arrow

धिमाल जातिको केटाकेटी हेर्ने मेला सुरु

logo
विजय धिमाल,
प्रकाशित २०७६ वैशाख २६ बिहिबार
dhimal.jpg

उर्लाबारी ।  नयाँ वर्षको सुरुवातसंगै विभिन्न जातिले आफ्नो संस्कार र संस्कृतिलाई जोगाई राख्ने मनसायले नेपालको विभिन्न स्थानहरुमा पुजा तथा मेला लागिरहेको अवस्था छ । त्यस्तै विभिन्न जाति मध्ये धिमाल जाति पनि एक हो । धिमाल जातिको महान पर्व (पुजा) जातिरि-सिरिजात विक्रम सम्वतको नयाँ वर्ष प्रवेशसंगै वैशाख २ गते मोरङको लेटाङ नगरपालिका १ भोगटेनी राजारानी धिमाल डाँडाबाट सुरु भएको छ ।

अन्य पर्व भन्दा यस पर्वलाई धिमाल जातिले मुख्य पर्वको मनाउदै आएको पाइन्छ । जातीय संगठन गाउँटोल, जिल्ला, नगर र केन्द्र निकै अघिदेखीको संरचना रहेको छ । यस जातिको साय भन्दा बढी बस्तिहरुमा फरक फरक मिति तिथीमा जातिरि-सिरिजात मनाउने गर्दछन । गाउँघर देखि केही पर ग्रामथान तथा महाराजथान र्निमाण गरी वर्षमा एक पटक पुखैँलि चलन अनुसार पुजा तथा मेला लगाई रमाइलो गर्दैआएको पाइन्छ । कुनै ठाउँ पुजा त कुनै ठाउँ मेला लगाई २ महिना सम्म लगातार मनाउदै अइरहेको धिमाल जातीय विकास केन्द्रका केन्द्रीय अध्यक्ष तेजबहादुर धिमालले जानकारी दिए ।

अतितमा जंगलका हिंस्रक जनावर, अनेकौँ रोगव्याधि, महप्रलय, अनाबृष्टि, अतिबृष्टि, अनिकाल, खडेरी, आगलागि लगायत अनेकौँ संकटहरुबाट बच्न र बचाउनका खातिर ग्रामथान-महाराजथानमा देरादिर(भगवान)को परापूर्वकाल देखि हाल सम्म मनाउदै आएको धिमाल जातीय विकास केन्द्रको सामाजिक नियामावलीमा उल्लेख छ । यसरी पुजा गरिसकेपछि  ती अराजक तत्व लगायत जीव–जनावर लगायत विविध कुराहरुले नसताओ भनेरपुरै आफ्नो गाउँलाई तन्त्रमन्त्रले बाँध्ने जस्ता कुराहरु केन्द्रीय माझी (धामी) जय बहादुर धिमालले जानकारी दिए ।

थप्दै पुजा गर्ने थानमा कुनै मुर्ति-प्रतिमा हुदैन माटोद्वारा बनाइएको हस्तलिपी निर्मित हात्ती, घोडा र बाख्रा र वनजंगल, खोलानाला, जीवजनावरलाई पुकारी पुजाआजा गरीदै आएकोले धिमालको धर्म प्रकृति रहेको जानकारी गराए । यस पुजाआजामा धिमाल जाति मात्र नभएर गैर धिमालहरु पनि आफ्नो मनोकांक्षा पुरा हुनेगरेको वा भएको भनि विश्वासका साथ लाम्बद्घ भइ पुजामा संलग्न भएको देख्न पाइन्छ ।

ग्रामथान तथा महाराजथानमा पुजाआजा गर्दा फलफुल लगायत सुँगुर, बोका, हाँस, कुखुरा, परेवा आदिको बलि र रक्सी पनि चढाउने गर्दैआएको केन्द्रीय महासचिव केदार धिमालले जानकारी दिए । थप्दै आफ्नो आफन्त, छोरीचेली र इष्ठमित्र भेटभाट संगै धिमाल जातिको परिकार खानपिन, नाचगान गर्दै बडो रमाइलो गरी मनाउने गर्दछन । धिमाल गाँउ टोल बस्तिहरुको ग्रमथान-महाराजथानहरुमा मेला लगाइ गरिने पुजालाइ जातिरि भनिन्छ र जातिरिमा जातीय मूख्य बाजा ढोल बजाएर प्रतिस्पर्धा गरि प्रथम, द्वितिय, त्रितिय र सानत्वना छुटाई पुरस्कृत गरिनुका साथै जहाँ (जातिरी) मेला लगाइदैन, ढोलको प्रतिस्पर्धा गरिदैन पुजाआजा मात्र हुन्छ त्यसलाई सिरिजात भन्नेगरेको केन्द्रीय सह अध्यक्ष अमर धिमालले जानकारी दिए ।

कालान्तरमा धिमाल चेलीहरु घरदेखि बाहिर ननिस्कने यदि निश्कीए जबरजस्ती गरी विबाह गर्ने चलन रहको र मेलापातमा पनि यही अवस्था रहेको यो व्यबाहार अलि ठिक नभएको महसुर गरी हाल एक आपसमा केटाकेटी राम्ररी देखादेख, बोलचाल, चिनजान होस भनि यसको र्सिजना भएको पूर्व केन्द्रीय सदस्य युवा नेतन मात्रिका धिमालले जानकरी दिए । थप्दै हाल प्राय युवायुवतिहरुलाई घरबाट बहिर (मेला) जातिरिमा जानलाग्दा बुवाआमाले रोक नलगाउने समेत भएको अवस्था, (मेला) जातिरिको मुल उदेश्य पुजाआजा मात्र नभएर उमेर पुगेका युवायुवती एक अर्कामा भेटघाट वा केटाले केटी र केटीले केटा हेर्ने मेला समेत रहेको यसरी प्रष्टपारे ।

यस अघि लेटाङबाट बैशाख २ गते सुरु भए पश्चात झापाको बिर्तामोड धिमाल गढमा बैसाख ५ गते र मोरङको खोर्सानेमा बैसाख १५ गते, उर्लाबारीको तिनघरेमा बैसाख १९ गते (मेला) जातिरि सम्पन्न भएको छ । अब मोरङको आम्बारीमा बैसाख २७ गते, जदाह जेठ १ गते, तेलकुडि जेठ २ गते, पथरीशनिश्चरेमा जेठ ३ गते, किर्तिपुर क-ख जेठ ७-९ गते, काकुममा जेठ १५ गते, माटिगाउमा जेठ २१ ग्ते, कालाबान्जार जेठ २२ गते, सुनझोडा जेठ २३ गते, अठियाबारीमा जेठ २५ गते र झापाको र्खखरे बैसाख २९ गते, बुट्टाबारीमा जेठ २५ गते, अर्नाखाडि क-ख जेठ १२-१३ गते यस्तै करिबन सत्तरी स्थानमा (मेला) जातिरि लाग्न बाँकी रहेको छ भने अन्य स्थानहरुका गाउँटोलहरुले पुजाआजा गर्ने गरेको धिमाल बैदेशिक विभागीय प्रमुख मोहनकुमार धिमालले जानकारी दिए ।

यसरी गाउँटोलमा (मेला) जातिरि मनाउदै जाँदा एक घर बराबर बिस हजार सामान्य खर्च हुने गरेको र दुई महिना सम्मको एकमुष्ट वार्षीक रु. १ करोड ५० लाख भन्दा बढी खर्चा हुनेगरेको अनुमान गर्दै यती धेरै खर्च कसरी रोक्न सकिएला यसको उपाय खोज्दै गरेको केन्द्रिय समितिका केन्द्रीय अध्यक्ष तेज बहादुर धिमालले जानकारी गराए ।

सबै स्थानमा जातिरि-सिरिजात सम्पन्न पश्चात असार २ गते धिमाल जातीय विकास केन्द्र उर्लाबरी नगरपालिका–३ मंगलबारे स्थित रहेको परियोजना स्थल १० विगाह परिसरमा भव्यकासाथ औपचारिक तथा बृहत सांस्कृतिक कार्यक्रमको आयोजनागरी समापन हुने गर्दछ ।



नयाँ