arrow

तातोपानी गाउँपालिकाद्वारा खसभाषाको पाठ्यपुस्तक छपाइ शुरु

logo
विजय रावत,
प्रकाशित २०७६ वैशाख २२ आइतबार
Jumla_District.png

खलङ्गा। जुम्लाको तातोपानी गाउँपालिकाले १ देखि ३ कक्षासम्मको पाठ्यपुस्तकको छपाइ कार्य शुरु गरेको छ। स्थानीय खसभाषामा तयार पारेको पाठ्यपुस्तकको छपाई कार्य सुरु गरेको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिए। छपाइको कार्य शुरु भएकाले जेठ पहिलो हप्ताबाट पढाइ शुरु गर्ने योजना गाउँपालिकाले बनाएको छ। तातोपानी गाउँपालिकामा रहेको ऐतिहासिक, धार्मिक र स्थानीय भाषाशैली समावेश भएको पाठ्यपुस्तक छपाइको प्रक्रियामा रहेको उनको भनाइ छ।

कक्षा ४ र ५ को पाठ्यपुस्तक पछाइको कार्य ढिलाइ हुने भएको छ। लेखनकार्य बढी गर्नुपर्ने भएकाले पाठ्यपुस्तकको छपाइकार्य ढिलाइ हुने भएको हो। १ देखि ३ कक्षासम्मको पाठ्यपुस्तक छपाइकार्य तीव्रगतिमा भइरहेको अध्यक्ष न्यौपानेको भनाइ छ। कलासंस्कृति, धार्मिकस्थल, भूगोल, इतिहास, सम्पदा, जडीबुटी र खेलकूद आदि विषयबारे नयाँ पुस्तालाई जानकारी प्रदान गर्न स्थानीय पाठ्यक्रम बनाउने कार्य अन्तिम चरणमा पुगेको छ। स्थानीय पाठ्यक्रमले स्थानीयस्तरमा रहेका विविध विषयको जानकारी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले पाठ्यक्रम तयार गरिएको हो।

गाउँपालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयमा १ देखि ५ कक्षासम्म पढाइ सञ्चालन गर्नका लागि स्थानीय खसभाषाको पाठ्यपुस्तक निर्माण गरिएको गाउँपालिका अध्यक्ष न्यौपानेले जानकारी दिए। तातोपानी गाउँपालिकामा रहेमा रहेका २८ विद्यालयका प्रधानाध्यापकसँगको चौथो घुम्ती बैठकबाट स्थानीय खसभाषाको पाठ्यपुस्तक निर्माणको तयारी गरिएको उनको भनाइ छ। गाउँपालिका क्षेत्रभित्र रहेका पर्यटन, कृषि, राजनीति, कलाकारितालाई प्रधान बनाइएको छ। उनले भने, “गुणस्तरीय शिक्षाले मात्र देश विकास नहुने भएकाले स्थानीय खसभाषाको पाठ्यपुस्तकलाई जोड दिइएको हो। तातोपानी गाउँपालिकालाई नमूना शैक्षिक गन्तव्यस्थल बनाउन सबैले आआफ्नो क्षेत्रबाट योगदान गर्नुपर्ने बताउँदै स्थानीय खसभाषाको संरक्षण र प्रवद्र्धनमा जोड दिनुपर्ने अध्यक्ष न्यौपानेले जानकारी गराए।

गाउँपालिकाभित्र रहेका २८ विद्यालयमा १ देखि ३ कक्षासम्म एकसाथ स्थानीय खसभाषाको पाठ्यपुस्तक पढाइ हुने भएको छ। स्थानीय पहिचान जोगाउन र नयाँपुस्तालाई इतिहास र खसभाषाको ज्ञान प्रदान गर्ने गाउँपालिकाको प्रमुख लक्ष्य रहेको छ। स्थानीय खसभाषामा आधारित पाठ्यपुस्तक निर्माण भएकाले पुरानो संस्कार र संस्कृतिको संरक्षण हुनेछ।

तातोपानी गाउँपालिकामा रहेका धार्मिक, पर्यटन, कृषि र जडीबुटी विषयलाई पाठ्यपुस्तकमा समावेश गरिएको उनको भनाइ छ। अतिरिक्त विषयका रुपमा गाउँपालिकाले विद्यालयमा अध्ययन अध्यापन गर्ने तयारी थालेको छ। न्यौपानेले स्थानीय तहलाई आफू अनुकूलको पाठ्यपुस्तक निर्माण गर्न पाउने अधिकार भएकाले दस्तावेजका रुपमा पुस्तक प्रकाशनको तयारीमा जुटेको जानकारी दिए। जुम्लाका आठ स्थानीय तहमध्ये तातोपानी गाउँपालिका पाठ्यपुस्तक निर्माण गर्ने पहिलो गाउँपालिका बनेको छ। विद्यार्थीलाई बुझिने भाषामा स्थानीयस्तरको पाठ्यपुस्तक निर्माणले गाउँपालिकाको गरिमा बढाएको छ। 

न्यून दृष्टि भएका विद्यार्थीलाई सामग्री वितरण

जुम्लाको सिञ्जा गाउँपालिकामा रहेको भैरव माध्यामिक विद्यालयका नराकोटका न्यून दृष्टि भएका विद्यार्थीलाई सेतोछडी १० थान, टचिङ क्याल्कुलेटर तीन थान र एयाम्पी थ्री सात थान वितरण गरिएको छ। हेरविचार केन्द्र सुर्खेतको आर्थिक सहयोगमा भैरव माध्यामिक विद्यालय नराकोटमा अध्ययनरत १० न्यून दृष्टि भएका विद्यार्थीलाई सामान वितरण गरिएको हेरविचार केन्द्र सुर्खेतका केन्द्र प्रमुख जीवनकुमार शाक्यले जानकारी दिए।
 
साथै ६५ छात्रालाई सेनेटरी प्याड वितरण गरिएको केन्द्रका सचिव शोभना खड्काले जानकारी दिए। यता विद्यालयका प्रध्यानाध्यापक मानबहादुर रोकायाले दृष्टिविहीन विद्यार्थीलाई विभिन्न प्रकारका सामग्री वितरण गरेर विद्यालयलाई ठूलो गुन लगाएको बताए। 

१३ लाखभन्दा बढी राजश्व सङ्कलन

जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाले गत आर्थिक वर्ष २०७४÷७५ को भन्दा चालू आवमा राजश्व सङ्कलन बढी गरेको छ। २०७४÷७५ मा राजश्व सङ्कलन रु १२ लाख ५९ हजार ५०० भएकामा चालू आवको चैतसम्म रु १३ लाख ४० हजार ५०० राजश्व सङ्कलन गरेको हो। सवारीसाधान कारवाहीबाट प्रहरीले उक्त राजश्व सङ्कलन गरेको हो। ट्राफिक नियमको पालना नगर्ने साना र ठूला सवारीलाई जाँच गरी कारवाहीबाट राजश्व सङ्कलन गरिएको जिल्ला ट्राफीक प्रहरी कार्यालय जुम्लाले जनाएको हो।

गत आर्थिक वर्षमा एक हजार ८६३ सवारीसाधन कारवाहीमा परेका थिए। तीमध्ये सबैभन्दा बढी मोटरसाइकल ५९९ र सबैभन्दा कम ट्र्याक्टर ११६ कारवाहीमा परेका थिए। चालू आवको चैतसम्म एक हजार ९९३ सवारीसाधन कारवाहीमा परेका छन्। पछिल्लो समय दिनहँुजसो छड्के चेकिङ र ट्राफिकको सक्रियताका कारण दुर्घटनामा समेत कमी आउन थालेको छ।

प्रायःजसो सवारीसाधन अनुमतिपत्र लाइसेन्स नभई सवारीसाधन चलाउने कारवाहीमा परेका छन्। त्यस्तै क्षमताभन्दा बढी सामान तथा यात्रु बोक्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, समयमा सवारी मर्मत नगराउने र सवारीको अवस्था राम्रो नभएका चालकलाई कारवाही गरिएको प्रहरीले जनाएको छ। यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालयले आफ्नो सक्रियता बढाउनको लागि विभिन्न जनचेतनामूलक कार्यक्रमसमेत थालेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ