arrow

बजेट निर्माणको ७ महिने प्रक्रिया, कात्तिकदेखि जेठसम्म के-के हुन्छ काम ?

logo
प्रकाशित २०७६ जेठ १५ बुधबार
budget-20181.jpg

काठमाडौं । बुधबार संघीय सरकारको आगामी आर्थिक वर्षको वार्षिक बजेट संसदमा पेश हुँदैछ । नेपालको वार्षिक बजेट विनियोजनको लागि प्रारम्भदेखि बजेट भाषणसम्म मात्रै अर्थमन्त्रालयले कूल ३८ वटा प्रक्रिया अपनाउने गरेको छ । यो ३८ प्रक्रिया पूरा गर्नको लागि राष्ट्रिय योजना आयोग र अर्थमन्त्रालयले कात्तिकको दोस्रो सातादेखि नै विभिन्न कार्यतालिकाहरु तय गरेर काम गर्दै आएका हुन्छन् । त्यो पनि समय तोकेर नै । 

जसमा बजेट तर्जुमा फारम, संकलन, टेबुलेसन तथा अध्ययनदेखि व्यवस्थापिका संसद्मा अर्थमन्त्रीले बजेट पेश गर्नेसम्मका प्रक्रियामा पनि बीचमा ३६ वटा प्रक्रियाहरू रहने गरेको छ। अहिले अर्थमन्त्रालयले बजेट तर्जुमा दिग्दर्शन, २०७३ ९सातौं संस्करण० को अधिनमा रही बजेट निर्माण गरिने अर्थमन्त्रालयको बजेट महाशाखाले जनाएको छ। सबै कामहरु सोही दिग्दर्शनको अधिनमा रहेर गर्ने गरिन्छ । उनका अनुसार सो ३८ वटा प्रक्रिया पूरा गर्नको लागि अर्थमन्त्रालयले महाशाखाका विभिन्न तहका कर्मचारीहरूको छुट्टाछुट्टै समूह बनाएर काम गर्ने गर्दछ। त्यसले गर्दा अहिले बजेटको कति नम्बरसम्मको काम सकियो भन्ने कुरा भने यकीन गर्न कठिन छ।

के-के हुन्छ काम कात्तिकदेखि ?
बजेट निर्माणको सबैभन्दा पहिलो काम हो आगामी आर्थिक वर्षको बजेटको प्रक्षेपणको लागि बजेटको सीमा तोक्नु भन्दा अगाडि त्रि वर्षीय खर्च प्रक्षेपणको आधारमा विभिन्न मन्त्रालय वा निकाय अर्थमन्त्रालय र राष्ट्रिय योजना आयोगले नीतिगत छलफल र पुनरावलोकन गरी बजेट प्रक्षेपणको प्रारम्भिक प्रतिवेदन तयार गर्ने अवधारणा पत्र बनाउने । यो काम राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र सम्बन्धित मन्त्रालयहरुले आ आफ्नो तर्फबाट गर्ने गर्दछन् । यो कात्तिक महिनाको दोस्रो हप्तासम्म काम सकिसक्नु पर्ने हुन्छ ।

त्यस्तै, बजेट निर्माणको दोस्रो काम अन्तर्गत् स्रोत अनुमान समितिले देशको समष्टिगत आर्थिक स्थिति विप्रेषण गरी स्रोत साधनको प्रारम्भिक प्रक्षेपण तयार पारी बनेट समितिमा पेश गर्ने गरिन्छ । यो काम योजना आयोगको राष्ट्रिय योजना आयोगको स्रोत समितिले गर्दछ । जुन कात्तिकको तेस्रो सातासम्ममा सम्पन्न गरिसक्नु पर्दछ ।  

त्यसपछिको प्रक्रिया अन्तर्गत् बजेट समितिले केन्द्र स्तरको कूल बजेटको आधार र सीमा निर्धारण गर्ने गर्दछ । यो बजेट समिति, राष्ट्रिय योजना आयोग, बजेट तथा कार्यक्रम महाशाखा र अर्थमन्त्रालयको जिम्मेवारी भित्र पर्दछ । मंसिर दोस्रो हप्तासम्म तयार पारीसक्नु पर्ने उल्लेख छ । त्यसपछि बजेट तर्जुमामा मार्गदर्शन र सीमा पठाउने काम गरिन्छ। 

मन्त्रालयगत र कार्यगत रुपमा बजेटको सीमा र निर्देशन तयार गरी बजेटको सीमा र निर्देशन पठाउने काम गरिन्छ । यो काम राष्ट्रिय योजना आयोग र अर्थमन्त्रालयको जिम्मेवारी भित्र पर्दछ । यो काम मंसिरको तेस्रो हप्ता भित्रै तयार पारिसक्नु पर्दछ । 

मंसिरको चौथो हप्तासम्ममा प्राप्त बजेट सीमा र मार्गदर्शन आफू अन्तर्गतका विभाग, जिल्ला कार्यालय र आयोजनाहरुमा पठाउने गरिन्छ । यो सम्बन्धित मन्त्रालयहरुबाट नै गर्ने गरिन्छ । 

त्यसपछिकोकाम भने कार्यक्रम तथा बजेट तयार गरी पेश गर्ने गरिन्छ । जस अन्तर्गत् पौष महिनाको दोस्रो हप्तासम्म प्राप्त बजेटको सीमाभित्र रही बजेट तयार गरी सो अनुसारको बजेट विषयगत मन्त्रालय बजेट सूचना प्रणालीमा प्रविष्ट गर्ने गरिन्छ । जस अन्तर्गत् वार्षिक लक्ष्य प्राप्त हुनेगरी बजेट तयार गरी सो अनुसारको बजेट एलएमबिआईएस मा प्रविष्ट गरी सम्बन्धित विभागमा पठाउने गरिन्छ । यो सम्बन्धित खर्च गर्ने कार्यालय वा इकाईको जिम्मेवारी भित्र पर्दछ । 

त्यसपछि सम्बन्धित विभागहरुले पौष मसान्तभित्रै आफ्नो विभागको बजेट तयार गरी एलएमबिआईएस मा प्रविष्ट गर्ने र मातहतका कार्यालयहरु तथा आयोजनाहरुबाट एलएमबिआईएस मार्फत् प्राप्त भएको बजेट प्रस्ताव उपर छलफल तथा पुनरावलोकन गरी मन्त्रालयमा पठाउने गर्दछन् । त्यसपछि माघको पहिलो साता भित्र सम्बन्धित मन्त्रालयहरुले सम्बन्धित मन्त्रालयमा समग्र कार्यगत नीति र मार्गदर्शन सहित आवश्यकता अनुसार खरिद गुरु योजना र वार्षिक खरिद योजनाको आधारमा विभागहरुसँग बजेट तथा कार्यक्रममा छलफल गर्ने गर्दछन् । त्यसपछि माघको तेस्रो हप्तासम्म सम्बन्धित मन्त्रालयले मन्त्रालय स्तरबाट आफ्नो बजेटलाई एलएमबिआईएस मा प्रविष्ट गरी जिल्ला स्तर र केन्द्रीय स्तरका आयोजना कार्यालयहरु र विभागहरुबाट प्राप्त भएको बजेटलाई पुनरावलोकन गरी मन्त्रालयहरुले अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगमा पठाउने गर्दछन् । 

त्यसपछिको काम कार्यक्रम तथा बजेटमाथि छलफल गर्ने हुन्छ । यसमा त्रिवर्षीय खर्चको प्रक्षेपणसहितको छलफल गरिन्छ । जस अन्तर्गत् माघको चौथो हप्तादेखि फाल्गुनको दोस्रो हप्तासम्म अर्थ मन्त्रालय र सम्बन्धित मन्त्रालयको सहभागितामा राष्ट्रिय योजना आयोगले केन्द्र, प्रदेश र स्थानीय तहको कार्यक्रम तथा बजेटको नीतिगत छलफल गर्ने गर्दछन् । यो छलफलमा तीनै तहका सरकारहरुको चालू खर्च, पुँजीगत र वित्तीय व्यवस्था तर्फको कार्यक्रमको विषयमा छलफल हुनेछ । त्यसपछि सम्बन्धित मन्त्रालयहरुले फाल्गुनको तेस्रो हप्तासम्म आगामी वर्षको नीति तथा कार्यक्रम राष्ट्रपतिबाट व्यवस्थापिका संसदलाई सम्बोधन गर्ने प्रयोजनको लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाईं राष्ट्रिय योजना आयोगको सचिवालय र अर्थ मन्त्रालयलाई जानकारी दिने गरिन्छ ।

त्यस्तैm फाल्गुनको चौथो हप्तादेखि चैत मसान्तसम्म राष्ट्रिय योजना आयोग सहित सम्बन्धित मन्त्रालयको सहभागितामा अर्थ मन्त्रालयले एलएमबिआईएस मार्फत् प्राप्त चालू पुँजीगत र वित्तीय व्यवस्था सहितको बजेटको शीर्षकगत छलफल गर्ने गर्दछन् । बैशाखको पहिलो हप्ता भने अर्थमन्त्रालयले बजेटको पहिलो मस्यौदा तयार पार्ने गर्दछ । 

बैशाखको पहिलो हप्ता नै तयार पारिएको मस्यौदाको आधारमा अर्थमन्त्रीले संघीय संसदको अर्थसमितिमा बजेटको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल गर्नेछन् । बैशाखको दोस्रो साता राष्ट्रपतिले संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यतालिका रहनेछ । 

यस पछिका कार्यक्रमहरुमा बैशाखको तेस्रो साता मस्यौदा बजेट र कार्यक्रमको राष्ट्रिय योजना आयोगको बैठकमा प्रस्तुति र छलफल गर्ने कार्यतालिका रहेको छ । जेठको पहिलो साता नै अर्थमन्त्री र योजना आयोगले समेत बजेटले समेटेका नीति तथा कार्यक्रमहरु राष्ट्रिय योजना आयोगको बैठकबाट स्वीकृत गर्ने कार्यतालिका रहेको छ । 

जेठको दोस्रो साता अर्थात् बजेट भाषण हुनुपूर्व अर्थमन्त्रीले बजेटको मस्यौदालाई मन्त्रिपरिषद्मा पेश गर्ने गर्दछन् भने जेठ १५ गते संसदमा बजेट भाषण गर्ने गरिएको छ । यो सुरुवातदेखि बजेट भाषणसम्मको प्रक्रिया हो । यस पछि पनि विभिन्न कार्यक्रमहरु बजेट कार्यान्वयनको लागि हुने गर्दछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ