arrow

कहिले होला नेविसंघ महाधिवेशन ?

विद्यार्थी जुटे गृहकार्यमा

logo
प्रकाशित २०७२ चैत ११ बिहिबार
npu-flag.jpg.jpeg
काठमाडौं । नेपाली काँग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले ६ महिना भित्रमा भातृ संगठनहरुको अधिवेशन गर्ने निर्णय गरेपछि नेपाल विद्यार्थी संघमा महाधिवेशनको सरगर्मी बढ्न थालेको छ । 
 
एक दशक देखि हुन नसकेको नेविसंघको महाधिवेशन कहिले होला भन्ने निश्चीत नभएपनि विद्यार्थी नेताहरु आन्तरिक गृहकार्यमा जुट्न थालेका छन् । 
 
पार्टीले छोटो समयावधि राखेर अधिवेशन तोक्ने संभावना देखिएपछि मिति तोकेपछि तयारी थाल्न नभ्याईने भन्दै नेताहरु अहिले देखि नै सक्रिय हुन थालेका हुन् । उनीहरुले पार्टीका नेताहरुलाई भेटघाट गर्नुका साथै आफ्ना सहयोगीहरुसंग पनि रणनितिक छलफल सुरु गरेको नेविसंघका नेता मोतीलाल भण्डारीले जानकारी दिए । 
 
अव तोकिएको मितिमा महाधिवेशन हुने विश्वासका साथ नेविसंघका नेताहरुले तयारी थालेका हुन् । यसअघि कांग्रेस नेतृत्वले ४० जिल्लाको मात्र प्रतिनिधि चयन भएको, धेरै ठाउँमा विवाद रहेको र सार्क सम्मेलन पनि परेको कारण देखाउदै महाधिवेशन स्थगित गरेको थियो । 
 
२०७१ साल कात्तिक ३० देखि मङ्सिर २ गतेसम्मका लागि तोकिएको महाधिवेशन कात्तिक २७ गते स्थगित भएको थियो । नेविसंघको ११ औं महाधिवेशन सातौ पटक स्थगित भएर अहिले फेरी हुने चर्चा सुरु भएको हो । 
 
त्यसअघि २०७१ सालकै भदौ २९ गते, २०७० भदौ २९ देखि ३१ गते, २०७० वैशाख ६ देखि ८, २०६९ माघ २७ देखि २९ गतेलाई महाधिवेशनको मिति घोषणा गर्दै स्थगित गरिएको थियो । संघको २०६४ जेठपछि महाधिवेशन भएको छैन । त्यतिवेला चितवनमा भएको महाधिवेशनबाट बद्री पाण्डे, विकास कोईराला, लक्ष्मण ढकाल लगायतका उम्मेदवारलाई हराउदै प्रदिप पौडेल अध्यक्षमा निर्वाचित भएका थिए । नेविसंघका तत्कालिन महामन्त्री गगन थापा विद्यार्थीका विचमा अत्याधिक लोकप्रिय भएपनि पार्टीकै नेताहरुले अध्यक्षको उम्मेदवार बन्न अन्तीम समयमा रोकेपछि उनकै समर्थन पाएर पौडेल अध्यक्षमा निर्वाचित भएका थिए । यसअघि पोखरामा आयोजित महाधिवेशनबाटै तत्कालिन समयमा राजद्रोहकै मुद्धा खेपिरहेका थापा अध्यक्षमा निर्वाचित हुने संभावना अत्याधिक देखिएपछि हुलदङ्गा गराएर स्थगित गरिएको थियो । 
 
चितवन महाधिवेशनबाट निर्वाचित अध्यक्ष पौडेलले आफ्नो दुई बर्षे कार्यकाल पुरा गरी थप दुई बर्षमा पनि अधिवेशन गराउन नसकेपछि उनलाई हटाईएको थियो । काँग्रेसको सभापतिमा शुसील कोईराला निर्वाचित भएको दुईमहिना पछि पौडेललाई अधिवेशन गर्न नसकेको भन्दै हटाएर रन्जीत कर्णलाई जिम्मेवारी दिएको थियो । पौडेलको समितिलाई २०६८ असोजमा विघटन गरेर कर्णलाई ६ महिना भित्रमा अधिवेशन गराउने जिम्मा दिईएको थियो । तर कर्णले जिम्मेवारी पाएको पाँच बर्ष लाग्न थाल्दा पनि महाधिवेशन गराउन सकेका छैनन । 
 
प्रदिप पौडेल नेविसंघको अध्यक्ष भएयता एमाले अखिलमा पाँच ओटा कार्यसमिती बनिसकेको छ । ठाकुर गैह्रे, रामकुमारी झाँक्री, माधव ढुङ्गेल, किशोरविक्रम मल्ल पछि नविना लामाको नेतृत्वमा पाँच ओटा कार्यसमति गठन भएको हो । तर नेविसंघमा भने महाधिवेशन हुन नसक्दा नेतृत्वमा आउने संभावना भएकाहरु खुम्चीएका छन् । 
 
अहिले हुने चर्चा भएको महाधिवेशनका बारेमा पनि नेविसंघका नेताहरुले आशंका व्यक्त गरेका छन् । उनीहरुले कर्ण नेतृत्वकै समितिले महाधिवेशन गराउन पार्टीले दिने जिम्मेवारी पनि रणनितिक मात्रै हुन सक्ने टिप्पणी गरेका छन् । 
 
अहिलेकै परिस्थीतिमा यो समितिले ६ महिना भित्रमा महाधिवेशन गराउन नसक्ने र त्यसैलाई देखाएर यो समिति विघटन गरी नयाँ समिति बनाउने रणनितिको रुपमा पार्टी नेतृत्वले निर्णय गरेको हुनसक्ने उनीहरुको बुझाई छ । 
 
महाविधेशन गराउने नै हो भने पार्टीको महाधिवेशनका लागि गठन गरिएको केन्द्रीय निर्वाचन समिति जस्तै समिति गठन गरेर मात्रै संभव हुने नेविसंघका नेताहरु बताउछन् । निर्वाचन समितिले आचार संहिता र मापदण्ड बनाएर विवादित जिल्ला तथा क्याम्पसहरुको अधिवेशन बारेमा निर्णय गरे मात्रै महाधिवेशन हुने उनीहरुको विश्वास छ । कतिपय ठाँउमा तिन चार ओटा समिति छन्, त्यसमा आधिकारीकताको समस्या छ । यस्तै आधिकारिकताको विषयमा काठमाडौंको शंकरदेव क्याम्पसमा बुधवार मात्रै दुई पक्षका विच झडप भएको छ । पार्टीले यो गांभिर्यतालाई नवुझ्ने हो भने महाविधेशन अगाडी यस्ता झडप धेरै ठाउमा हुने संभावना देखिएको छ । 
 
नेविसंघ महाधिवेशनले अध्यक्ष, पाँच उपाध्यक्ष, दुई महामन्त्री, पाँच सहमहामन्त्री, एक कोषाध्यक्ष सहित १ सय १ सदस्यीय केन्द्रीय कार्य समिति चयन गर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ