arrow

काठमाडौँ महानगरकै ठूला वडामा कमजोर पूर्वाधार

logo
पूर्णप्रसाद मिश्र,
प्रकाशित २०७६ वैशाख २९ आइतबार
kathmandu-valley.jpeg

काठमाडौं ।  देशको राजधानी, सांस्कृतिक शहर र पुरानो नगरपालिकामध्येको एक काठमाडौँकै ठूला वडामा पूर्वाधारको सन्तुलित विकास हुन नसकेको वडावासीको दुःखेसो छ ।
 
काठमाडौँ महानगरपालिकाले भित्री सीमित शहरी क्षेत्रमा मात्र ध्यान दिँदा अन्य नगरपालिकासँग जोडिएका ठूला वडा सडक पूर्वाधारमा कमजोर बनेको हो । सानो क्षेत्रफल र थोरै जनसङ्ख्या रहेका एवं ठूलो क्षेत्रफल र धेरै जनसङ्ख्या रहेका वडालाई उस्तै बजेट दिइएको वडा तहका जनप्रतिनिधिको गुनासो छ । महानगरपालिकाले वडामा रु तीन करोडभन्दा बढी रकम विनियोजन गरेको छैन ।
 
महानगरपालिकाको कूल बजेट रु १३ अर्ब छ । सबै वडामा गरेर रु एक अर्ब पनि नबाँडिदा पूर्वाधार निर्माण हुन नसकेको महानगर–१६ का वडाध्यक्ष मुकुन्द रिजालले बताउनुभयो। काठमाडौँका सबै नगरपालिकालाई महानगरपालिकाले रु एक एक करोड बजेट दिएको छ । पूर्वाधारमा कमजोर वडालाई भने आवश्यक मात्रामा ध्यान नदिँदा पछि परेको छ । सडक संरचना अस्तव्यस्त बन्दा हिउँदमा धुलो र वर्षामा हिलोले आवतजावतमा समस्या हुने गरेको छ ।  
 
राजधानीकै महानगरपालिका र नगरपालिका जोड्ने सडक निर्माणमा सरोकार भएका निकायको ध्यान जान सकेको छैन । काठमाडौँ महानगरपालिकाको ठूलो वडामध्येमा पर्ने वडा नं– १६ र तारकेश्वर नगरपालिका जोड्ने सडक जीर्ण बन्दा आवतजावतमा समस्या आएको हो । स्थानीय रामबहादुर रानामगर हाल घाम लागेका बेला धुलोले सडक नदेखिने गरेकाले हिँड्दा दुर्घटनामा पर्ने डर रहेको बताउनुहुन्छ ।
 
सडकका विषयमा पटक÷पटक सरोकार भएका निकायमा ध्यानाकर्षण गर्दा पनि कसैको ध्यान जान नसकेको उहाँले बताउनुभयो । महानगर– १६ का वडाध्यक्ष रिजाल सडकको दुरावस्थाबारे कार्यालयमा पटक÷पटक गुनासो आए पनि क्षेत्राधिकारमा नपर्ने भएकाले गतवर्ष केही गर्न नसकिएको बताउनुहुन्छ ।

 “जनताको गुनासो आएपछि यो सडक निर्माणका लागि महानगरपालिकाले काम शुरु गरेको छ, यो सडक कानून अनुसार प्रदेश सरकारले निर्माण गर्नुपर्ने हो, दुई स्थानीय तह जोड्ने सडक प्रदेश सरकारले बनाउनुपर्ने भए पनि प्रदेश नं. ३ सरकारको ध्यान जान सकेन, गतवर्ष प्रदेश सरकारको बजेट फ्रिज भयो, यस्ता सडक बनेनन्”–उहाँले भन्नुभयो ।

महानगरबाट तारकेश्वर जोड्ने सडक निर्माणका लागि रु दुई करोडको लागतमा महानगरपालिकाले बोलपत्र आह्वान प्रक्रिया शुरु गरेको वडाध्यक्ष रिजालले सुनाउनुभयो । यसै वडाको एराहिटीबाट नागार्जुन नगरपालिका जाने सडकको अवस्था पनि उस्तै छ । यसमा समेत प्रदेश सरकारको ध्यान नगएपछि महानगरपालिकाले नै बनाउन लागेको छ । यसका लागि वाग्मती कन्स्ट्रक्सनसँग सम्झौता भइसकेको वडा कार्यालयले जनाएको छ ।
 
पर्यटकीय क्षेत्र ठमेलसँगै जोडिएको पकनाजोल–क्षेत्रपाटी सडकमा खाल्डाखुल्डी छन् । दैनिक पर्यटक आवतजावत गर्ने यो सडकको जीर्णताले विश्वमै नेपालको बदनाम भइरहेको स्थानीय वृद्ध बुद्धकृष्ण चित्रकारले गुनासो गर्नुभयो । सडककै कारण पर्यटक मार्फत् नराम्रो सन्देश जानसक्ने भएकाले बेलैमा बनाउनुपर्ने उहाँको भनाइ छ । यसले नेपाल भ्रमण वर्ष २०२० लाई पनि प्रभाव पार्नसक्छ ।
 
भूगोल ठूलो र जनसङ्ख्या धेरै भएका महानगरपालिकाका– ६, १४ र १६ विकास निर्माणपछि परेका छन् । यहाँको पूर्वाधारको अवस्था कमजोर छ । पछि परेका वडालाई अघि बढाउन महानगरपालिकाले ध्यान नदिएको गुनासो वडा अध्यक्षको छ । वडा नं ६ का अध्यक्ष दीपेन्द्रकुमार लामा सबै वडालाई समानुपातिक रुपमा रु तीन करोड बजेट दिने भन्दा पनि भूगोल ठूलो भएका, ग्रामीण भेगसमेत जोडिएका वडाको पूर्वाधार विकासमा विशेष जोड दिनुपर्ने बताउनुहुन्छ ।
 
“वडामा पर्ने चावहिल–बौद्ध–जोरपाटी सडकको अवस्था वर्षौँदेखि नाजुक छ, सङ्घीय सरकारले स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित हुनुअघि नै बोलपत्र आह्वान गरेको यो सडक नबन्दा स्थानीयवासीको गुनासो दैनिक वडा कार्यालयमा आउने गरेको छ, हामीले गुनासो सुनेर सरोकार भएका निकायलाई भन्ने बाहेक केही गर्न सक्दैनौँ, वडाले काम गरेन भन्ने जनगुनासो हुन्छ”–उहाँले भन्नुभयो ।
 
 वडा नं ६ को चुच्चेपाटी–बौद्ध महाङ्काल सडक समेत नाजुक छ । यो सडक निर्माण शुरु गरिएको वर्षौँ भए पनि अझै सम्पन्न हुनसकेको छैन । सडकबीचका ठूला खाल्डामा पानी परेका बेला पोखरी बन्ने गरेका छन् । पोखरीमा साना सवारी डुब्ने गरेको स्थानीय छिरिङ तामाङले बताउनुभयो । पानी जमेपछि दायाँबायाँ किनारमा पैदलयात्रा गर्न नसकिने उहाँले सुनाउनुभयो ।
 
 यसै वडामा पर्ने चावहिल सरस्वतीनगरको सडकमा पनि अनगिन्ती खाल्डाखुल्डी छन् । ६ नं वडामै पर्ने बौद्ध सिमलटार र पाटीटारका सडक दुर्गम ग्रामीण भेगका भन्दा दूरावस्थाका छन् । स्थानीयवासी वडामा सेवा सुविधा लिन जाँदा कर महानगरको दरमा तिर्नुपरे पनि दुर्गम ग्रामीण भेगको जति पनि पूर्वाधार नपाउँदा दुःख लाग्ने गरेको बताउँछन् । वडा नं ६ कागेश्वरी मनोहरा, गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकासँग जोडिन्छ ।
 
महानगरको केन्द्रमा पर्ने वडा १७, १८, १९, २०, २१, २२, २४, २५, ५, १२, ३०, २ र १ गरी १३ वटा वडाको जम्मा भूगोल र वडा नंं. ६, १४ र १६ को एकल भूगोल उस्तै छ । तर बजेटमा ठूलो अन्तर नहुँदा दैनिक जन गुनासो वडा कार्यालयमा आउने गरेको छ ।

भूगोल ठूलो भएका वडाबाट कर समेत धेरै उठ्ने गरेको छ । तर त्यसको उपयोग त्यहीँको विकासमा खर्च हुन सकेको छैन । अध्यक्ष रिजाल वडा नं १६ सँगै जोडिएका तारकेश्वर नगरपालिका र नागार्जुन नगरपालिकाभन्दा धेरै जनसङ्ख्या आफ्नो वडामा रहेको बताउनुहुन्छ । विसं २०६८ को जनगणना अनुसार वडामा ३० हजार घर र एक लाख ३० हजार जनसङ्ख्या छ ।
 
उपत्यकाबाट बाहिरिने प्रमुख नाका कलङ्की क्षेत्रमा पर्ने वडा नं १४ का सडकको अवस्था पनि उस्तै छ । नागार्जुन, चन्द्रागिरी र कीर्तिपुर नगरपालिकासँग जोडिने वडाका धेरै सडकको यात्रा असहज छ । वडा अध्यक्ष शोभा सापकोटा आफू निर्वाचित भएको दुई वर्षमा रु १५ करोडको सडक, ढल, खानेपानी पूर्वाधार निर्माणमा खर्च गरिसकेको बताउनुहुन्छ ।
 
“कालिमाटी–कलङ्की सडक लामो प्रयासपछि बन्यो, पेटी अझै बन्न सकेको छैन, पैदल हिँड्ने ठाउँ छैन, वडाको वाग्मती किनारको कोरिडोरको समस्या समाधान हुनसकेको छैन, कुलेश्वर आवास क्षेत्रको सडकको अवस्था त्यस्तै दयनीय छ, हालै महानगरपालिकाको रु तीन करोड लागतमा यो सडकको बन्ने भएको छ”–उहाँले भन्नुभयो ।
 
त्रिभुवन विश्वविद्यालय मूलद्वारबाट भगवती मार्गको सडक समेत लामो समयदेखि मर्मत सम्भार नहुँदा जीर्ण छ । यसका लागि महानगरले रु दुई करोड बजेट विनियोजन गरेको छ । सोल्टीमोडमा वर्षाद्का समयमा पानी जम्ने समस्या छ । सङ्घीय सरकारको कार्यक्षेत्रमा पर्ने भए पनि मूल सडकको समस्या लिएर जनता पुग्ने पहिलो निकाय वडा कार्यालय नै भएको अध्यक्ष सापकोटा बताउनुहुन्छ ।
 
महानगरका वडा नं १५ र ३२ का केही सडकको अवस्था समेत लाजमर्दो छ । सरकारले महानगर र सँगै जोडिएका नगरपालिकामा कर निर्धारण गर्दा आधा फरक परे पनि पूर्वाधार निर्माणमा ध्यान नदिएको स्थानीयवासी र जनप्रतिनिधिको गुनासो छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ