यस्तो छ होली र यौनको सम्बन्ध

प्रकाशित मिति : २०७२ चैत ९ मंगलबार
भक्तपुर । 
 
होलिया मेला, मय्जू मस्युला 
अबिर भचाः नः, तये मज्युला 
 
“होलीको बेला मायालाई थाहा छैन र, अबिर अलिकति पनि राख्नु हुन्न र” अर्थको योे गीत नेवारी समाजमा फागुपर्वमा गाइने सर्वाधिक लोकप्रिय गीत हो । त्यसैगरी, 
झ्या दकंः तुँकं मा 
व हे ल्यासे जित मा 
व ल्यासे मदेकः जा हे मनया 
 
अर्थात् “झ्यालभरि तोरीको माला छ, त्यही तरुनी मलाई चाहिन्छ, त्यो तरुनी नपाएसम्म भातै खान्न” भन्ने बोलले पनि होली विशेष गरी महिला लक्ष्यित चाड भएको पुष्टि हुन्छ । 
 
वसन्त ऋतुको आगमनसँगै रङ र खुसीको पर्वका रुपमा मनाइने फागुपर्व मङ्गलबार नेपालका पहाडी क्षेत्रमा धुमधामका साथ मनाइँदैछ । तराई क्षेत्रमा भने बुधबार फागुपर्व मनाइँदै छ । विशेषगरी यौन रसयुक्त र महिलालाई लक्ष्यित गरी गीत गाउने र व्यङ्ग्य गर्ने चाड फागु भक्तपुरमा भने बेग्लै रौनक र तरिकाले मनाउने गरिन्छ । 
 
फागुपर्वको सुरुवात भएको जनाउन काठमाडौँको वसन्तपुरमा चिर गाडेसँगै भक्तपुरको तचपालमा पनि चिर गाड्ने गरिन्छ । चिर गाडेसँगै तचपाल भीमसेन मन्दिरमा रहेको पाटीमा भीमसेन र द्रौपदीको यौन समागमको प्रतीकस्वरुप काठको बडेमानको लिङ्ग र लिङ्गले बीच भागमा प्वाल बनाएको रातो कपडा प्रदर्शनमा राखिन्छ । सोही दिनदेखि यौन रसयुक्त गीत गाउँदै बटुवालाई मनोरञ्जन दिने गरिन्छ । 
 
फागुपर्वलाई विशेषगरी नेवारी समुदायमा महिला लक्ष्यित पर्वका रुपमा लिने गरेको पाइन्छ । होलीका परम्परागत लोकभाका र गीतसङ्गीत पनि महिला र यौनसँग सम्बन्धित रहेका छन् । वसन्त ऋतुको आगमनसँगै बोटबिरुवामा पालुवा पलाउने र जताततै हरियाली देखिन थाल्ने तथा फूल फुल्न थाल्ने मनोरम वातावरणले मानिसको मन मष्तिस्कसमेतमा एक खालको तरङ्ग पैदा गर्ने भएकाले चञ्चल मन यौनतर्फ आकर्षित हुने संस्कृतिविद्को भनाइ रहेको छ । 
 
वसन्त ऋतुको आगमनसँगै रुख बिरुवामा नयाँ पालुवा आउने र त्यससँगै मानिसमा कामवासना जागृत हुने समय भएकाले फागुपर्वमा यौन रसयुक्त गीत प्रचलनमा आएको संस्कृतिविद् ओम धौभडेलले बताउनुहुन्छ । 
 
उहाँका अनुसार १७औँ शताब्दीदेखि यस्तो चलन चलेको हो । कृषि पेसामा संलग्न उपत्यकावासी वसन्त ऋतुको आगमनसँगै केही फुर्सदिला हुने र फुर्सदमा मनोरञ्जनतर्फ आकर्षित हुने तर तत्कालीन समयमा मनोरञ्जनको साधन कम भएकाले सुन्दरी युवतीको खोजमा निस्कने परम्पराको विकाससँगै फागुमा बढी यौन रसयुक्त सङ्गीत गुञ्जने गरेको उहाँको भनाइ छ । 
 
यसैकारण कसैकसैले यसलाई अश्लील पर्वका रुपमा चित्रण गर्ने प्रयास गरेको पाइएको छ । संस्कृतिकर्मी धौभडेल यसलाई अश्लील पर्वका रुपमा नभई विशुद्ध सांस्कृतिक पर्वका रुपमा लिनुपर्ने बताउनुहुन्छ । फागुपर्वले मानिसमा विद्यमान भेदभाव अन्त्यको सन्देश दिने उल्लेख गर्दै धौभडेलले केटाकेटी, युवायुवती, सबै जातजाति फागुको रङमा रङ्गिने र सबैले खुसीको रङ साटासाट गर्ने भएकाले यो चाड समावेशी चाडसमेत भएको बताउनुभयो । 
 
यसैगरी अर्का संस्कृतिविद् एवम् इतिहासविद् पुरुषोत्तम लोचन श्रेष्ठले प्राचीनकालदेखि नै समाज पुरुष प्रधानका रुपमा विकास भएसँगै महिलालाई यौनको प्रतीकका रुपमा लिने र महिलालाई यौन चाहना पूरा गर्ने साधनका रुपमा लिने प्रवृत्ति विकास भएकाले फागुमा महिला लक्ष्यित गीत सङ्गीत गुञ्जने गरेको बताउनुभयो । 
 
उहाँले फागु पर्वलाई प्रेम दिवसका रुपमा लिने प्रचलन भएकाले फागुमा यौनरस र प्रेमरसका गीत गाउने प्रचलन रहेको बताउनुभयो । भक्तपुरको तचपाल टोलमा गाडिने चिरसँगै भीमसेनको लिङ्गका प्रतीक काठको लिङ्ग प्रदर्शनमा राखिनुले पनि होली महिला केन्द्रित पर्व भएको पुष्टि हुने श्रेष्ठको तर्क छ । 
 
फागु विजयको हर्षोल्लासका रुपमा एकापसमा रङ दलेर नाचगानका साथ मनाइने पर्व हो । दिल खोलेर स्वतन्त्र भई नाचगान गर्ने पर्व, मेलमिलापको पर्व, उन्मत्त भएर आफँैभित्र हराउने पर्व तथा तनमन रङ्गाउने पर्वका रुपमा प्रचलित फागुपर्वका अवसरमा भक्तपुरका स्थानीय धिमे खलः, बाँसुरी बाजा खलः र दाफा भजन खलःले आआफ्ना बाजाको पूजा गर्ने र बाजागाजासहित एकापसमा अबिर दलेर टोल छिमेक परिक्रमा गरी मनाउने गर्दछन् । 
 
युगौँदेखि मनाइँदै आएको फागुपर्वलाई अहिलेका युवा पुस्ताले पर्वको महत्व बुझ्न नसक्दा समाजमा फागुपर्व सामाजिक विकृतिका रुपमा देखिन थालेको छ । उमेर, लिङ्ग र नाता सम्बन्धमा कुनै बाधा अड्चन नराखी रङ्गीविरङ्गी रङ एकआपसमा लगाएर वातावरणलाई नै रङ्गिन बनाई मनाइने फागुपर्वमा युवापिँढीले उच्छृङ्खल क्रियाकलाप गर्दा त्रासको पर्वमा परिणत भएको संस्कृतिकर्मी धौभडेलले बताउनुभयो । 
 
शास्त्रअनुसार हिरण्यकश्यपु नामका राक्षसको छोरा प्रह्लाद असाध्यै विष्णु भक्त थिए । उनको विष्णु भक्तिले सारा राक्षसी साम्राज्य नै हल्लिन थालेपछि प्रह्लादलाई मार्न हिरण्यकश्यपुले अनेक हतकण्डा अपनाउँछ । तर प्रह्लादलाई केही हुँदैन । हिरण्यकश्यपुकी बहिनी होलिकालाई उनको तपस्याबाट प्रशन्न भएर अग्नि देवले आगोले छुन नसक्ने वरदान दिएको थियो । 
 
यस्तैमा एक दिन हिरण्यकश्यपुले आफ्नी बहिनी होलिकालाई प्रयोग गरी विष्णुभक्त छोरा प्रह्लादलाई अग्निमा दहन गर्ने योजना बनाउँछ । सो योजनाअनुसार होलिका प्रह्लादलाई काखमा राखी अग्निमा बस्दछ तर प्रह्लादको सच्चा भक्तिले गर्दा होलिका जलेर मृत्यु हुन्छ तर भक्त प्रह्लादलाई आगोले छुदैन । यसैको खुसियालीमा होली पर्व मनाउन थालिएको हो । 
 
यसैबीच, महानगरीय प्रहरी परिसर भक्तपुरले होलिका नाममा सर्वसाधारण बटुवा र महिलालाई लक्ष्य गरी लोला हान्ने जो सुकैलाई पक्राउ गरी सार्वजनिक मुद्दा चलाउने तयारी गरेको छ । होलीलाई शान्त, सभ्य बनाउन र लोला हान्ने प्रवृत्तिलाई निरुत्साहित गर्न लोला हान्नेलाई सावजनिक मुद्दा चलाउने तयारी गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक किरण बज्राचार्यले बताउनुभयो । 
 
फागु पर्वका बेला कुनै अवाञ्छित घटना हुन नदिन सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको बताउँदै उहाँले कसैको इच्छा विपरीत फोहर पदार्थ फाल्ने, रङ दल्ने, जबर्जस्ती लोला हान्नेलाई सार्वजनिक ऐनअन्तर्गत बढीमा दुई वर्षसम्मको जेल सजाय गरिने जानकारी दिनुभयो । रासस 

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ