arrow

जलयात्रा, होमस्टे र जङ्गल सफारीमा ह्यारी व्यस्त

logo
विष्णु नेपाल,
प्रकाशित २०७२ चैत ८ सोमबार
Bardhaya_Prince-harry1.jpg.jpeg
बर्दिया। बेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड आज बिहानै बर्दिया राष्ट्रिय निकुञ्ज पुगेर जलयात्राको मज्जा लिनुका साथै निकुञ्जका वन्यजन्तुको अवलोकन गर्नुभएको छ ।
 
बिहानै हेलिकप्टरबाट हिमाली दृश्यको अवलोकन गर्दै बर्दिया अवतरण गर्नासाथ राजकुमार ह्यारी गँैडामोचर पोस्टबाट बघौरा फाँटसम्म ४० मिनेट जलयात्रा गर्नुभयो । त्यसपछि झन्डै आधा घन्टा जङ्गलमा पैदलयात्रा गर्नुभयो ।
 
राजकुमार ह्यारी पैदल जङ्गल अवलोकन गर्नुभएको कार्यलाई त्यहाँ बाघको गतिविधि ट्र्यापिङ गर्दै आएको क्यामरामार्फत ‘ट्रयापिङ’ गरिएको थियो । आफूले बाघजस्तो हिँडेको गतिलाई ल्यापटपमार्फत हेरेपछि उहाँ खुसीले दङ्ग हुनुभयो । सन् ९० को दशकबाट सुरु भएको बाघ ट्र्यापिङ प्रणाली सन् २००० बाट पूर्णरुपमा कार्यान्वयनमा आएको थियो । ट्र्यापिङका लागि तीनसय क्यामरा राखिएका छन् ।
 
हिजोअस्ति वन्यजन्तुको गतिविधिको निगरानी गर्ने क्यामराले आज भने मानवीय गतिविधिको ट्र्याप ग¥यो । बेलायती राजकुमार ह्यारीले सम्भवतः जीवनको पहिलोपटक नै बाघ हिँडेको जस्तो हिँडाइ गरी त्यो ट्र्यापिङ कार्यबारे जानकारी पनि लिनुभयो ।
 
बर्दिया राष्टिय निकुञ्जका प्राविधिक र विश्व वन्यजन्तु संरक्षण कोषका प्राविधिकले बाघको ट्र्यापिङ प्रविधिबारे राजकुमार ह्यारीलाई अवगत गराएका थिए । निकुञ्जभित्र ५० वटा बाघ रहेको सहायक संरक्षण अधिृकत अशोक भण्डारीले जानकारी दिनुभयो ।
 
जिन्सको पाइन्ट, नीलो आकासे सर्टमा मफलर झुन्ड्याएका राजकुमार ह्यारीले त्यहाँ रहेका वन्यजन्तुको अवलोकन गर्नुभएको थियो । हिमाल, प्रकृति, पर्यावरण र वन्यजन्तु संरक्षणमा विशेष रुची बोकेका ह्यारीले बाघको जस्तो हिँडाइ गरिरहँदा सो दृश्यलाई कैद गर्न सञ्चारकर्मी तँछाडमछाड गरेका थिए ।
 
प्रकृति, पर्यावरण, हिमाल र वन्यजन्तुप्रति विशेष चासो राख्नुहुने राजकुमार ह्यारीले बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकनका बेलामा निकुञ्जका विविध पक्षका बारेमा जानकारी लिनुभयो । झन्डै हजार वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यहाँ मुख्यतः हात्ती, गँैडा, बाघ र २५० प्रजातिका चराचुरुङ्गी पाइन्छन् । यो निकुञ्ज दक्षिण एसियामा सबैभन्दा ठूलो बाघ भएको क्षेत्र हो ।
 
विश्ववन्य जन्तु कोषले सो निकुञ्ज संरक्षणका लागि आर्थिक एवम् प्राविधिक सहयोग पु¥याउँदै आएको छ । यहाँका वन्यजन्ुत हेर्न हरेक वर्ष करिब १० हजार विदेशी पर्यटक जाने गर्दछन् । निकुञ्जका विभिन्न चार ठाउँमा राखिएका हात्तीले राजकुमार ह्यारीको स्वागत गरेका थिए ।
 
हात्तीको शरीरमा वेलकम टु ह्यारी इन नेपाल भनेर लेखिएको थियो । बाघको ट्र्यापिङसम्बन्धी जानकारी लिएपछि ह्यारीले बर्दिया सूर्यपटुवा गाविसको जैविक मार्गमा रहेको थारू घरवास (होमस्टे)को समेत निकै चाखपूर्वक अवलोकन गर्नुभयो । थारू होमस्टे अवलोकनका अवसरमा थारू नाच र संस्कृति प्रदर्शन गरिएको थियो ।
 
पर्या–पर्यटनमा सौखिन राजकुमार ह्यारी नेपाल–बेलायत कूटनीतिक सम्बन्धको द्विशतवार्षिकीका अवसरमा पाँचदिने भ्रमणका सिलसिला चैत ६ गते नेपाल आउनुभएको हो । राजधानीमा व्यस्त कार्यक्रमका बीच राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्नुभएका राजकुमार ह्यारी नेपाल सरकारका तर्फबाट आयोजित स्वागत समारोहमा सहभागी हुनुभएको थियो । उहाँले भक्तपुर र पाटनका ऐतिहासिक, पुरातात्विक महत्वका भूकम्पले क्षति पु¥याएको क्षेत्रको भ्रमण गरी त्यहाँ भइरहेको पुनःनिर्माणका कार्यबारे जानकारी लिनुभयो ।
 
आज र भोलि राजकुमार ह्यारीले बर्दिया, लमजुङ, पोखरामा समय बिताउनुहुनेछ । पर्वतीय पदयात्रामा सौखिन राजकुमार ह्यारी लमजुङमा पदयात्रामा जानुहुनेछ । उहाँले गोर्खाका परिवारजनसित भलाकुसारीसमेत गर्नुहुनेछ । सुन्दर पर्यटकीय नगरी पोखराको प्राकृतिक दृश्यावलोकन गर्न त्यसतर्फ जानुहुने यहाँस्थित बेलायती दूतावासले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ