गैर-मुस्लिम समुदायमाथि हुने अत्याचार रोक्न पाकिस्तान हिन्दू परिषद्को माग
एजेन्सी,
प्रकाशित २०७६ जेठ १८ शनिबार
983
Shares
काठमाडौं। पाकिस्तान हिन्दू परिषद्ले हिन्दूको धार्मिक स्थलको संरक्षण गर्न र गैर–मुस्लिम समुदायमाथि हुने अत्याचार रोक्नका लागि माग गरेको छ। साथै परिषद्ले क्षमताको आधारमा हिन्दू नागरिकलाई पनि इभ्क्यू ट्रस्ट प्रोपर्टी बोर्ड (ईटीपीबी)को अध्यक्षमा छनोटका लागि माग गरेको छ।
मंगलवार सार्वजनिक गरिएको वक्तव्यमा परिषद्का अध्यक्ष गोपाल खमुआनीले र महासचिव पर्षोत्तम रमानीले स्थानीय सञ्चारमाध्यममा प्रकाशित समाचारको शीर्षकप्रति आक्रोश व्यक्त गरे। यसका साथै परिषद्का अर्का सदस्य रमेश भंकवानीले प्रधानमन्त्री इमरान खानलाई ईटीपीबीको अध्यक्षमा मुस्लिम समुदायको मानिसलाई नै अध्यक्ष बनाइएको विषयको विरोध गर्दै पत्र लेखेका छन्।
साथै परिषद्ले ऐतिहासिक र धार्मिक स्थानमा भइरहेको आक्रमणप्रति पाकिस्तान हिन्दू परिषद्ले आपत्ति प्रकट गरेको छ। समाजका खराब तत्वले त्यस किसिमका स्थानमा आक्रमण गरेको परिषद्को बुझाइ छ। परिषद्ले त्यस किसिमका सबै क्षेत्रमा सरकारले विशेष ध्यान दिएर त्यसको संरक्षण गर्नुपर्ने बताएको छ।
यसबाट पर्यटनमा पनि टेवा पुग्ने परिषद्को विश्वास छ। यसै यस किसिमको कार्यले पाकिस्तानको राम्रो छवि पनि अन्य अन्तर्राष्ट्रिय जगतमा फैलिने बताइएको छ। केही महत्वपूर्ण कुरा चोर्नका लागि हिन्दू भवन भत्काइएको परिषद्को आरोप छ। परिषद्को वक्तव्यमा २ सय वर्षको इतिहास बोकेको श्रीशंकार आनन्द भारती मन्दिरमा गरिएको आक्रमणको भत्र्सना गरिएको छ।
यो मन्दिर शिखरपुर सहरमा रहेको छ। यहाँ आक्रमण मात्र नभई मन्दिरमा बहुमूल्य सम्पत्ति पनि चोरिएको परिषद्ले बताएको छ। पाकिस्तानको धार्मिक तथा निजी सम्पत्ति संरक्षणको जिम्मेवारी बोकेको ईटीपीबीको अध्यक्षमा पनि पछिल्लो केही समययता मुस्लिम समुदायको वर्चश्व रहँदै आएको छ। यसले न्याय पाउनेमा पनि आशंका उब्जिएको परिषद्को ठम्याइ छ।