arrow

जुम्लामा सम्बन्धविच्छेदका उजुरी वढ्यो

logo
विजय रावत,
प्रकाशित २०७६ जेठ २१ मंगलबार
devorce.jpeg

जुम्ला । सम्बन्धविच्छेदका लागि उजुरी गर्नेको सङ्ख्या जुम्लामा बढ्दै गएको छ । पछिल्लो समय जिल्ला अदालत जुम्लामा सम्बन्धविच्छेद गर्न उजुरी दिन आउनेहरुमा महिलाको तुलनामा पुरुषको सङ्ख्या बढेको हो । नयाँ मुलुकी ऐनले पुरुषले पनि सम्बन्धविच्छेदका लागि अदालतमा उजुरी दिन सकिने व्यवस्था गरेपछि उनीहरु सम्बन्धविच्छेदका उजुरी दिन थालेका हुन् ।

चन्दननाथ नगरपालिका–८ का २७ वर्षीय हिक्मत रोकायाले जिल्ला अदालत जुम्लामा सोमबार सम्बन्धविच्छेदको उजुरी दिएका छन् । खान नपकाएको र आफूसँग नबसेको भन्दै उहाँले पत्नी दुर्गादेवी भण्डारी रोकायासँग सम्बन्धविच्छेद गर्न उजुरी दिएका हुन् । पहिले महिलाले मात्रै अदालतमा सम्बन्धविच्छेदको उजुरी दिन सक्ने कानूनी व्यवस्था थियो ।

पुरुषले सम्बन्धविच्छेद गराउन चाहेको खण्डमा गाविस हुँदै आउनुपर्दथ्यो । तर, अहिले अदालतमै उजुरी दिने व्यवस्था कार्यान्वयनमा आएपछि पुरुष पनि सम्बन्धविच्छेदका उजुरी दिन थालेका हुन् । नयाँ संहिता कार्यान्वयन भएपछि अदालतमा छ पुरुषले अदालतमा सम्बन्धविच्छेदको उजुरी दर्ता गराएका छन् । अहिले उजुरी उपर छानबिन भइरहेको अदालतका तामेलदार नन्दबहादुर महतले बताए ।  

उहाँले भने, “पहिले पतिपीडित महिलाले उजुरी दिँदै आएका थिए, अहिले पत्नीपीडित पुरुषले पनि अदालतमा सम्बन्धविच्छेदको उजुरी दिन थाले ।” उहाँका अनुसार महिलाको उजुरी उपर छिट्टै कारवाही हुने गरेकामा पुरुषले दर्ता गराएको उजुरी छिन्न न्यूनतम एक वर्षसम्म लाग्ने गर्छ ।

पहिले महिलाले उजुरी दिन पाउँदा पुरुषलाई अन्याय महसुस भइरहेको थियो । अहिले पुरुषले पनि उजुरी दिने व्यवस्था हुँदा पत्नीपीडित पुरुष पनि अदालतसम्म पुग्न सक्ने भएका हुन् । पुरुषले दिएको उजुरीका आधारमा पतिपत्नीलाई झिकाएर मेलमिलापको प्रक्रिया थाल्छौँ । एक वर्षभित्र गर्नुपर्ने सबै प्रक्रिया अपनाउँछौँ ।

तामेलदार महतले भने, “हर प्रयासले पनि मिल्न नचाहेको खण्डमा मात्रै सम्बन्धविच्छेद गर्ने अवस्थामा पुग्छौँ”, चालू आर्थिक वर्षमा १७ महिलाले सम्बन्धविच्छेदको उजुरी दर्ता गराएकामा आठ उजुरी उपर कारवाही भइसकेको छ । बाँकी उजुरीउपर प्रमाण सङ्कलनको काम भइरहेको छ । गत वर्ष २९ सम्बन्धविच्छेदको उजुरी परेकामा २६ फछ्र्यौट भइसकेका छन् । तीन उजुरी छिन्न बाँकी रहेको जिल्ला अदालत जुम्ला जनाएको छ ।

नयाँ मुलुकी संहिताले कानूनबमोजिम अंश लिई वा मानो छुट्टिइ पति–पत्नी भिन्न बसेको अवस्थामा बाहेक पत्नीले पतिको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा सम्बन्धविच्छेद गर्न पाउने व्यवस्था छ । तामेलदार महत भन्छन्, “पत्नीले पतिलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, पत्नीले पतिको अङ्गभङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा, पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा सम्बन्धविच्छेद गर्न पाउँछन् ।” रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ