arrow

संसदीय दलमा सर्वसम्मतको प्रस्ताव लिएर बोहोराटार पुगेका देउवालाई पौडेलले के भने ?

रणनीतिक योजनामा देउवा

logo
प्रकाशित २०७२ चैत १० बुधबार
Sher-Bahadur-Deuba-and-Ram-Chandra-Poudel-700.jpg.jpeg
काठमाडौं । कांग्रेस संसदीय दलको निर्वाचन केन्द्रीत छलफलमा जुटेका सभापति शेरबहादुर देउवा सो विषयमा छलफल गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल कहाँ पुगेका छन् । वर्षमा विरलै मात्र पौडेल निवास बोहोराटार पुग्ने गरेका देउवा चैतकै १० दिनभित्र दुई पटक पुगेका हुन् । यसअघि देउवा महाधिवेशनपछी पौडेलले आयोजना गरेको चियापानमा सरिक हुन उनको निवास पुगेका थिए । 
 
वुधबार बिहान पौडेल निवास पुगेका सभापति देउवा र पौडेलबीच संसदीय दलको निर्वाचनमा कसरी जाने र त्यसपछी नियुक्त हुने केन्द्रीय पदाधिकारी तथा सदस्यहरुको हकमा कसरी निर्णय गर्ने भन्ने विषयमा छलफल भएको पौडेलनिकट एक नेताले बताए ।  उनीहरुबीच संसदीय दलमा आ–आफुलाई सघाउन प्रस्ताव आदान–प्रदान भएको बुझिएको छ । पार्टी एकताको सन्देश दिने बताउँदै आएका सभापति देउवाले आफुलाई नै सर्वसम्मत संसदीय दलको नेता बनाउने पौडेललाई प्रस्ताव राखे । जवाफमा पौडेलले संसदीय दलमा उम्मेद्वार बन्न आफुलाई पनि दबाब रहेको र आफु नबनेको हकमा देखिएका आकांक्षीहरुको व्यवस्थापन गर्नुपर्ने परिस्थिति रहेको देउवालाई सुनाए ।
 
उनले भने, ‘सर्वसम्मत गर्ने भएपनि तपाई पार्टी सभापति निर्वाचित भइसक्नु भएको छ, पार्टी एकताकै सन्देश पनि जाने हुनाले हाम्रो समूहबाट संसदीय दलको नेता बन्ने कुरामा तपाईले नै सर्वसम्मतिको प्रस्ताव गर्नु पर्छ ।’ पौडेलले थपे, ‘बाहिरको प्रतिस्पर्धी दलहरुसंग स्वभाविक रुपमा प्रतिस्पर्धा गर्न समेत, पार्टीभित्रको मजबुद एकताले काम गर्ने हुनाले र बाहिर जाने सन्देश समेत सकारात्मक हुने भएकाले आफ्नै समूहबाट संसदीय दलको नेता बनाउनु उपयुक्त हुन्छ ।’
 
संसदीय दलमा स्वभाविक रुपमा मजबुद देखिएका देउवा आफु जित्ने आँकलन सहित सर्वसम्मत बनाउन प्रस्ताव लिएर पौडेल कहाँ जाँदा पौडेलको अपेक्षितनै जवाफ आएपछि यसविषयमा टुंगो नलगाई दुवैले छलफल सक्काए । भावि प्रधानमन्त्रीको ढोका खोल्ने संसदीय दलको नेता बन्ने कुरालाई देउवा र पौडेल दुबैले महत्वका साथ लिएका छन् । पौडेलले बाँकी पदाधिकारी नियुक्त गर्दा समेत मिलाएर गर्नुपर्ने धारणा राखेको बताइएको छ । यी दुईबीच भएको छलफल निष्कर्षमा नपुगेपनि देउवाले आफुले महत्वपूर्ण निर्णय गर्नु अघि सल्लाह गर्ने भन्दै पौडेललाई आश्वस्त पारेका थिए ।  
 
देउवाको रणनीति 
केन्द्रीय कार्यसमितिमा हाल सम्म ७१ सदस्य हुँदै प्रस्ट बहुमत रहेका देउवाले सर्प पनि मरोस्, लठ्ठी पनि नभाँचिओस् भन्ने रणनीति अख्तियार गरेका छन् । देउवाले भोली सल्लाह परामर्शविनै निर्णय गरेको भन्ने गलत सन्देश बाहिर नजाओस् भन्नका लागि पौडेलसहितका नेताहरुसंग छलफल भेगघाट गरिरहेका स्रोत बताउँछ । संसदीय दलको चुनावअघि देउवाले बाँकी पदाधिकारी नियुक्त गर्ने कुरामा छलफल गर्ने तर, निर्णय नगर्ने मनस्थिति बनाएका छन् ।
 
मनोनयन गर्न बाँकी रहेका पदाधिकारी उपसभापति, महामन्त्री र सह–महामन्त्रीको व्यवस्थापन संसदीय दलको निर्वाचन पछी गर्ने उनको योजना छ । त्यसपछि मात्रै बाँकी रहेका केन्द्रीय सदस्यबारे निर्णय हुनेछ । कांग्रेस केन्द्रीय कार्यसमितिले चैत २३ गते संसदीय दलको निर्वाचन गर्ने तयारी गरेको छ । 
 
कारण : पदाधिकारी बार्गेनिङ 
केन्द्रीय कार्यसमितिमा प्रस्ट बहुमत रहेकैले देउवा आफ्नो इच्छाअनुसार निर्णय गर्न सक्ने सुविधाजनक अवस्थामा छन् । यद्यपि, उनले बाहिर पार्टी एकताको सन्देश भन्दै सार्वजनिक उपभोगका लागि सल्लाह र परामर्शको बाटो रोजेका छन् । देउवालाई आन्तरिक चुनौती पनि छ । सभापति देउवाको पक्षबाट बाँकी पदाधिकारी मनोनयनका आकाँक्षी रहेकाहरुले पहुँचको बार्गेनिङ गर्ने छन् । उपसभापतिका आकांक्षी विमलेन्द्र नीधि र खुमबहादुर खड्का मध्ये नीधि उपसभापतिबाट पछि नहट्नेमा छन् ।
 
दुवैले महामन्त्रीमा आउन चाहेका छैनन् । खुमबहादुर खड्का पछि हट्नु परे उनले संसदीय बोर्डमा आफुसहित आफुनिकट कम्तिमा पनि ३ जनालाई लानु पर्ने बार्गेनिङ अघि सार्ने छन् । संसदीय बोर्ड संसदीय चुनावमा टिकट वितरणका लागि शक्तिशाली मानिन्छ । जहाँ महामन्त्रीका आकांक्षी रहेका पूर्ण बहादुर खड्का पदाधिकारीमा आउने अवस्था नरहे सो बोर्डमा रहनका लागि देउवासंग सहमति गर्न सक्छन् ।
 
यसअघि, सह–महामन्त्रीको हैसियतमा खड्का संसदीय बोर्डमै थिए । त्यतिमात्र नभई महामन्त्री सशांक कोइराला हुँदा उनलाई महामन्त्रीमै रहेर आफ्नो भुमिका मार्फत काउन्टर गर्न महामन्त्री समेत यति बेला देउवा पक्षमा खोजी भइरहेको छ । जसका लागि देउवा पक्षको रोजाईमा बाँलकृष्ण खाँण र ज्ञानेन्द्र बहादुर कार्की रहेपनि धेरैको रोजाईमा खाँण पर्ने देखिएको छ । यसै पटक महामन्त्रीमा गगन थापाले कडा चुनौती दिएपछि देउवा पक्ष अर्को पटकका लागि स्वभाविक रुपमा नेतृत्व विकसित गर्न खाँणलाई महामन्त्रीमा मनोनित गरेर ल्याउन चाहिरहेको बुझिएको छ । यसअघि झैं, कृष्णप्रसाद सिटौला जस्तै खाँड मनोनित महामन्त्री बने भने उनलाई महत्वपूर्ण भूमिका दिएर अर्कोपटक नेतृत्वदायी भूमिकामा ल्याउने देउवाको भित्रि प्रयास रहेको बताइन्छ । 
 
सिटौला के गर्दैछन् ? 
संसदीय दलको नेता चयनका लागि कृष्णप्रसाद सिटौलाले नयाँ रणनीति बनाउन थालेका छन् । दलको नेता चयनको निर्वाचनमा आफू उम्मेदवार नभई प्रभाव बढाउने रणनीतिमा सिटौला लागेका हुन् । सोही रणनीतिअनुसार सिटौलाले सोमबार धुम्बाराहीस्थित आफ्नो निवासमा आफूनिकट नेताहरूको भेला बोलाए ।  भेलामा सिटौलाले संसदीय दलको चुनावमा कस्तो रणनीति अपनाउने भन्ने विषयमा छलफल गरेका थिए । भेलामा सहभागि अधिकांश नेताले संसदीय दलको नेताको चुनावमा उम्मेदवारी नदिने तर आफ्नो प्रभाव बढाउने सुझाव दिएका छन् । ‘भेलामा गगन थापा, उमाकान्त चौधरी, शिव हुमागाईं, भीमसेनदास प्रधानलगायतका नेताहरू सहभागी थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ