जलविद्युतका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्ने अनुमति
प्रकाशित २०७६ वैशाख २० शुक्रबार
222
Shares
गलेश्वर। पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न पाउने अनुमति प्राप्त भएको छ ।
मन्त्रिपरिषद्को मङ्गलबार सम्पन्न बैठकले गरेका विभिन्न नौ निर्णयमध्ये दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनालाई आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार पत्रकार सम्मलेन गरी उक्त निर्णय सार्वजनिक गरिएको हो ।
यसका साथै फिस्लिङ–तोलाङ–शक्तिखोर ग्रामीण सडक स्तरोन्नति र महाकाली सिँचाइ आयोजनाको नहर निर्माणका लागि पनि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न पाउने अनुमति प्राप्त भएको छ । धवलागिरि कालिका हाइड्रो लिमिटेडले कूल रु पाँच अर्ब १४ करोड लागतमा दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण गर्न लागेको हो ।
उक्त जलविद्युत् आयोजनामा संस्थागत पूँजीको ३० प्रतिशत सर्वसाधारणलाई शेयर जारी गरिने हाइड्रोका अध्यक्ष विनोद कुँवरले बताए। आयोजनाको गत फागुनमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले उद्घाटन गर्नुभएको थियो ।
आयोजनामा सानिमा बैंकको नेतृत्वमा प्रभु बैंक, कुमारी बैंक, सेन्चुरी बैंक, मुक्तिनाथ विकास बैंक र महालक्ष्मी विकास बैंकले रु तीन अर्ब ५० करोड ऋण लगानी गर्ने एक वर्ष अगाडि नै सम्झौता भइसकेको अध्यक्ष कुँवरले जानकारी दिए ।
आयोजनामा दक्षिण कोरिया, हङकङ, बेलायतलगायत विश्वका विभिन्न देशका साथै काठमाडौंमा बसोबास गर्ने म्याग्देलीको वित्तीय संस्था म्याग्दी इन्भेष्टमेन्ट कम्पनी र ग्लोबल फ्रेण्डसीप क्यापिटल लिमिटेड मुख्य प्रवद्र्धक रहेका छन् ।
पानीको बहाव ३१.४ घनमिटर प्रतिसेकेण्ड रहेको आयोजनाको ग्रेस हेड १०४ मिटर हुनेछ । रन अफ द रिभर शैलीको आयोजना दरबाङदेखि दुई किलोमिटर माथि म्याग्दीखोलामा बाँध बाँधेर पाँच किलोमिटर टनेलमा २०० मिटरको पेनस्टक पाइपबाट मालिका र मङ्गला गाउँपालिकाको सिमानामा अवस्थित बलौटेमा रहने विद्युत्गृहमा झारी विद्युत् उत्पादन गरिनेछ ।
विद्युत् खरीद सम्झौता (पिपिए) मा नेपाल विद्युत् प्राधिकरणले प्रवद्र्धकसँग वर्षातको आठ महीना प्रतियुनिट रु ४.८० पैसा र सुख्खायामको चार महीना प्रतियुनिट रु ८.४० पैसा रहने उल्लेख गरिएको छ । आयोजनाबाट उत्पादित विद्युत् १४ किलोमिटर लामो १३२ केभी ट्रान्समिटरलाइन हुँदै डाँडाखेत सवस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ ।
योजना आगामी विसं २०६९ सम्म निर्माण सम्पन्न गरिने अध्यक्ष कुँवरले बताउनुभयो ।