arrow

त्रिभुवन विश्वविद्यालय बचाउन कीर्तिपुरवासी र प्राध्यापक सशक्त आन्दोलनमा

त्रिवि सेवा आयोग अघि २४ घण्टे रिले अनसन

logo
प्रकाशित २०७२ चैत ११ बिहिबार
TU-new-jpg.jpeg.jpeg
काठमाडौं । त्रिवि बचाउ अभियान अन्तर्गत प्राध्यापक, कीर्तिपुरका स्थानीय र विद्यार्थीले त्रिवि सेवा आयोग बाहिर रिले अनसन सुरु गरेका छन् । त्रिभुवन विश्वविद्यालय बचाउ अभियानमा प्राध्यापक अभियान र कीर्तिपुरवासीले संयुक्त रुपमा २४ घण्टे रिले अनसन सुरु गरेका हुन् । प्राध्यापक पट्टीको नेतृत्व त्रिवि बचाउ अभियानका संयोजक एवं त्रिविका उप–प्राध्यापक किसान प्रसाद अधिकारीले तथा स्थानीयवासीको नेतृत्व कीर्तिपुरका स्थानीय दिनेश महर्जनले गरिरहेका छन् । अनसनमा कुनै राजनीतिक रंग नमिसिएको र विद्यार्थीहरुले साथ दिएको बताइएको छ । 
 
विहिबार साँझ अनसन थाल्नु अघि अनसनरत पक्षले विज्ञापन नं. ०८–०७२–०७३ को सबै प्रक्रिया खारेज गर्न भन्दै आफ्नो तीन बुँदे दृष्टिकोण सेवा आयोगका अध्यक्ष, भीसी र रजिस्ट्रार सबैलाई बुझाएको आन्दोलनको नेतृत्व गरिरहेका उप–प्राध्यापक अधिकारीले हाम्राकुरालाई जानकारी दिए । अधिकारीले भने, ‘अनसन माग पुरा नभएसम्म निरन्तर रहन्छ ।’ यसअघि, अधिकारीले त्रिवि सेवा आयोगको खुलातर्फको परिक्षा भएकै बेलुकी अनसन थाल्ने जानकारी दिएका थिए । विहिबार त्रिवि सेवा आयोगले खुलातर्फ सवै विषयको परिक्षा लिएको छ । परिक्षा सकिएपछि मात्रै आफुहरुले ३ बुँदे दृष्टिकोण र विज्ञप्ती बुझाएको अधिकारीले बताएका छन् । 
 
खुलाको परिक्षा सकिएकाले अब ‘विशेष आन्तरिक’ भन्दै गत भाद्र र असोजमा प्रकाशन भएको विज्ञापनअनुसार विना परीक्षा प्राध्यापक नियुक्ति गर्ने प्रक्रिया सुरु हुने भन्दै आन्दोलनरत पक्ष कडा रुपमा प्रस्तुत भएको हो । आन्दोलनरत पक्षले विज्ञापन नं. ०८–०७२–०७३ को प्रक्रिया कार्यकारी परिषद्लाई फिर्ता पठाउनु पर्ने र कार्यकारी परिषद्ले सिनेटमा प्रस्ताव गर्नु पर्ने दृष्टीकोण राखेको छ । सिनेटले निर्णय मान्य हुने आन्दोलनरत पक्षको धारणा छ ।   
 
त्रिवि ऐन नियम विपरीत भइरहेको नियुक्ति प्रक्रियाविरुद्ध सर्वोच्च अदालतमा विचाराधिन मुद्दाको वेवास्ता गर्दै त्रिवि सेवा आयोगले प्राध्यापकहरु नियुक्त गर्न खोजेकामा प्राध्यापक मात्रै नभई कीर्तिपुरका स्थानीय खरो रुपमा उत्रिएका छन् । त्रिवि ऐन नियम विपरित थालिएको प्रक्रियाविरुद्ध गत असोजमा सर्वोच्च अदालतमा दर्ता भएको मुद्दा विचाराधिन छ । २०६३–०६४ मा होलसेलमा करार नियुक्त भएका १३ सय ८० प्राध्यापक दरबन्दीलाई लक्षित गरी विशेष आन्तरिक भन्दै त्रिवि सेवा आयोगले गएको भाद्र २४ मा ११ सय ५० दरबन्दीको पदपूर्ति आव्हान गरेको थियो । विज्ञापन नं. ०८–०७२–०७३ रहेको विज्ञापनले मात्रै १२ सय ७१ नपुगेपछी असोज १५ मा १ सय २१ दरबन्दी थप गरेर विज्ञापन प्रकाशन भयो । 
 
ती १२ सय ७१ का लागि कुनै पनि परीक्षा तोकिएको छैन । जसले गुणस्तरी छवि भएका प्राध्यापक आउनेमा शंका छ । राजनीतिक भागवण्डाका आधारमा नियुक्त हुन लागेका १२ सय ७१ सवै गुणस्तरीय छवि भएकै हुन्छन् भन्ने कुनै ग्यारेन्टी छैन । नियमानुसार करार नियुक्ती ६ महिनाको हुने भएपनि २०६४ देखि करार नियुक्त भएकाहरुले समेत अझै अध्यापन गराइरहेका छन् । थमाएर राखिएकै १३ सय ८० को आडमा आ–आफ्नालाई भर्ना गर्न निकै प्रयत्न भइरहेको छ । करारमा नियुक्त हुने उप–प्राध्यापकको तह उप–सचिव सरह हुने गर्दछ ।  त्रिवि सेवा आयोगले खुला तर्फ भने ५ सय ४ जना मात्रै मागेकामा परिक्षा भइसकेको छ । 
 
कीर्तिपुरवासी त्रिविको जमिन आफ्नै पूर्खाले उपलब्ध गराएकाले आफुहरुको समेत सरोकार रहने भन्दै गुणस्तरी शिक्षाका लागि आवश्यक जनशक्तिको पदपूर्ति नियमानुसार खुलाबाटै गर्नु पर्ने र यदी भागवण्डाका आधारमा नियुक्ति गर्ने भए आफुहरुलाई समेत आरक्षण चाहिने माग राख्दै आएका थिए । प्राध्यापकको आन्दोलनलाई सघाउँदै आएका स्थानीयले रिले अनसनमा प्रक्रिया रद्द गर्न माग गर्दै साथ दिएका छन् । 

यो पनि पढ्नुस् : त्रिभुवन विश्वविद्यालयमा यसरी हुँदै छ भागबण्डाको नियुक्ति ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ