सरकार छाडेर आन्दोलनमा जाने चेतावनी पनि दिए  । केही समय अघि सरकार विरुद्ध गठन गरिएको ११ विद्याथी मोर्चामा संघीय फोरम विद्यार्थी संघ पनि सहभागी छ । फोरमका अध्यक्ष उपेन्द्र यादव भने अहिले सरकारमा छन् ।  उनका पार्टीको भातृ सगठनका कार्यकर्ताहरु भने सरकारविरोधी आन्दोलनमा छन् । पार्टी अहिले दोधारमा छ ।

 पार्टी स्रोत भन्छ, सरकार छाड्न पार्टी अध्यक्ष यादवलाई अहिले पार्टी भित्रबाटै व्यापक दबाब परेको छ । पार्टीका एक शक्तिशाली पदाधिकरी भन्छन, ‘सरकार छाड्नु हँदैन भन्ने पक्षमा अहिले शहरी विकास मन्त्री इस्तिायक राइ र स्वास्थ्य राज्य मन्त्री सुरेन्द्र यादव मात्र छन् । पार्टी अध्यक्ष स्वयम पनि दोधारमा हुनुहुन्छ ।’

पार्टीका दोश्रो नेता अशोक राइ ,सहअध्यक्ष राजेन्द्र श्रेष्ठ,उपाध्यक्ष रेणु यादव, महासचिव रामसाह यादव तत्काल पार्टी सरकार बाहिर गइ सरकार विरोधी आन्दोलनको मोर्चामा सहभागी हुनु दबाब दिइरहेका छन् । यही वैशाख २१मा पार्टीको कन्द्रीय समितिको बैठक बोलाइएको छ । सो बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले सरकार छाड्न पार्टी नेतृत्वलाई दबाब दिने तयारी गरेका छन् । पार्टी सरकारमा गएको एक वर्ष हुन लाग्दा पनि सरकारले संविधान संशोधनको एजेण्डामा सिन्को समेत नभाँचेको उनीहरुको भनाइ छ ।

फोरमले अहिले दुइतीर एकै पटक  वार्ता गर्दे छ । बाबुराम भट्टाराइले नेतृत्व गरेको नयाँ शक्ति पाटी र राष्ट्रिय जनता पार्टी नेपालसँग फोरमले औपचारिक-अनौपचारिक वार्ता प्रक्रिया अघि बढाएको छ । नयाँ शक्तिसँग तत्काल पार्टी एकीकरण गरेर सबैलाई सरप्राइज  दिने तयारी फोरमका नेताहरुले गरेका छन् । शक्ति पार्टीबीच वैशाख २३ गते एकता घोषणा हुने भएको छ ।

नयाँ शक्ति र राजपा दुवै पार्टीले फोरमसँग पार्टी एकीकरण गर्न फोरमले सरकार छाड्नु पर्ने बताउदै आएका छन् ।  राजपाले त औपचारिक रुपमा नै फोरमलाई यस्तो शर्त  राखेको छ भने नयाँ शक्तिका नेताहरुले  पनि फोरम सरकार बाहिर हुनु पर्ने बताउदै आएका छन् ।  यसरी फोरमका अध्यक्ष यादवलाई अहिले पार्टी भित्रै र पार्टी बाहिर दुबैतीर सरकार छाड्न दबाब सिर्जना भइरहेको छ । यादव निकट एक एक नेता भन्छन, यादव स्वयम पनि अहिले नेपाल कम्युनिस्ट पार्टीका नेताहरुसँग खुशी हुनुहन्न ।’  प्रधानमन्त्रीले आफूलाई नसोधरै स्वास्थ्य मन्त्रालयमा सचिव पठाएको गुनासो यादवले आफू निकट एक नेतासँग गरेका थिए । मन्त्रालयले सामुदायिक अस्पताललाई बाड्ने अनुदानमा समेत नेकपाका कार्यकर्ताहरुले दबाब दिने गरेको उनले  ती नेतालाई सुनाएका थिए ।  

संघीय फोरमका नेताहरुले राजपा र नयाँ शक्ति दुबै पार्टीलाई पार्टी एकीकरणपछि सरकारमा बस्ने नबस्ने निर्णय एकीकृत पार्टीले गर्ने जवाफ दिने गरेका छन् । ‘यसको आसय हो,पार्टी एकीकरण भए पछि हामी सरकार बाहिर हुन्छौ ।’ राजपाका एक नेताको विश्लेषण छ । ती नेता भन्छन, ‘यादव नयाँ शक्ति या राजपासँग पार्टी एकीकरण गर्ने क्रममा नै सरकार बाहिर जाने सम्भावना छ ।’ सरकार छाड्ने-नछाडने विषयले पार्टी एकीकरण प्रक्रिया नरोकिने यादवले राजपालाई पठाएको चिठीमा  प्रष्टसँग भनेका छन् ।

२०७५ जेठ १७मा संघीय फोरमले सरकारसँग दुइ बुँदै सहमति गरी सरकारमा सहभागी भएको थियो । बुधबार पार्टी सरकारमा गएको ठिक ११ महिना पूरा भएको छ । यस अवधिमा सरकारसँग गरिएको सम्झौता कार्यान्वयन भएको भए अहिलेसम्म संविधान संशोधन हुनुपथ्र्यो । तर सम्झौता कार्यान्वयन हुनेमा फोरमका नेताहरु अलिकति पनि  आशावादी छैनन् । यसबाट संविधान संशोधनको मुद्धा अलपत्र परेको छ ।

गत असोजमै फोरमका अध्यक्ष तथा स्वास्थ्यमन्त्री यादव काजिकस्तान गएको बेला प्रधानमन्त्रीले तत्कालीन स्वास्थ्य सचिव पुष्पा चौधरीलाई स्वास्थ्य मन्त्रालयबाट झिकेर प्रधानमन्त्री कार्यालयमा सरुवा गरे । यादब मन्त्रिपरिषद्को बैठकमा उपस्तिथति नभएको मौका पारी मन्त्रिपरिषद्दको बैठकले पुष्पा चौधरीलाई स्वास्थ्यबाट प्रधानमन्त्री कार्यालयमा सरुवा गर्ने निर्णय गरेको थियो । यस बिषयमा स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवलाई पनि जानकारी थिएन् ।  फोरमका अर्का एक केन्द्रिय सदस्य भन्छिन, ‘फोरमलाई सरकारमा ल्याइ ओलीले संविधान संशोधनको मुद्धा अलपत्र पार्न खोजेका छन् । यो हामीलाई सहय हुँदैन ।’

फोरम स्रोतका अनुसार फोरमका अधिकांश केन्दीय नेताहरु संविधान संशोधनको एजेण्डा उठाएर फोरमले सरकार छाड्नु पर्ने सुझाव पार्टी नेतृत्वलाई दिएका छन् । फोरमका अर्का एक नेता भन्छन,‘ सरकारसँग अब हाम्रो सम्बन्ध अब वार कि पारको हुनु पर्छ । अब हामीले एउटा समय राखेर संविधान संशोधन गर्न सरकारलाई दबाब दिन्छौ । त्यो समयभित्र पनि संविधान संशोधनको एजेण्डा पूरा नभए सरकार छाडी आन्दोलनमा जान्छौ ।’

पार्टी सरकारमा गए पछि तराइ-मधेसमा पार्टीको साख गुम्दै गएको फोरमका अधिकांश नेताहरुको बुझाइ छ । ‘पार्टी सरकारमा गए पनि पार्टीले मधेसको माग पूरा गर्न नसक्ने हो भने  पार्टी किन सरकारमा बस्ने ? फोरमका अर्का एक केन्द्रय सदस्य प्रश्न गर्छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ