- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
ललितपुर । सडक, सरकारी कार्यालय र निजी नर्सरीबाट अतिक्रमणमा परेको ललितपुर लगनखेलको मल्लकालीन न्हू पोखरीको पुनःनिर्माण पुरानै शैलीमा शुरु भएको छ । वडा नम्बर ५ को वडा कार्यालयले नै पोखरी मिचेको खुलेपछि, यतिबेला वडा अध्यक्ष विकासमान श्रेष्ठ आफैं, वडा कार्यालय भत्काएरै भएपनि पोखरी संरक्षण गर्ने निर्णयमा पुगेका छन् ।
न्हू पोखरी सबैभन्दा बढी सडकले मिचेको छ । तर सडक विभाग, अहिलेसम्म बोलेको छैन । पोखरी मिच्ने नर्सरी पनि छ । नर्सरी हटाउन वडाअध्यक्ष श्रेष्ठले उर्दी जारी गरिसकेका छन् ।
अतिक्रमणको चपेटामा परेको न्हु पोखरी
विभिन्न अध्ययनले, न्हू पोखरी मल्लकालीन राजा सिद्धिनरसिंह मल्लको पालामा निर्माण भएको देखाएको छ । यो पोखरी १६ औं शताब्दी अघिनै निर्माण भएको अध्ययनले देखाएको स्थानीय आशाकाजी महर्जनले बताए ।
करीब १० रोपनी क्षेत्रफलमा फैलिएको यो पोखरी माँःअपा (पुरानो शैलीको ५ इन्च चौडाई र ८ इन्च लम्बाई भएको इँटा) र बज्र (सुर्की बालुवा र चूना मिसाएर बनाएको ) मिलाएर पुनःनिर्माण गरिने, पुनःनिर्माणको जिम्मा लिएका भक्तपुरको भाजु पोखरी निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्ण प्रसाद दुमरुले बताए ।
पोखरीको चारैतिर तीन तहको घेरो छ । पिँधको तह फोहोरको थुप्रोले पुरिएको छ । दोस्रो तहको भाग चारैतिर यथावत रहेपनि तेस्रो अर्थात् माथिल्लो तह भने अतिक्रमणको चपेटामा परेको छ ।
पोखरीको पश्चिम भाग सडक विस्तारका क्रममा माथिल्लो तह नै सडकमा गाभिन गएको छ । उत्तरको भाग नर्सरीले र दक्षिण भागमा, ललितपुर महानगर वडा कार्यालय ५ को भवन निर्माण भएको छ ।
पोखरीको संरक्षणमा पहल नहुदा पोखरीको लगभग एक रोपनी जग्गा अतिक्रमणमा परेको र अन्जानमै वडाको भवनले समेत पोखरीको अतिक्रमण हुन गएकोमा, अध्यक्ष विकासमान श्रेष्ठ चिन्तित देखिए ।
तत्काल करिब १ करोड लागतमा यो पोखरीको पुनःनिर्माण गर्न लागिएको भए पनि ५ करोड लागतमा बृहत योजना सहित पुनःनिर्माण गर्ने लक्ष्य राखिएको छ । वडा अध्यक्ष श्रेष्ठले, आवश्यक परे वडा कार्यालय भत्काइने बताए । वडा कार्यालय विस्तारका क्रममा नयाँ भवन निर्माण गरिएको तीन महिना मात्रै भएको छ ।
पोखरीमा के छ ?
पोखरीको बीच भागमा केहि न केहि संरचना राख्ने परम्परा छ । न्हू पोखरीको उत्खननको क्रममा पनि केन्द्र भागमा काठको खम्बा राखिएको पाइएको छ । यो नागको प्रतिकका रुपमा राखिएको हुन सक्ने पोखरी निर्माणमा संलग्न दुमरुले दाबी गरे ।
यो पोखरीमा विगतमा राजकुलोबाट आएको दुईवटा ससाना खोलाको पानी आएर जम्मा हुने गरेको थियो । न्हू पोखरीमा जम्मा भएको पानी रिचार्ज भएर ललितपुरको उत्तरी क्षेत्रमा रहेका अन्य ससाना पोखरी, ढुंगेधारा र इनारमा पानी संकलन हुने गरेको छ ।
अहिले शहरीकरणसँगै शुरु भएको अतिक्रमण र अव्यवस्थित रुपमा घर निर्माणले गर्दा न्हू पोखरीमा मात्र नभई त्यस क्षेत्रका पानीका स्रोतमा समेत पानी पुग्ने बाटा बन्द हुन थालेका छन् ।
कसरी बन्दैछ ?
गएको जेठ ९ गते देखि ४० जना कामदारलाई भक्तपुरका विभिन्न स्थानबाट बिहान ९ बजे जम्मा गरी ल्याउने र बेलुका ५ बजेसम्म काम गरिसकेपछि फेरी घर पुरयाइदिनेसम्मको काम गरिँदैछ । हरेक दिन करीब ३५ जना महिला सहितका कामदारले विस्तारै फोहोरले पुरेको पोखरीको भित्ता खोज्ने र फोहोर माटो झिक्ने काम गरिरहेका छन् ।
यसमा खटेका जनशक्तिले यसअघि भाजु पोखरीको पुननिर्माण गरिसकेका छन् । भाजु पोखरी निर्माणको जिम्मा पाएकै अध्यक्ष दुमरुले अहिले काठमाडौंको रानीपोखरी र ललितपुरको यो न्हु पोखरीको पुनःनिर्माणको समेत जिम्मा लिएका छन् । भाजु पोखरीको पुनःनिर्माणमा प्रयोग गरिएको शैलि, डिजाइन तथा सामग्रीको प्रशंसा गर्दै, रानीपोखरी र न्हू पोखरी पुन निर्माणमा पनि यही टोलीलाई जिम्मा दिइएको हो ।
पोखरी पुनःनिर्माणको लागत
करीब २ साताअघि देखि सुरु गरिएको न्हू पोखरीको पुनःनिर्माणमा करीब ५ करोड लाग्ने वडाध्यक्ष बिकासमान श्रेष्ठको अनुमान छ । यसका लागि यो आर्थिक बर्षमा बिनियोजन भएको ५० लाख रुपैयाँले काम थालनी भएको श्रेष्ठले बताए ।
ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले, अहिले एक करोड रुपैया बजेट छुटयाउने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रदेश सांसद राजकाजी मर्हजनले पनि स्थानीय पूर्वाधार विकास कोषबाट पोखरी निर्माणका लागि ५० लाख छुटयाउने प्रतिबद्धता जनाएका छन् ।
न्हू पोखरीको अहिले तल्लो भागमा जम्मा भएको माटो झिक्ने, चारैतिरको वास्तबिक भागको उत्खनन गर्ने काम अघि बढेको छ भने बिस्तृत परियोजना प्रतिबेदनका लागि मास्टर प्लान नै बनाएर अघि बढ्ने तयारी रहेको अध्यक्ष श्रेष्ठले बताए ।
पोखरीलाई पुरानै स्वरुपमा फर्काउन के गर्नुपर्छ ?
यो पोखरीलाई पुरानै स्वरुपमा फर्काउने हो भने पश्चिमको बगैंचा भत्काउनुपर्छ । उत्तरको भाग नर्सरीलाई हटाइनुपर्छ र दक्षिण भागमा रहेको ललितपुरको वडा कार्यालयको भवन समेत भत्काउनुपर्ने देखिन्छ, जुन भर्खरै जनप्रतिनिधि आएपछि भवन बिस्तार गर्ने क्रममा दुईवटा ठुला कोठा समेत निर्माण गरेको पाइएको छ ।
सबैभन्दा चुनौति भनेको पोखरी वा बाटो भन्ने प्रश्न छ । सडक बढाउँदै जाने क्रममा पोखरीको पश्चिम भागमा रहेको पोखरीको माथिल्लो भाग एक तह सबै बाटोले खाइसकेको छ । के अब यो फिर्ता होला त ?
विकासका नाममा पछिल्लो समयमा यस्ता पुरातात्विक सम्पदा क्षेत्रको अतिक्रमण हुन थालेका छन् । आफ्नै आँखा अगाडि यसरी अतिक्रमण हँुदा पनि मुकर्दशक बनेका स्थानीयले विकासको नाममा गरिएका विनाश हेरिबस्ने कि सम्पदा संरक्षण ?