arrow

स्वतन्त्रता सेनानी शास्त्रीको निधन, यातनासहित जेल हालेको थियो पञ्चायती शासकले 

‘काँग्रेसले एक स्पष्ट वक्ता र प्रजातान्त्रिक योद्धा गुमायो’ – सभापति मुस्कान

logo
प्रकाशित २०७६ वैशाख १९ बिहिबार
bhojraj-shastri.jpg

अर्घाखाँची । अर्घाखाँचीका पुराना काँग्रेसी नेता स्वतन्त्रता सेनानी भोजराज शास्त्री (मरासिनी) को निधन भएको छ । क्षयरोगसहित पछिल्लो समय निमोनियाले ग्रस्त शास्त्रीको ८८ वर्षको उमेरमा निधन भएको हो । 

शिक्षा क्षेत्रमा चार दशक बिताउँदै राजनीतिमा समेत सक्रिय शास्त्रीको सोमबार राति बुटबलमा निधन भएको हो । 

शास्त्रीले स्वर्गीय काशीनाथ गौतम, ढुण्डीराज शास्त्री, मोदनाथ प्रश्रित लगायतसंग राजनीतिक सहकार्य गरेका थिए । 

२०१७ सालदेखि २०२० सम्म नेपाली काँग्रेसमा सक्रिय रहेको कारण देखाउँदै तत्कालीन पञ्चायती शासकबाट उनी यातनासहित २१ महिना जेल चलान भएका थिए ।

शिक्षामा योगदान
भारतको बनारसबाट शास्त्री अध्ययन गरेका स्वर्गीय भोजराज शास्त्री संस्कृतका प्रकाण्ड विद्धान पनि मानिन्छन् । 

कर्मकाण्डमा दक्ष शास्त्रीले समाजमा आइपर्ने धार्मिक वाधा व्यवधान फुकाउन सेतूको काम गर्दै आउने गरेको स्थानीय बताउने गर्छन् । 

विसं १९८८ असार २८ गते अर्घाखाँचीको ढिकुरामा जन्मिएका शास्त्रीले अर्घाखाँचीको ढिकुरा, वाङ्ला, धनचौर र कपिलवस्तुको पिपरास्थित जनता माविमा प्रधानाध्यापकको रुपमा भूमिका खेलेका थिए ।

उनले अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ढिकुरास्थित श्री शारदा माविको स्थापनामा महत्वपूर्ण योगदान दिएका थिए । शास्त्रीका श्रीमती, तीन छोरा र दुई छोरी छन् ।

अर्घाखाँची काँग्रेस शोकमा – जिल्ला सभापति मुस्कान
शास्त्रीको निधनप्रति अर्घाखाँची काँग्रेसले शोक ब्यक्त गरेको छ । अर्घाखाँची काँग्रेस जिल्ला सभापति विष्णु प्रसाद खनाल ‘मुस्कान’ ले शास्त्री चिन्तक, समाजवादी र असाध्यै प्रतिबद्ध नेता भएको भन्दै शोक ब्यक्त गरेका छन् । 

उनले ग्रामिण क्षेत्रमा बसेर पनि चेतना जगाउने सबालमा शास्त्रीले उल्लेख्य योगदान दिएको भन्दै काँग्रेसले एक स्पष्ट वक्ता र प्रजातान्त्रिक योद्धा गुमाएको बताए ।

मुस्कानले अर्घाखाँचीले काँग्रेसको एक सच्चा अभिभावक गुमाएको समेत बताएका छन् । 

काँग्रेस शोकमा छ – सभापति घिमिरे
भूमिकास्थान नगरपालिकाका काँग्रेस सभापति उमेश घिमिरेले शास्त्रीको निधनप्रति गहिरो शोक ब्यक्त गरेका छन् । 

उनले एक काँग्रेसका अभिभावक, समाजसेवी र शिक्षाशास्त्री गुमाएको भन्दै भूमिकास्थान नगरपालिका शोकमा रहेको बताएका छन् । 

पार्टीले खासै चासो भने राखेन
काँग्रेसले शास्त्रीलाई स्वतन्त्रता सेनानीको सम्मान दिएको थियो । २०७५ साल साउन १५ गते उनी उक्त सम्मानबाट सम्मानित भएका थिए । 

त्यसबाहेक पार्टीले वास्ता गरेन । पञ्चायतको कठोर नीतिका बीच पनि शास्त्रीले जेलनेल र यातनाको पर्वाह नगरी आफ्नो भूमिका निभाएका थिए । 

बहुदल आएपछि उनले जेलनेल खाएको रेकर्डसहित राहतका लागि ललितपुरस्थित हरिहर भवनमा निवेदन पनि पुगेको थियो । 

तत्कालीन अवस्थामा उद्योगमन्त्री अर्घाखाँचीकै प्रतिनिधि ढुंडिराज शास्त्री थिए । भोजराज शास्त्रीका कान्छा छोरा मदन मरासिनी भन्छन् –‘प्रजातन्त्रका लागि लडेको भनेर निवेदन दिइयो तर सहयोग भएन ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ